बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

शिक्षक र विद्यालयको गुणस्तर बढाउन केयू र युलेन्सबीच सहकार्य

बुधबार, १० कात्तिक २०७८, १७ : २९
बुधबार, १० कात्तिक २०७८

काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसन र युलेन्स एजुकेसन फाउन्डेसनबीच एक्काइसौँ  शताब्दीको सिकाइ र विद्यालयका लागी आवश्यक दक्ष, योग्य र सीपयुक्त शिक्षक तथा विद्यालयको नेतृत्व विकास गर्न समझदारी भएको छ ।

ललितपुरको हात्तीवनस्थित काठमाडौँ युनिभर्सिटी, स्कुल अफ एजुकेसन परिसरमा आयोजित समारोहमा काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेसनका डीन प्रा. डा. बालचन्द्र लुइटेल युलेन्स एजुकेसन फाउन्डेसनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. अरनिको कुमार पाँडेले आ(आफ्नो संस्थाका तर्फबाट हस्ताक्षर गरेका हुन् ।

शिक्षा क्षेत्रमा प्रगतिशील काम गरिरहेका दुई अग्रणी संस्थाहरूबीचको साझेदारीमा सञ्चालन हुन लागेको शिक्षक शिक्षा, शैक्षिक नेतृत्व तालिम तथा शिक्षा क्षेत्रमा गरिने अध्ययन अनुसन्धानले दक्ष, योग्य र सीपयुक्त शिक्षक र विद्यालयको नेतृत्व विकास गर्ने लक्ष्य राखिएको जनाइएको छ । युलेन्स एजुकेसन फाउन्डेसनले स्थापना गरेको युलेन्स सेन्टर फर एजुकेटर डिभलपमेन्ट अन्तर्गत परियोजना अघि बढ्नेछ ।

दुबै संस्थाहरूले सञ्चालन गर्ने शिक्षक तथा शैक्षिक नेतृत्व तालिम कार्यक्रमको मुख्य उद्देश्य एक्काइसौँ शताब्दीका शिक्षकहरूलाई उच्च गुणस्तरको पूर्वसेवाकालीन र सेवाकालीन तालिम प्रदान गर्नु रहेको छ । नयाँ पुस्ताका शिक्षकहरूलाई तालिम दिने लक्ष्य राखेको यस साझेदारी कार्यक्रमले देशको नवीन शिक्षण सिकाइका आवश्यकताहरू पूरा गर्न र शिक्षाको राष्ट्रिय लक्ष्यहरू हासिल गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ ।

दुई संस्था बिचको सहकार्यले शिक्षण सिकाइ अभ्यासहरूमा अनुसन्धान गर्न, तथ्यमा आधारित निर्णय निर्माणमा योगदान पु¥याउन र राष्ट्रिय स्तरमा नीति निर्माणमा समेत सहयोग पु¥याउने लक्ष्य राखेको छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले दुई अग्रणी संस्थाबीच भएको सहकार्यले विद्यालय शिक्षामा परिवर्तन ल्याउन उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे । काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेसनका डीन प्रा. डा. बालचन्द्र लुइँटेलले शिक्षक तालिमको महत्वमाथि प्रकाश पार्दै अबको शिक्षकले एक्काइसाँै शताब्दीको नागरिक तयार पार्न अहम भूमिका खेल्नु पर्ने पक्षबारे चर्चा गरे । 

युलेन्स एजुकेसन फाउन्डेसनका अध्यक्ष सोम पनेरुले प्रगतिशील शिक्षाका रचनात्मक चिन्तन, महत्वपूर्ण सोच, वाल केन्द्रीत सिकाइ, न्यायमा आधारित शिक्षा र खोजमा आधारित सिकाइबारे धारणा राखे । समारोहमा  प्रा. डा. लक्ष्मण ज्ञवाली, युलेन्स एजुकेसन फाउन्डेसनका प्रमुख प्राज्ञिक अधिकृत मेदिनबहादुर लामिछाने लगायत विभिन्न लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो ।

केयु र युलेन्सबीच भएको सहकार्यले शिक्षक, विद्यालय र अन्य सरोकारवालाहरूका लागि प्रशस्त अवसरहरू सिर्जना गर्ने लक्ष्य राखिएको छ । साझेदारी कार्यक्रमलाई चुस्त, दुरुस्त र प्रभावकारी रूपमा सञ्चालन गर्न काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसनका डीनको अध्यक्षता र युलेन्स एजुकेसन फाउन्डेसनका प्रमुख प्राज्ञिक अधिकृतको सहअध्यक्षता रहने गरी पाँच सदस्यीय एक सञ्चालन समिति समेत गठन गरिएको छ । 

दुबै संस्थाहरूले आगामी दिनमा शिक्षक र शैक्षिक नेतृत्वहरूका लागि छोटो अवधिका प्रशिक्षण कार्यक्रमहरू सुरु गर्ने योजना बनाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप