बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

बिहीबार, ११ कात्तिक २०७८, ०९ : ३१
बिहीबार, ११ कात्तिक २०७८

जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन् । बाजुरा, मुगु  र हुम्लाका बासिन्दाले सेवा लिँदै आएका सेवाग्राहीले एक सातादेखि जहाजको टिकट नपाएको गुनासो गरेका छन् । कोल्टीबाट उडान हुने नेपालगञ्ज र धनगढीको टिकट नपाउदा सयौँ यात्रु कोल्टी विमानस्थलमा अलपत्र परेको स्थानीय पत्रकार धनबहादुर बोहराले राससलाई बताए । बाजुरासहित छिमेकी जिल्लाका वासिन्दा एक सातादेखि जहाजको पर्खाइमा रहेको र जहाजको टिकटसमेत नपाएको यात्रुले गुनासो गर्न थालेको उनले जानकारी दिए । कोल्टीबाट अहिले समिट र तारा एयरलाइन्सले जहाज उडान गर्दै आएका भए पनि यात्रुको चाप बढी भएकाले उनीहरुले टिकट पाउन सकेका छैनन् । 

कर्णाली राजमार्ग र मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि  कोल्टीमा ६०० भन्दा बढी यात्रु एक सातादेखि टिकटको पर्खाइमा रहेको हुम्लाका खुमबहादुर रावतले बताए । समिट र तारा एयरलाइन्सले दैनिक एउटा÷एउटा उडान गर्ने भए पनि यात्रुको चाप निकै बढेको छ । यात्रुको भीड व्यवस्थापन गर्न विमानस्थललाई निकै समस्या परेको छ । एक सातायता हवाई सेवा नियमितसमेत पनि हुन नसकेको कोल्टी विमानस्थलले जनाएको छ । 

यात्रुले टिकट नपाउँदा बिरामी, असहाय अशक्तसमेत अलपत्र परेका छन् । कोल्टीमा यात्रुको चाप बढी भएको र उनीहरुलाई व्यवस्थापन गर्न सकस भएको निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए । 

टिकटमा मनोमानी 

कोल्टी विमानस्थलमा उडान हुने जहाजले मनोमानी रुपमा भाडा असुल्ने गरेको जनगुनासो बढ्न थालेको छ । कोल्टीबाट नेपालगञ्ज र धनगढीको भाडादर कायम गरिएको भए पनि सोभन्दा चर्को भाडा लिने गरेको यात्रुले गुनासो गरेको छन् । 

कोल्टीबाट नेपालगञ्ज रु पाँच हजार ५०० भाडादर कायम भए पनि निजी एयरलाइन्सले मनोमानी भाडा लिइरहेको सेवाग्राहीले बताएका छन् । एक यात्रुबाट रु आठ हजारभन्दा बढी लिने गरेको पाइएको छ । दसैँ मनाउन घर आएका फर्किन थालेका छन् । वर्षाले सडक अवरुद्ध भएपछि यात्रुले हवाई सेवाबाट यात्रा गर्नुपर्ने भएकाले कोल्टीमा यात्रुले टिकट पाउन समस्या भएको हिमाली गाउँपालिकाकी सम्झना अधिकारीले बताए । 

कोल्टी विमानस्थलका कार्यालय प्रमुख श्रीकृष्ण रिमालका अनुसार समिट र तारा एअरले दैनिक एउटा÷एउटा उडान गरिरहेको जानकारी दिए । सीता एयरलाइन्सले यही कात्तिक १ गतेबाट एउटा पनि उडान नगरेको र नेपाल एयरलाइन्सले १ गतेदेखि अहिलेसम्म तीन उडान मात्र गरेको रिमालले बताए । विगतभन्दा एयरलाइन्सले उडान घटाउनुले ठूलो समस्या भएको विमानस्थलले जनाएको छ । 

दसैँयता यात्रुको चाप बढे पनि नियमित जहाज उड्न नसकेको बडीमालिका कार्गोका सञ्चालक टेकेन्द्र कठायतले जानकारी दिए । कोल्टी विमानस्थलबाट उडान हुने जहाजले यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिएको पाइए कारबाही गरिने निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप