शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड सुरू भएको साढे दुई वर्षपछि घट्यो रेमिट्यान्स, अर्थतन्त्रमा कस्तो असर पर्छ ?

बिहीबार, ११ कात्तिक २०७८, १५ : ३३
बिहीबार, ११ कात्तिक २०७८

कोरोना महामारी फैलन थालेको झण्डै साढे दुई वर्षपछि नेपालको अर्थतन्त्र धानेको विप्रेषण (रेमिट्यान्स) घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले चालू आर्थिक वर्षको साउन र भदौ महिनामा विप्रेषण घटेको देखाएको छ । लकडाउन र निषेधाज्ञा लागेका बेला समेत नघटेको रेमिट्यान्स महामारी नियन्त्रणमा आउन थालेपछि घटेको हो ।

वि.सं. २०७६ पुसदेखि विश्वभर फैलन थालेकोे कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न नेपालमा सोही वर्षको चैत ११ गतेदेखि लकडाउन भएको थियो । नेपाली युवाहरूले रोजगारी प्राप्त गर्ने प्रमुख श्रम गन्तव्य मुलुकमा पनि महामारी फैलिएको थियो । त्यसको प्रभाव यतिखेर बल्ल देखिन थालेको छ । 

केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिनामा विप्रेषण ६.३ प्रतिशतले घटेको छ । यो दुई महिना अवधिमा नेपालमा विदेशबाट विप्रेषणमार्फत १ खर्ब ५५ अर्ब ३७ करोड रुपैयाँ भित्रिएको छ । गत वर्ष २०७७ को यही अवधिमा अघिल्लो अवधिभन्दा ८.१ प्रतिशतले उकालो लागेर १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ विप्रेषण प्राप्त भएको थियो ।

गत वर्षको यही अवधिमा पूर्ण लकडाउन र निषेधाज्ञा हटाइएपछि नेपालको अर्थतन्त्र चलायमान हुने चरणमा थियो । प्रमुख रोजगार गन्तव्य मुलुक पनि कोरोनाबाट आक्रान्त थिए । त्यस्तो समयमा पनि नघटेको विप्रेषण आप्रवाह मूख्य सिजन दसैं र तिहारको समयमै घट्दा कोभिड–१९ शुरू भएको झण्डै साढे २ वर्षपछि घटेको हो । 

मुख्य सिजनमै विप्रेषण घट्यो
वैदेशिक रोजगारीमा जानेहरूले सबैभन्दा धेरै विप्रेषण पठाउने मूख्य समय दसैं तिहार नै हो । तर, यो वर्ष यही मूख्य सिजनमै विप्रेषण आप्रवाह घटेको छ । नेपाल रेमिटर्स एसोसिएशनका अध्यक्ष सुमन पोखरेलले वैदेशिक रोजगारीमा गएकाहरू दसैं तिहार जस्ता चाडपर्वका बेला घर फर्कँदा विप्रेषण घटेको बताए ।

उनले भने, ‘चाडपर्व मनाउन घर फर्कने नेपालीले साथमा स्मार्टफोन, सुन, लत्ताकपडा र टेलिभिजन लगायत सामाग्री ल्याउँदा विप्रेषण घटेको हो ।’ साथमा आफूलाई आवश्यक पर्ने सामाग्री ल्याउँदा तथ्यांकमा विप्रेषण घटेको देखिएको पोखरेलको विश्लेषण छ ।

यसका साथै, चालू आर्थिक वर्षको साउनदेखि असोजसम्ममा ४ खर्ब ७८ अर्ब रुपैयाँको आयात हुँदा विप्रेषणको पैसा त्यता प्रयोग भएको छ । नेपालको आयातमा प्रयोग हुने रकम हुण्डीमार्फत गएकाले तथ्यांकमा विप्रेषण घटेको देखिएको एक मनी चेञ्चर सञ्चालकले बताए ।

यद्यपी, अबको केही महिना भित्रै दुई महिनादेखि घटेको विप्रेषण आप्रवाह बढ्ने सम्भावना छ । साउन र भदौमा घटेको विप्रेषणको आप्रवाह असोज र कात्तिकमा समेत घट्न सक्छ । तर, त्यसपछि भने सुधारिँदै जाने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यबाहक अध्यक्ष कमल तामाङ बताउँछन् ।

उनले पछिल्लो समय नेपालबाट दैनिक एक हजारको संख्यामा वैदेशिक रोजगारीका लागि कामदार जान थालेपछि विप्रेषण आप्रवाह स्वतः सुधारिने बताए । ‘लामो समयदेखि विदेश जान नपाएका कामदार जान थालेपछि त्यसको प्रभाव देखिन्छ नै, ढिलोमा मंसिरसम्ममा विप्रेषण आप्रवाह बढ्छ । विदेश जाने सबै उडान कामदारले भरिएको छ । यसको प्रभाव देखिन्छ नै,’ तामाङले रातोपाटीसँग भने ।

वैदेशिक रोजगार विभागले तयार गरेको तथ्यांकअनुसार पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढिरहेको छ । साउनदेखि असोज महिनासम्ममा १ लाख १२ हजार कामदारले नयाँ श्रम स्वीकृति र पुनः स्वीकृति लिएको देखिन्छ । विभागका निर्देशक कमल ज्ञवालीका अनुसार कात्तिक लागेयता दैनिक एक हजार जना श्रमिक विदेशतर्फ उड्न थालेका छन् ।

विदेशी विनिमयको सञ्चितीमा प्रभाव
विप्रेषण आप्रवाह घटेसँगै विदेशी विनिमयको सञ्चितीमा त्यसको चाप पर्न थालिसकेको छ । कोभिड–१९ का कारणले पर्यटकीय गतिविधि ठप्प भएकाले विप्रेषण नै विदेशी मुद्रा आर्जन गर्ने एकमात्रै माध्यम हो । विदेशबाट कामदारले विदेशी मुद्रामै विप्रेषण पठाउँछन् । जसलाई विप्रेषण कम्पनीले त्यो दिनका लागि केन्द्रीय बैंकले तोकेको विदेशी मुद्राको विनिमयदरमा सटही गरेर नेपाली मुद्रा दिन्छन् ।

यसो गर्दा नेपालका विप्रेषण कम्पनीहरूमा विदेशी मुद्राको सञ्चिती बढ्छ र उनीहरूले वाणिज्य बैंकमा गएर सटही गर्छन् । जसले नेपालमा विदेशी मुद्राको सञ्चिती बढाउन महत्वपूर्ण भूमिका खेल्छ । तर, विप्रेषण आप्रवाह लगातार दोस्रो महिना घटेपछि यसको प्रत्यक्ष प्रभाव विदेशी विनिमयको सञ्चितीमा देखिएको छ । 

केन्द्रीय बैंकले २०७८ साल असार मसान्तको तुलनमा भदौ महिनामा विदेशी विनिमयको सञ्चिती ६.६ प्रतिशतले घटेको बताएको छ । उक्त गिरावटसँगै असार मसान्तमा १३ खर्ब ९९ अर्ब रुपैयाँ रहेको विदेशी मुद्राको सञ्चिती १३ खर्ब ६ अर्ब रुपैयाँमा झरेको छ । जबकी, साउन र भदौमा विप्रेषणको आप्रवाह पनि ६.३ प्रतिशतले घटेको छ ।

हाल नेपालमा रहेको विदेशी विनिमयको सञ्चितीले जम्मा साढे ७ महिनाको वस्तु तथा सेवा आयात गर्न मात्रै पुग्छ । विप्रेषण आप्रवाहमा गिरावट आएपछि विदेशी विनिमयको सञ्चितीसँगै नेपालको समग्र अर्थतन्त्र नै प्रभावित बन्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप