शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

घट्दो क्रममा रहेको सेयरबजार एकाएक किन बढ्यो ?

बिहीबार, ११ कात्तिक २०७८, १६ : ५२
बिहीबार, ११ कात्तिक २०७८

यो साता सेयर बजार सूचक नेप्सेमा ‘बाउन्स ब्याक’ देखिँदैछ । अधिकतम ३२ सय विन्दु नजिक पुगेर ओरालो लाग्न थालेको पुँजीबजार फेरि बढ्न थालेको हो । गत भदौ २ गते नेप्से परिसूचक हालसम्मकै उच्च विन्दु  ३१९८.६ विन्दुमा पुगेको थियो । तर, त्यसपछि नेप्से निरन्तर ओरालो लाग्यो । भदौ २ गते अधिकतम ३१९८ विन्दुमा पुगेको बजार यसको ठीक दुई महिनापछि कात्तिक २ गते २५ सयको रेञ्जमा झर्यो । नेप्से घटेपछि नेपालको पुँजीबजार नै तरंगित बन्न पुग्यो ।

अधिकतम २० प्रतिशतले घटेको बजार बियरिस ट्रेण्डमै गएको भन्दै आम लगानीकर्ताहरू डराए । यसले ठूला लगानीकर्ताहरू भन्दा पनिसाना लगानीकर्ताहरू प्रताडित बने ।  चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रभाव, स्टक कोल्याटर (सेयर धितो) मा कडाइ र कर्जा सीमा निर्धाणसँगै बैंक तथा वित्तीय क्षेत्रमा कर्जा÷निक्षेप अनुपात (सीडी रेसियो) ले समेत सेयर बजारलाई प्रभाव परेको भन्दै लगानीकर्ताहरू राष्ट्र बैंकविरुद्ध खनिए । मौद्रिक नीतिकै कारण ३२ सय नजिक पुगिसकेको बजार एकाएक २५ सयमा झरेको धितोपत्र व्यवसायीहरूले आरोप लगाए ।

नियामक र लगानीकर्ताको रस्साकस्सीबीच पछिल्लो समय भने नेप्से सूचक बढिरहेको छ । गत कात्तिक २ गते अधिकतम ७७.३३ अंकले घटेर २५१०.७३ विन्दुमा झरेको नेप्से भोलिपल्ट अर्थात् कात्तिक ३ गते नै ६०.५५ अंकले बढेर २५७१.६६ विन्दुमा उक्लियो । 

राष्ट्र बैंकले तत्काल बैंक तथा वित्तीय क्षेत्रलाई तोकिदिएको निक्षेप संकलनको ब्याजदर सीमाका कारण यसो भएको भनियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रलाई महिनामा एकपटक, त्यो पनि अधिकतम १० प्रतिशतभन्दा बढीले ब्याजदर तलमाथि गर्न नपाइने निर्देशन जारी गरेको थियो । यही निर्देशनका कारण सेयर बजारमा रकम केन्द्रित भएकाले केही सुधार देखिएको भनियो । 

तर, यो धारणा धेरै दिन टिकेन । भोलिपल्ट कात्तिक ४ गते नै पुनः नेप्से १४.७० अंकले घट्न पुग्यो । तथापि, पर्सिपल्ट अर्थात् कात्तिक ७ गते पुनः नेप्से २७.५१ अंकले बढेर २५८४.५३ विन्दुमा उक्लियो । त्यसपछि निरन्तर बढ्न थालेको बजार रोकिएको छैन । गत कात्तिक २ गतेदेखि कात्तिक १० गते अर्थात् बुधबारसम्म आइपुग्दा नेप्से करिब २६० अंकले बढिसकेको छ । 

नेप्सेका अनुसार गत कात्तिक ७ गते २७.५१ अंकले बढेको बजार ८ गते अधिकतम ८७.६३ अंकले बढ्यो भने कात्तिक ९ गते ७८.८२ अंकले र १० गते १८.०६ अंकले बढेर २७६९.१३ विन्दुमा पुगेको छ । ११ गते १३.४ अंकले बढेर १७८२.१६ पुगेको छ ।  वृद्धिदर तथ्याङ्क हेर्दा एक सातामा नेप्से २७२.१३ अंकले बढेको छ । 
हालसम्मको उच्च विन्दु :

पुनः उकालो यात्रामा रहको सेयर बजारको आंकडा

यसकारण देखियो सुधार
सेयर बजार विश्लेषक मुक्ति अर्याल सेयर बजार पुनः उकालो लाग्नुलाई स्वभाविक मान्छन् । विविध कारणले घटेको बजार अब निरन्तर उकालो लाग्नुपर्ने र लगानीको वातावरण सुरक्षित गर्नुपर्ने उनको भनाइ छ ।

‘सेयर बजार बढ्नुपर्छ, अझ बढ्नुपर्छ । कसैले भनेर बजार प्रभावित पार्न मिल्दैन । आजलाई हेरेर होइन, भोलिलाई हेरेर बजारमा लगानी गर्ने हो । मुलुकको अर्थतन्त्रको आकारभन्दा सेयर बजारको आकार ठूलो हुन सक्छ । तर, यसैलाई हेरेर बजारमाथि हस्तक्षेप गर्छु भन्नु हुँदैन । बजारलाई स्वतन्त्र चल्न दिनुपर्छ,’ अर्यालले भने । 

राष्ट्र बैंकको नीति, मौद्रिक नीति तथा बैंकिङ ब्याजदरका कारण प्रभावित बनेको भनिएको सेयर बजार अहिले पनि सो स्थिति यथावत् रहेको बेला पनि कसरी बढ्यो त भन्ने प्रश्नमा अर्याल भन्छन्, ‘पहिले घटेकाले नै अहिले बढेको हो । साथै, दसैँ मानेर आम लगानीकर्ताहरु बजारमा फर्किँदा पनि सकारात्मक प्रभाव पर्‍यो,’ अर्यालले भने । 

मुख्यतः कात्तिक र मंसिर अधिकांश कम्पनीका लगानीकर्ताहरूले नाफा सुरक्षित गर्ने समय अर्थात् लाभांश वितरणको मौसम भएकाले पनि यसको प्रभाव बजारमा देखिएको उनको भनाइ छ । 
थप, चालु आर्थिक वर्षको प्रथम सकिएपछि राष्ट्र बैंकको नीतिमा परिवर्तन हुने आशाले पनि सेयर बजारमा लगानीकर्ताहरुको आकर्षण बढेको हुनसक्ने अर्यालको आँकलन छ ।

यस्तै, चुनावी माहोलमा सेयर बजार बढ्ने गरेको भन्दै अब विस्तारै यो माहोल शुरु भएकाले पनि बजार बढ्न थालेको उनले बताए । 

यस्तो छ बजारमा सुधारका कारणहरू -
१. धेरै घटेपछि बढ्नु स्वभाविक भएकाले,
२.दसैँ मानेर लगानीकर्ताहरू बजारमा फर्किएकाले,
३.लाभांश वितरण शुरु भएकाले,
४.राष्ट्र बैंकको नीतिमा परिवर्तन आउने आशले र
५.मुलुकमा चुनावी चहलपहल सुरु भएकाले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप