बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मंसिरदेखि विद्युतको नयाँ महशुल दर लागू

बुधबार, १० कात्तिक २०७८, १७ : ४३
बुधबार, १० कात्तिक २०७८

आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महसुल दर लागू हुने भएको छ ।  बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत नियमन आयोगले आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महसुल दर लागू हुने जानकारी दिएको हो ।

नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावमाथि छलफल गरेर आयोगले मंसिरदेखि लागू हुने गरी नयाँ विद्युत महसुल दर लागू गरेको आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले बताए ।

उनले विपन्न नागरिकहरुलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताहरूलाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्ने निर्णय गरिएको बताए । मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिव २२ लाख ग्राहकहरुले लाभ लिने आयोगले जानकारी दिएको छ ।

उनले आयोगले ग्राहस्थ वर्गमा विद्युतको उपभोग बढाउन तथा उपभोक्ता माझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न ग्राहस्थ वर्गको महशुलमा औसतमा २.८४ प्रतिशतले घटाएको बताए ।

आयोगले सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महशुलमा २५ रुपैयाँले कटौती गरी क्रमशः १००, १२५ र १५० रुपैयाँ कायम गरेको छ । त्यस्तै आयोगले मासिक ४ सय युनिटमाथि विद्युत खपत गर्ने उपभोक्ताहरूको इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाएको छ ।

आयोगका अध्यक्ष सिंहले भने, ‘ग्राहस्थ वर्गमा विद्युतको उपभोग बढाउन तथा उपभोक्ता माझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न ग्राहस्थ वर्गको महशुलमा औसतमा २.८४ प्रतिशतले घटाइएको छ, सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महशुल दरमा २५ रुपैयाँले घटाएर क्रमशः १००, १२५ र १५० रुपैयाँ कायम गरिएको छ ।’

उनले भने, ‘यसैगरी सिंगल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पियर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महशुल दरमा २५ रुपैयाँले घटाएर क्रमशः १५०, १७५, २०० र २५० रुपैयाँ कायम गरिएको छ, विपन्न नागरिकहरुलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको हकमा इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्ने गरी निर्णय गरिएको छ ।’ 

त्यस्तै सिंगल फेजबाट आपूर्ति लिइ मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्नेहरुको हकमा साविकको दरमा प्रति युनिट ५० पैसा घटाएर प्रति युनिट ९.५० रुपैयाँ कायम गरिएको र सिंगल फेजबाट आपूर्ति लिइ मासिक ४०० यसनिट भन्दा माथि विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको हकमा इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाइएको उनले जानकारी दिए ।

आयोगले आन्तरिक रुपमा विद्युत खपत वृद्धि गराउन सिंगल फेजबाट आपूर्ति लिइ मासिक १५१ युनिट भन्दा बढी विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताका लागि विद्युतीय चुल्हो जस्ता घरायसी उपकरणको प्रयोगलाई प्रोत्साहन गर्न महसुल दर साविकको भन्दा कम गरेको छ ।

त्यस्तै सिँचाइका ग्राहकको महसुल दर पनि घटाएको छ भने यसपटक सिँचाइका ग्राहकले सबैभन्दा बढी लाभ पाएका छन् । उनीहरुको महसुल औसतमा ४०.६९ प्रतिशतसम्म घटाइएको हो । २३०/४०० भोल्टबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क प्रति युनिट २.०५ ले घटाएर २.२५ कायम गरिएको अध्यक्ष सिंहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप