शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गा मन्दिरमा कोपिला परियारले दीनबन्धुलाई टीका लगाइन् (भिडियो)

बिहीबार, ११ कात्तिक २०७८, १४ : ३३
बिहीबार, ११ कात्तिक २०७८

चितवन भरतपुरको रामघाटस्थित दुर्गा मन्दिरमा बिहीबार बिहान चहलपहल थियो । मन्दिरका पुजारीसँगै स्थानीय दलित महिला कोपिला परियार पनि मन्दिरभित्र प्रवेश गरिन् । उनले दुर्गाको मूर्तिमा पूजा गरिन् र वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेललाई टीका लगाइदिइन् । त्यसपछि उनले मन्दिरमा उपस्थित भएका अन्य सहभागीहरुलाई टीका, फूल र प्रसाद वितरण गरिन् । परियार सोही वडाकी महिला सदस्य समेत हुन् । 

मन्दिरमा पूजा गर्नका लागि स्थानीय दलित समुदायका व्यक्तिहरु, वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेल, राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कोटी, भरतपुर महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद आचार्य, विश्व ओमकार महासंघका पदाधिकारीहरु सहभागी थिए । 

दुर्गा मन्दिरमा स्थानीय दलित समुदायका ब्यक्तिहरुसहित पण्डित पोखरेलले सामूहिक रुपमा पूजा गरेको विश्व ओमकार महासंघका उपाध्यक्ष अर्जुन रानाले रातोपाटीलाई जानकारी दिए ।  गत असोज २८ गते दिलीप श्रेष्ठ र सीताराम बस्नेतको कुटपिटबाट मृत्यु भएका भीमबहादुर विश्वकर्मा प्रकरणलाई धार्मिक एवं जातीय मुद्दामा मोडिएको पछि स्थानीय दलित समुदाय र पण्डित पोखरेलले जातीय र धार्मिक कारणबाट हत्या नगरिएको सन्देश दिन सामूहिक पूजा गरिएको रानाले बताए । 

उनले भने– ‘भीमबहादुर विश्वकर्माको हत्या मन्दिर र धर्मको विषयमा नभएर आपराधिक मानसिकता भएका व्यक्तिका कारणबाट भएको हो । भीमबहादुर विकको हत्यालाई मन्दिर र धर्मसँग जोडेर परिचालित व्यक्तिहरुले हिन्दू धर्मको निन्दा गर्ने कार्यक्रम गर्न थालेपछि सत्यतथ्य बुझ्न चितवन आएका थियौं । ती हत्यारा व्यक्तिहरु विगतमा पनि अरुलाई कुटपिट तथा आपराधिक गतिविधिमा संलग्न भएको कुरा आएको छ । दुर्गा मन्दिर परिसर नजिक भीमबहादुर विश्वकर्माको हत्या भएको विषयमा सो घटनालाई मोडेर मन्दिर र धर्मसँग जोडी विभेदको कारण हत्या भएको अफवाह फैलाएकोले मन्दिर विभेदमुक्त रहेको सन्देश दिन र सामाजिक सद्भाव कायम राख्नका लागि हाम्रो पहलमा सामूहिक पूजा कार्यक्रम गरिएको हो ।’

पूजा कार्यक्रममा वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेलले हिन्दू वैदिक दर्शनमा कहिँपनि जातीय विभेदको कुरा नभएको बताए । उनले मनुस्मृति धर्म नभएको र त्यसलाई परिवर्तन गरेर जानुपर्नेमा जोड दिए । 

उनले भने–‘हाम्रो हिन्दू वैदिक दर्शनमा कहिँपनि छुवाछुतको विषय छैन, हाम्रो वैदिक दर्शन समता र एकताको लागि बनेको हो । हाम्रो वैदिक दर्शनलाई लिएर अहिले नासामा समेत वैज्ञानिकहरुले अध्ययन गरेका छन् । म अमेरिका गएका बेला हाम्रो वेदमा विज्ञानको कुरा समेत रहेको भनेर वैज्ञानिकहरुले समेत अध्ययन गरेको पाएँ । सबै दर्शनहरु बेदबाट निर्देशित रहेको अध्ययनहरुले देखाएको छ । हिन्दू धर्ममा विभेद छैन् केवल शासक प्रशासकहरूले आफू अनुकूलको शासन गर्नका लागि समाजमा विभेदीकरण गर्ने काम गरे । धर्मले कसैलाई विभेद गरेको छैन । मनुस्मृतिले विभेद गरेको भनिएको छ, ‘त्यो धर्म हैन, पछि बनाइएको विधान हो । त्यो बेला मनुले चलाएको विधान अहिले जस्ताको तस्तै चल्छ भन्ने छैन ।’ 

उनले धर्म र मन्दिरमा कहिल्यै पनि विभेद नरहेको बताउँदै भीमबहादुर विश्वकर्माप्रति श्रद्धाञ्जली ब्यक्त गरे । पीडित परिवारलाई यथोचित राहत दिन र पीडकलाई कारवाही गर्न र समाजिक सद्भाव खलबल्याउने काम नगर्न आग्रह गरे । 

महासंघका उपाध्यक्ष रानाले सत्यतथ्य नबुझी मन्दिर र धर्मलाई दोषारोपण नगर्न, सामाजिक द्वन्द्व गराउने वातावरण नबनाउन आग्रह गरेका छन् । 
हेर्नुहोस् भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप