शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

५९ सांसदसहित पाण्डेद्वारा मुख्यमन्त्रीमा दावी पेश

बुधबार, १० कात्तिक २०७८, १७ : १९
बुधबार, १० कात्तिक २०७८

बागमती प्रदेशका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता पाण्डेले ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा  दावी पेश गरेका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेसँगै बुधबार नै पाण्डेले काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपासहितका सांसदको समर्थनमा दावी पेश गरेका हुन् । 

 शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका थिए । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम बुधबार प्रदेश प्रमुख समक्ष लिखित राजीनामा बुझाएकी थिइन् । 

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई आफ्नो दाबी पेश गर्न भनिएको छ । 
बागमती प्रदेशसभा १०९ सदस्यीय रहेको छ भने बहुमत पुर्याउन ५५ सांसद जरुरी हुन्छ । 

 प्रदेश सभाका सदस्य रहेको एमालेका १३ जना प्रदेश सभाका सदस्यले एकीकृत समाजवादी रोजेसँगै एमाले सभामुखसहित ४३ सदस्यमा सीमित बन्दै प्रदेश सभामा बहुमत गुमाएको थियो । गठबन्धनबाट आगामी मुख्यमन्त्रीमा दावी पेश गरेका एकीकृत समाजवादीका संसदीय दलका नेता  पाण्डेको पक्षमा ५९ जना सांसद छन् । जसमा माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाका एक जना प्रदेश सभाका सदस्य रहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप