बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१, ८२७ दिनपछि पराजित हुँदै साबिक विजेता सिटी काराबाओ कपबाट बाहिरियो

बिहीबार, ११ कात्तिक २०७८, ०७ : ४४
बिहीबार, ११ कात्तिक २०७८

साबिक विजेता म्यान्चेस्टर सिटी वेस्ट ह्याम युनाइटेडसँग पेनाल्टीमा पराजित हुँदै काराबाओ कपबाट बाहिरिएको छ । लण्डन स्टेडियममा खेलिएको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा वेस्ट ह्याम ५–३ गोलले विजयी बनेको हो ।

साइद बेनराह्माले पेनाल्टीमा निर्णायक गोल गर्दै वेस्ट ह्यामलाई जीत दिलाए । उता, सिटीका लागि फिल फोडेन पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए । पछिल्ला चार सिजन यो प्रतियोगिता जितेको सिटी सन् २०१६ पछि पहिलोपटक प्रतियोगिताबाट बाहिरिएको हो । 

उता, टोटनह्याम हटस्पर्सले बर्नलीलाई हराउँदै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पछिल्लो दुई खेल हारेको स्पर्सका लागि लुकास मोउराले निर्णायक गोल गरे ।

त्यस्तै, लिभरपुलले पनि प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ । डिपडेललाई २–० हराउँदै लिभरपुल अन्तिम ८ मा प्रवेश गरेको हो । लिभरपुलको जीतमा टाकुमी मिनामिनो र डिभोक ओरिजीले गोल गरे । लिभरपुल सबै प्रतियोगितामा पछिल्ला २३ खेलमा अपराजित रहेको छ ।

अन्य खेलमा लेस्टर सिटीले ब्राइटनलाई पेनाल्टीमा हरायो भने ब्रेन्ट फोर्डले स्टोक सिटीलाई २–१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनायो । क्वार्टरफाइनल खेलको ड्र शनिबार हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप