शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ धानको बीउले तौथलीडाँडाका किसानलाई डुबायो

२०० रोपनीमा दाना लागेन, किसान भन्छन् – वर्षभरि के खाने ?
बिहीबार, ११ कात्तिक २०७८, ११ : ४८
बिहीबार, ११ कात्तिक २०७८

भक्तपुरको चाँगुनारायण–६, तौथलीडाँडा वरपर २०० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको धानमा बाला नलाग्दा किसानहरू चिन्तित भएका छन् । अन्यत्रका किसानले फलेको धान काटेर घरमा भित्र्याइरहँदा त्यहाँका किसानलाई दाना नलागेको धानको गाँजले निराश बनाएको छ ।

तौथलीडाँडामा सिचुवान सीड विज्ञान तथा प्रविधि कम्पनी लिमिटेड चीनबाट उत्पादित डिवाई २८ हाइब्रिड जातको धानको बीउ लगाइएको हो । स्थानीय बीउ विक्रि केन्द्रबाट किनेर त्यहाँ किसानहरूले खेतमा लगाएका थिए । तर, पाँच महिना भइसक्दा पनि धानमा दाना लागेको छैन । जब कि यो जातको धान १२० दिनमा पाक्ने बीउको प्याकेटमा नै उल्लेख छ ।

‘असोजको अन्तिमसम्ममा यो धान हामी काटेर घर लगि सकेका हुन्थ्यौं तर आधा कात्तिक भइसक्यो तर अझै यसमा दाना लागेको छैन,’ खेतमै भेटेका किसान विजय लामाले भने, ‘अब त हामीले आश मारिसक्यौँ, यसमा अब दाना लाग्दैन, काटेर गाईवस्तुलाई खुवाउनु बाहेक अरू कुनै उपाय छैन ।’

६०–७० घरपरिवारले लगाएको धानमा दाना दाना लागेको छैन । चिनियाँ बीउ रोपेका सबै परिवार कृषिमा नै निर्भर छन् । लामाका अनुसार कतिपय किसानले ऋण लिएर धान लगाएका थिए, कतिपयले दशैंतिहार बनाउन साहु महाजनबाट ऋण लिएका छन् । धान बेचेर उनीहरूलाई तिर्ने योजना थियो, तर ती सबै सखाप हुँदा किसान निकै चिन्तामा रहेको उनको भनाइ छ । छोराछोरी पढ्ने, चाडवाड मान्ने अर्थात घरका सबै आवश्यकता धान खेतीबाट हुने आम्दानीबाटै पूरा गर्ने किसानहरू धान नफल्दा निराश छन् ।

एक किसानले तीनदेखि १० रोपनीसम्म खेतमा धान रापेका छन् । धान रोप्न प्रत्येक किसानले २५ देखि ४० हजार रुपैयाँसम्म लगानी गरेका छन् । अधिकांशले ऋण लिएर नै खेती लगाएका थिए । यो जातको धानले राम्रो उत्पादन दिन्छ भनेर तीन वर्षदेखि यसको खेती गर्दै आएको, तर यसपटक बीउले धोखा दिएको किसान श्यामबहादुर तामाङले बताए ।

‘गतसाल यही बीउ लगाउँदा धानले राम्रो उत्पादन दिएको थियो । लोकल धानले एक रोपनीमा चार पाँच मुरी धान मात्र उत्पादन हुन्थ्यो तर जब यो जातको बीउ प्रयोगमा ल्याए, प्रति रोपनी आठदेखि १० मुरी धान उत्पादन हुन थोलेको थियो,’ उनले भने, ‘हामी निकै खुशी थियौँ, तर यसपटक हामीलाई चिनियाँ बीउले धोका दियो ।’

२०० रोपनीमा हिसाब गर्दा ४० लाख रुपियाँ भन्दा बढीको क्षति भएको कृषक विजय लामाले बताए । यो धान प्रतिकेजी ४० रुपियाँको दरले बिक्री हुन्छ । २०० रोपनीमा अनुमानित एकलाख केजी धान उत्पादन हुन्थ्यो । त्यस हिसाबले ४० लाख रुपियाँ नोक्सान भएको हो । सरकारले किसानलाई क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ ।

त्यहाँका किसानले लगाएको डीवाइ २८ जातको धानको बीउ उपत्यकाका लागि सिफारिस गरिएको छैन । तैपनि उपत्यकाका पसल पसलमा पाइन्छ । भक्तपुरमा रहेको छुमा गणेश कृषि सेवा केन्द्रका प्रमुख सूर्यराम सुवाल स्वयंले नै यो जातको बीउ उपत्यका लागि सिफारिस नगरिएको, तर किसानको मागअनुसार आफूहरूले बिक्रीवितरण गर्दै आएको बताए ।

‘सबै ठाउँमा यस्तो समस्या छैन,’ उनले भने, मैले थुप्रै बीउ बेचेको छु, धेरै ठाउँमा दाना लागेको छ, काटेर भित्र्याइसकिएको छ, तर कुनै कुनै ठाउँमा मौसमका कारण दाना लागेको छैन । यसपाली पानी पनि धेरै पर्यो, र जहाँ अलि बढी चिसो छ त्यहाँ दाना लागेको छैन ।’

कृषि विज्ञहरूले बीउमा समस्या नरहेको आफूलाई बताएको दावी गर्दै प्रमुख सुवालले धानको दानामा समस्या देखेपछि विज्ञ लगेर आफूले टेस्ट गर्न लगाएपछि उनीहरूले नै यो मौसमले गर्दा यस्तो भएको भएको बीउमा कुनै समस्या नरहेको भनेको उनले बताए ।

तर, किसानहरूले चाहिँ एउटै जातको बीउ एउटा खेतमा लगाउँदा दाना लाग्ने र अर्कोमा नलाग्ने समस्या देखिएको बताएका छन् । ‘मौसम कति कति दुरीमा फरक हुन्छ ? सँँगै रहेको एउटा खेतमा बाला लागेको छ भने अर्कोमा लागेको छैन । यो कसरी मौसमको समस्या हुन्छ ?’ एक किसानले भने, ‘बिक्री केन्द्रहरूले नक्कली र सक्कली बीउ मिलाएर बेचेका छन्, जसलाई सक्कली बीउ हात लागेको छ–त्यसको बाला लागेको छ । जसलाई नक्कली हात लागेको छ–त्यसको बाला लागेको छैन ।’

धानको बीउ विक्रेता सुवालले धानको बीउ बेच्नुअघि बोर्ड नै लगाएको र त्यसमा यो जातको बीउ यहाँका लागि सिफारिस होइन, खरिद गरेर लगेपछि कुनै समस्या हुँदा केन्द्र जिम्मेवार नहुने लेखेको बताए । तैपनि किसानले खरिद गरेर लगेको उनले दाबी गरे ।

‘उपत्यकाका लागि सिफारिसै नभएका जातको बीउ किन बेच्नु भएको हो, यो त गैरकानुनी काम हो नि !’ भनी जिज्ञासा राख्दा सुवालले भने, ‘कृषि ज्ञान केन्द्र भक्तपुरका हाकिमहरूले नै किसानले माग्न आए बिक्रीवितरण गर्नु भनेको कारण हामीले बेचेका हौँ, पकेटमा समेत उपत्यका लागि उपयुक्त होइन भन्ने उल्लेख छ, तैपनि किसानले लगे, यसमा हाम्रो के दोष ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप