शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानन्यायाधीशबारे राष्ट्रिय जनमोर्चाको दोहोरो मत

बुधबार, १० कात्तिक २०७८, १९ : ३९
बुधबार, १० कात्तिक २०७८


राष्ट्रिय जनमोर्चाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराप्रति गुण र दोषका आधारमा मूल्यांकन गर्नुपर्ने भन्दै दोहोरो मत सार्वजनिक गरेको छ । राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकले प्रधानन्यायाधीश जबराको भूमिका केही सकारात्मक र केही नकारात्मक रहेको ठहर गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटकसम्म विघटन गरेको प्रतिनिधिसभालाई प्रधानन्यायाधीश जबराले पुनर्स्थापना गरेर तथा ओली सरकारलाई अपदस्थ गरेका कारणले प्रतिगामी र अधिनायकवादी कोणबाट उत्पन्न भएको रोष र अर्कातिर, उनको गलत प्रकारको कार्यशैलीका कारणले उत्पन्न न्यायसङ्गत असन्तोष दुई बेग्लाबेग्लै पक्षहरूका परिणाम भएको सो पार्टीको निष्कर्ष छ । सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले यस सन्दर्भमा बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘त्यसकारण हामीले अहिले उनकाविरुद्ध देखापरेका विरोधको स्वरमाथि ती दुई पक्षहरूलाई एकै ठाउँमा राखेर होइन, ती दुवैका बिचमा अन्तर गरेर विचार गर्नुपर्छ ।’

लोकतन्त्र र संविधानको रक्षाका लागि प्रधानन्यायाधीशले खेलेको भूमिकालाई उच्च आदर र सम्मान गर्नुपर्ने राष्ट्रिय जनमोर्चाको भनाइ छ । ‘ओलीले प्रधानन्यायाधीशको विरोध गर्दा उनको त्यही सकारात्मक पक्षमाथि नै मुख्य हमला गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यो कोणबाट प्रधानन्यायाधीश वा संवैधानिक इजलासमाथि गरेको हमलालाई हामीले सम्पूर्ण रुपले असंवैधानिक र गलत ठान्दछौँ ।’

प्रधानन्यायाधीशको संसद विघटनका विरुद्ध दिएको फैसला सही भए पनि उनको सम्पूर्ण कार्यशैली सही छ भन्ने पक्षमा आफू नरहेको पनि विज्ञप्तिमा उल्लेख छ । ‘उनका कुनै पनि गलत कार्यशैलीका विरुद्ध आवश्यकताअनुसार छानबिन गर्नुपर्ने कुरालाई हामीले अस्वीकार गर्दैनौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस प्रकारको छानबिनद्वारा प्रधानन्यायाधीश दोषी प्रमाणित भएमा उनीमाथि महाभियोग लगाउने सोचाइलाई पनि हामीले गलत मान्ने छैनौँ ।’

तर त्यस प्रकारको दोष प्रमाणित नभइकन अहिले नै राजीनामा दिनका लागि उनीमाथि दबाब दिने वा महाभियोग लगाउने जस्ता कुराहरूबारे राष्ट्रिय जनमोर्चाले कुनै विचार नगरेको अध्यक्ष केसीले विज्ञप्तिमार्फत प्रस्ट पारेका छन् ।

अहिलेको न्यायपालिकाको भूमिका स्वतन्त्र र निष्पक्ष नरहेको भन्दै राष्ट्रिय जनमोर्चाले न्यायपालिका विभिन्न प्रकारका राजनीतिक भागबण्डा वा प्रभावहरूमा पनि मुछिने गरेका कैयौँ समाचारहरू आउने गरेको स्मरण गराएको छ । ‘न्यायपालिकाको त्यस प्रकारको कार्यप्रणालीमा गम्भीर छानबिन र सुधारको आवश्यकतामा हामीले विशेष जोड दिन्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो यो पनि मत छ कि न्यायपालिकाको कार्यप्रणालीमा त्यस प्रकारको सुधारका लागि मुख्य भूमिका स्वयम् प्रधानन्यायाधीशले नै खेल्नु पर्दछ ।’

मुद्दाका पेसी तोक्ने विद्यमान पद्धतिको पहिलेदेखि नै धेरैतिरबाट विरोध हुँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीले पनि त्यस प्रकारको पद्धतिलाई बदलेर स्वचालित वा गोलप्रथा पद्धति अपनाउनुपर्ने आवश्यकतामा पहिले पनि जोड दिएको थियो र अहिले पनि दिन्छ ।’

न्यायपालिकामा देखिएको असंगति र कमजोरीप्रति कुनै एउटा व्यक्तिमात्र दोषी नभएर त्यसको (न्यायपालिकाको) सम्पूर्ण कार्यप्रणाली नै जिम्मेवार रहेको राष्ट्रिय जनमोर्चाको ठहर छ । सो पार्टीले त्यसमा आवश्यक छानबिन वा सुधारका लागि सबै राजनीतिक पार्टी, जनता तथा नयाँ क्षेत्रमा क्रियाशील सबै न्यायाधीश, अधिवक्ता आदिसमेत गम्भीर हुनुपर्ने आवश्यकता पनि औंल्याएको छ ।

प्रधानन्यायाधीश जबराको कार्यशैलीबारे सुरुदेखि नै आफ्नो मतभेद वा विरोध रहँदै आएको पनि सो पार्टीले स्मरण गराएको छ । न्यायाधीशहरूको नियुक्तिको बेलामा भएको सुनवाइमा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले उनलाई न्यायाधीशमा नियुक्त गर्ने सिफारिसविरुद्ध अन्त्यसम्म अडान लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप