शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले बनायो वडादेखि राष्ट्रिय सम्मेलनसम्म प्रतिनिधिको मापदण्ड

बिहीबार, ११ कात्तिक २०७८, १२ : २४
बिहीबार, ११ कात्तिक २०७८

आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा केन्द्रित रहेको नेकपा माओवादी केन्द्रले सबै तहका सम्मेलनमा सहभागी हुने प्रतिनिधित्वको विषयमा मापदण्ड बनाएको छ ।  कात्तिक १, २ र ३ गते बसेको स्थायी समितिको बैठकले वडा तहदेखि राष्ट्रिय सम्मेलनसम्म सहभागी हुने प्रतिनिधिहरूका विषयमा मापदण्ड बनाएको हो ।

राष्ट्रिय सम्मेलनका लागि प्रदेशहरूबाट कुल ६ सय प्रतिनिधि संख्या तोकिएको छ भने प्रत्येक प्रदेशलाई कम्तिमा ३० जना प्रतिनिधिको व्यवस्था गर्ने र बाँकी प्रतिनिधि पार्टी सदस्य संख्याको अनुपातमा प्रदेशले छान्न पाउने माओवादी बैठकले निर्णय गरेको छ । माओवादीले टोल भेला कात्तिक २७ गते, वडा भेला मंसिर ४, पालिका सम्मेलन मंसिर ११ र प्रदेश सम्मेलन मंसिर २५ गतेका लागि तय गरेको छ । राष्ट्रिय सम्मेलन पुस १३, १४ र १५ गतेका लागि तय गरिएको छ ।

राष्ट्रिय सम्मेलनमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु सबै आयोजक एवं प्रतिनिधि मानिनेछन् । पार्टी मातहतको आयोग, सल्लाहकार परिषद् र जेष्ठ नागरिक मञ्चका पदाधिकारी एवं सदस्यहरु पनि स्वतः प्रतिनिधि हुनेछन् । यसैगरी सबै विभागका प्रमुख र उपप्रमुखसमेत १० प्रतिशतले सम्मेलनमा सहभागिताको अवसर पाउनेछन् । केन्द्रीय समितिले कुल प्रतिनिधि संख्याको १० प्रतिशत मनोनित गर्ने निर्णय माओवादी स्थायी कमिटीको बैठकले गरेको छ ।

​राष्ट्रिय परिषदमा पदेन सदस्यहरुको संख्याको २० प्रतिशत मनोनित गर्ने व्यवस्था भएअनुसार मनोनित २० प्रतिशत मध्येबाट १० प्रतिशत नेता–कार्यकर्ताहरु राष्ट्रिय सम्मेलनको प्रतिनिधि हुन पाउने माओवादीले व्यवस्था गरेको छ । यसैगरी आयोजक र केन्द्रीय निकायका प्रतिनिधिभन्दा प्रदेशबाट चुनिने प्रतिनिधि बहुमत हुने व्यवस्था गरिएको माओवादीले जनाएको छ ।

 

प्रदेश सम्मेलनमा को–को बन्न पाउँछन् प्रतिनिधि ?

 माओवादीले प्रदेश सम्मेलनका लागि पनि प्रतिनिधिको मापदण्ड तय गरेको छ । जसअनुसार प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु आयोजक हुनेछन् । प्रदेशस्तरीय निकायका पदाधिकारी र सदस्यहरु प्रदेश सम्मेलनको प्रतिनिधि हुनेछन् । यस्तै प्रदेश स्तरीय विभागहरूबाट १० प्रतिशतका दरले प्रतिनिधि चयन हुनुपर्ने व्यवस्था पनि गरिएको माओवादीका एक नेताले बताए ।

यसैगरी प्रदेश समितिले स्थानीय पालिकाहरुबाट प्रतिनिधिहरू चयन गर्नका लागि प्रदेशभित्रका सबै पालिकाहरुको प्रतिनिधित्व ४ सय कायम गरिएको र सो संख्यालाई पालिकाहरुको सदस्य संख्याको अनुपातमा प्रदेशले विभाजन गर्नुपर्ने ती नेताले जानकारी दिए । उनका अनुसार प्रदेश समितिले सम्मेलनमा प्रतिनिधित्व हुने कुल सदस्य संख्याको १० प्रतिशत मनोनित गर्न सक्नेछ ।

पालिका सम्मेलनको मापदण्ड 

माओवादी केन्द्रले पालिकास्तरीय प्रतिनिधित्वको मापदण्डसमेत टुंगो लगाएको छ । जसअनुसार सम्बन्धित पालिका समितिका पदाधिकारी र सदस्य आयोजक प्रतिनिधि हुनेछन् भने पालिकास्तरका निकायका पदाधिकारी र सदस्यहरु सम्मेलनका प्रतिनिधि हुनेछन् । यस्तै विभागहरूबाट १० प्रतिशत प्रतिनिधि चयन गर्नुपर्नेछ । 

महानगरपालिकाहरुको चार सय, उपहानगरपालिकाको तीन सय, नगरपालिकामा दुई सय र गाउँपालिकामा १५० जना प्रतिनिधि कायम गरिएको माओवादीले जनाएको छ । वडा सम्मेलनहरूको हकमा आफ्नो वडामा रहेका कुल सक्रिय सदस्य संख्याको कम्तिमा ५१ प्रतिशत नघट्ने गरी प्रतिनिधित्व गराउनुपर्ने माओवादीले मापदण्ड बनाएको छ ।

पार्टीका हरेक समितिहरुमा महिला ३५ प्रतिशत, दलित २५, युवा २० र मुस्लिम ५ प्रतिशत समावेशी हुने विधानको व्यवस्थालाई ध्यानमा राखी सम्मेलनहरूमा प्रतिनिधित्व गराउन स्थायी कमिटीको बैठकले मातहममा निर्देशन दिएको एक स्थायी कमिटी सदस्यले बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप