शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

एमाले अधिवेशन : लुम्बिनी प्रदेशका ९६ पालिकामा सर्वसम्मत, बाँकीमा नेतृत्व छान्न सकस

बुधबार, १० कात्तिक २०७८, १६ : ०९
बुधबार, १० कात्तिक २०७८

नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत भएको पालिका अधिवेशनमा लुम्बिनी प्रदेशका १०९ मध्ये ९८ पालिकामा नयाँ नेतृत्व चयन भएको छ । तीमध्ये ९६ पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । प्रदेशका अन्य ११ पालिकामा भने निर्वाचन लागि प्रकृया सुरु भए पनि नेतृत्व चयन लागि सकस देखिएको छ । ती पालिकामा अझै केही समय लाग्ने एमालेका प्रदेशस्तरका नेताहरु बताउँछन् ।

नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलका उपनेता बैजनाथ चौधरीका अनुसार अधिवेशन सम्पन्न भएका ९८ पालिकामध्ये दुई वटामा निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएको हो । सकभर सर्वसम्मत बनाउने प्रयास हुँदाहुँदै पनि केहीमा भने चुनाव नै गराउनु पर्ने अवस्था आएको उनको भनाइ छ ।

नवलपरासीको सुनवल र बर्दघाटमा नेतृत्वका बारेमा सहमति नभएपछि चुनाव गराउनु परेको चौधरीले रातोपाटीलाई बताए । बाँकी ११ पालिकामा पनि सहमति नभए निर्वाचनका माध्यमबाट नेतृत्व चयन हुने एमाले रुपन्देहीमा अध्यक्ष शिव सुवेदीले बताए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका, देवदर नगरपालिका, सिद्धार्थनगरपालिका र सियारी गाउँपालिकामा अधिवेशन सम्पन्न हुन सकेको छैन । यसैगरी बुटवल उपमहानगरपालिकामा समेत अध्यक्ष र उपाध्यक्षमा सहमति भए पनि सचिव र दुईवटा उपसचिवमा कुरा मिलेको छैन ।

बर्दियाको राजापुर गाउँपालिका र गेरुवा गाउँपालिका बाढीप्रभावित क्षेत्र भएका कारण कार्तिक १५ गतेका लागि अधिवेशनको मिति तय गरिएको एमालेले जनाएको छ ।

गुल्मीका मदाने र धुर्कोट गाउँपालिकामा नेतृत्वका आकांक्षी धेरै भएपछि सहमति जुट्न नसक्दा हालसम्म नेतृत्व चयन हुन सकेको छैन भने बाँकेको कोहलपुर नगरपालिकामा समेत नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी रहेको जनाइएको छ ।

रोल्पामा एक नगरपालिका र ९ वटा गाउँपालिका गरी १० वटा स्थानीय तह रहेकोमा हालसम्म ८ वटा गाउँपालिकामा अधिवेशन सकिएको र सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । नेकपा एमाले रोल्पाका जिल्ला सचिव निमप्रसाद रोकाका अनुसार त्रिवेणी गाउँपालिकामा कुशबहादुर पुन, रुन्टिगढी गाउँपालिकामा गोपाल डाँगी, माडी गाउँपालिकामा प्रेमबहादुर घर्ती, गंगादेव गाउँपालिकामा रोशनकुमार ओली, परिवर्तन गाउँपालिकामा लोकेन्द्र घर्ती, सुनिलस्मृति गाउँपालिकामा तारा सेन, लुङ्ग्री गाउँपालिकामा परशुराम घर्ती, सुनछहरी गाउँपालिकामा मनबहादुर घर्तीको नेतृत्वमा पालिका कमिटी चयन भएको छ ।

थबाङ गाउँपालिकामा बिहीबार अधिवेशन गर्ने नेकपा एमाले रोल्पाले जनाएको छ । रोल्पा नगरपालिकामा भने केही दिनमा अधिवेशन गर्ने तयारी भएको जिल्ला सचिव रोकाले बताए ।

चार उपमहानगरपालिकामा सर्वसम्मत् नेतृत्व

लुम्बिनी प्रदेशका ४ वटा उपमहानगरपालिकामा सर्वसम्मत् रुपमा अध्यक्ष चयन भएका छन् । जसअनुसार बुटवल उपमहानगरपालिकामा किशन ज्ञवाली, तुलसीपुर उपमहानगरपालिकामा माधव वली, घोराही उपमहानगरपालिकामा भुवन चौधरी र नेपालगञ्ज उपमहानगरपालिकामा दत्तप्रसाद आचार्य अध्यक्ष भएका छन् ।

बुटवल उपमहानगरबाहेक सबै उपमहानगरमा अन्य पदाधिकारीको समेत टुङ्गो लागेको छ । बुटवल उपमहानगरमा सचिव र २ वटा उपसचिव पदमा सहमति जुट्न नसकेको एमालेका रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप