बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश : मुख्य न्यायाधिवक्ता खनालले यस कारण दिए राजीनामा

बिहीबार, ११ कात्तिक २०७८, १२ : ०७
बिहीबार, ११ कात्तिक २०७८

सुर्खेत । कर्णाली प्रदेशको राजनीतिक माहोल यतिबेला तरङ्गित बनेको छ । प्रदेश सरकार फेरबदलको चर्चादेखि लिएर सत्तारुढ गठबन्धन नै संकटमा पर्ने सम्मका आँकलन भइरहेको छ । गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको नेपाली काँग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको भन्दै अब आफूले मुख्यमन्त्री पद पाउनुपर्ने अडान लिएको छ । माओवादी केन्द्रले भने केन्द्रीय गठबन्धनको निर्देशनअनुसार नै अघि बढ्ने अडान लिएको छ ।

योसँगै नेकपा एकीकृत समाजवादीका तीन जना मन्त्री सरकारबाट बाहिरिने समय पनि नजिकिएको छ । प्रदेशसभा सदस्य पद गुमाएका उनीहरु यो अवस्थामा संविधानतः ६ महिनासम्म मात्र सरकारमा सामेल रहन पाउँछन् । यही बीचमा कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले राजीनामा दिएका छन् । प्रदेशको राजनीतिक ‘जुहारी’कै बीचमा उनको राजीनामालाई लिएर विभिन्न टिका–टिप्पणी भएका छन् । कार्तिक १५ मा सरकार परिवर्तन हुने चर्चा चलिरहेको समयमा त्यसअघि नै उनको एक्कासी राजीनामा आउनुलाई कतिपयले राजनीतिक ‘इफेक्ट’ का रुपमा बुझेका छन् ।

खनाल भने ‘उहाँहरुको’ सहजताका लागि आफूले पद छाडेको बताउँछन् । तर उनले ‘उहाँहरु’ भनेर कसलाई लक्षित गरेको हो भन्ने चाहिँ खुलाएनन् । उनले काम गर्ने वातावरण सहज नभएको पनि बताए ।‘मलाई उहाँहरुले आवश्यक ठानेर नै बोलाउनु भएको होला ! मलाई कुनै पार्टीले सिफारिस गरेको पनि होइन,’ उनले भने, ‘म काठमाडौंँमा थिएँ, आफ्नै ठाउँमा भनेर आइयो । यो पोलिटिक्स उथल–पुथल हुने, चेन्जिङका कुराहरु पनि आइराख्ने हुँदा दिगोजस्तो लागेन ।’

​आज छाडे पनि, भोलि छाडे पनि छाड्नै पर्ने हुनाले अनुकुल समयमा आफूले पद छाडिदिएको उनको भनाइ छ । उनले काम गर्ने ‘इनरजेटिभ’ व्यक्तिहरुलाई कर्णालीमा वातावरण नै नभएको बताए । ‘आफ्नो स्वाभिमानलाई जोगाएर काम गर्न गाह्रो छ, केही गर्न खोज्यो भने उहाँहरुलाई राजनीति कसरी सल्टाउने, पद कसरी जोगाउने भन्ने छ,’ उनले भने, ‘मलाई पदका लागि मरिहत्ते गरेर समय खेर फाल्नुभन्दा छाड्नु नै ठिक लागेर राजीनामा दिएको हो ।’

उनले आफू प्रगतिशील विचार राख्ने मान्छे भएको पनि बताए । कानुनी रुपमा आफूसँग सोध्नुपर्ने, सल्लाह गर्ने कुरामा समेत कसैले वास्ता नगरेको उनको भनाइ छ । रातोपाटीसँग उनले अगाडि भने, ‘त्यसैले म त्यहाँ बस्नुको कुनै औचित्य छैन नि !’ आफूले यो कार्यकालमा केही महत्वपूर्ण काम गरेको उनको दाबी छ । यद्यपि त्यसको श्रेय व्यक्तिगत रुपमा आफूलाई मात्र नजाने उनले बताए । उनले भने, ‘उहाँहरुको पार्टीको पछि, व्यक्तिको पछिपछि लागेर भने बमोजिम गरेको भए हुन्थ्यो होला, म चाहिँ त्यस्तो खालको मान्छे होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप