बालकथा : अल्छी भ्यागुताको दुर्गति
अल्छी वा आलस्य के हो भन्ने कुरा भाइबहिनीहरूलाई थाहै । भइहाल्छ नि, गरौँला न, अहिले नै के हतार छ र भन्दै निच मारेर बस्नु नै अल्छी वा आलस्य हो । तर त्यसको नतिजा कस्तो हुन्छ भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ । त्यसो हो भने आऊ तलको कथा पढेर थाहा पाउने प्रयास गरौँ ।
धेरै पहिलेको कुरा हो । एउटा सानो कुवामा अल्छी भ्यागुतो बस्थ्यो । ऊ हरेक काममा आलस्य गथ्र्यो । यहाँसम्म कि आहारा खोज्नसमेत सितिमिति चाहँदैन थियो । त्यही सानो कुवा नै उसको संसार थियो । त्यहीँ उदाउँथ्यो त्यहीँ अस्ताउँथ्योे । उसको अल्छे रोग परिवारमा पनि सर्दै गयो । उसले जे गथ्र्यो सबैले त्यस्तै गर्थे । फलतः परिवारका सदस्य सवै दुब्ला, पातला र ख्याउटे बन्दै गए ।
संसारका सारा प्राणी सक्रिय थिए । आआफ्ना रुचि र क्षमताअनुसार केही न केही गर्थे र जीवनरथलाई डो¥याउने गर्थे । तर उसका लागि भने खानेकुराकै अभाव हुन थाल्यो । आहार खोज्न ऊ जाँदैन थियो । आहार आफैँ आएर मुखमा पस्दैन थियो, जसले गर्दा अरू सबैले खानेकुरा पाउँथे तर उसका भागमा भने अभाव र गरिबीबाहेक केही पर्दैन थियो ।
भोकले आजित भएपछि एक दिन उसकी स्वास्नीले करकर गर्दै भनी–
‘होइन हो भुन्ट्या बा ! यसरी कति दिन चल्छ ? कतै आहार खोज्न जाने होइन भन्या ? साना नानीहरू भोकले मर्नै लागिसके ।’
‘पख न एक दुई दिन ।’ उसले अल्छी मान्दै भन्यो–
‘अहिले नै के हतार छ र ? खोजखाज गरी एक दुई छाक चलाऊ, त्यसपछि त म छँदैछु नि ।’
‘कहाँ त्यसो भनेर हुन्छ ?’ स्वास्नी चाहिँले जिद्दी गर्दै भनी– ‘यस्तै एक, दुई दिन भन्दाभन्दै हप्तौँ बितिसके । घरमा एक दानो खानेकुरा छैन । अहिलेसम्म त नानीहरूलाई पख पख भन्दै टार्दै आएकी थिएँ । अब त पत्याउनै छाडिसके । आखिर पत्याउनु पनि कसरी । एक पटक होइन, दुई पटक होइन ।’
‘जाने त हो तर जाने पो कहाँ ?’ भ्यागुतोले खुइय गर्दै भन्यो–
‘नजिकतिर फिटिक्कै केही पाइन्न । अब त कीरा कमिलाले पनि थाहा पाएछन् कि जस्तो छ यतातिर आउँदै आउँदैनन् ।’
‘खोज्न गए पो पाइन्छ त । लेऊ, खाऊ भन्दै दिन को आउँछन् त ? स्वास्नी चाहिँले ठुस्किँदै भनी–
‘अरू मलाई थाहा छैन, भरेसम्म केही न केही खानेकुरा घरमा आएकै हुनुपर्छ ।’
स्वास्नीले निकै कर गरेपछि ऊ अल्छी मान्दै आहार खोज्न कुवाबाट निस्क्यो । धेरै दिनपछि बाहिर आउँदा उसलाई बाहिरको संसार अनौठो लाग्यो । संयोगवश त्यस दिन गाउँलेहरू कुवामा लुगा धुन आएका रहेछन् । उनीहरूले लुगा धुन पानी तताउनुपर्ने त्यतिबेलाको चलनअनुसार कुवाको छेउमा आगो बालेका थिए ।
यसअघि आगो नदेखेको हुँदा उसले त्यसलाई हो न हो खानेकुरा भन्ने ठान्यो र नजिकै गएर एउटा कोइला उठाउन खोज्यो तर आगो न हो के बाँकी राख्थ्यो र । मुखमा राख्ने बित्तिकै च्वास्स पोल्यो । त्यसपछि लौ बित्यास प¥यो भन्दै तीन बित्ता उफ्रेर भाग्ने प्रयास के गरेको थियो झुक्किएर आगोमा बसाएको ताउलोको पानीमा प¥यो, जसमा भर्खर तातो लाग्दै थियो ।
ताउलोको मन्द तातो पानी उसलाई मजा लाग्यो । उसले ठान्योे सायद स्वर्ग भनेको यही हुनुपर्छ । त्यसपछि ऊ त्यही पानीमा लुटुपुटिन थाल्यो । पानी तात्दै गयो उसको मजा पनि बढ्दै गयो । जब पानी अलि बढी नै गरम भयो त्यसपछि भने केही गडबढी छ कि क्या हो जस्तो नलागेको होइन तर आफ्नै अल्छी बानीले गर्दा निस्कने प्रयास गरेन । उल्टै ‘अघिभन्दा अलि बढी तातो भएको न हो के फरक पर्छ र । योभन्दा तातो त पक्कै हुनेछैन । कदाचित भएछ नै भने पनि केही छैन । सहन सकिएन छ भने निस्केर जाउँला । यति बढी मजा आइरहेको बेला कसले छाडोस् ।’ यस्तैयस्तै सोच्दै बसिरह्यो ।
जब पानी बिस्तारै गरम हुँदै गएर सहनै नसक्ने अवस्थामा पुग्यो त्यसपछि मात्र छटपटिँदै ताउलोबाट बाहिर निस्कन खोज्यो तर यतिबेलासम्म उसको शरीर यति बढी गलिसकेको थियो कि जति नै प्रयास गर्दा पनि एक फड्को मार्न सकेन । अन्ततः उसको प्राण त्यही ताउलोभित्र नै गयो ।
भाइबहिनीहरूलाई लागेको होला यहाँ भ्यागुताको मृत्यु तातोपानीले पोलेर भएको हो तर यो रूपमा मात्र हो, सारमा होइन । रूपमा ऊ तातोपानीले पोलेर नै मरेको थियो तर सारमा तातोपानीले पोलेर नभई उसको आफ्नै अल्छीपनले मारेको थियो । तातोपानी उसको प्रकृति अनुकूल थिएन । त्यसैले अलिकति तातो भेट्ने बित्तिकै गडबढी छ भनेर निस्कने प्रयास गरेको भए ऊ बाँच्ने थियो । किनकि त्यतिबेलासम्म ऊ स्वस्थ थियो, हातखुट्टा तगडा थिए तर उसले त्यतिबेला ध्यान दिएन । अल्छी मान्यो र निच मारेर बस्यो ।
जब आरीघारीको अवस्था आयो तब निस्कन त खोज्यो तर त्यतिबेलासम्म उसको शरीर तातोपानीले गलाएर फत्यकफुतुक बनाइसकेको थियो ।
जहाँ पनि अल्छीहरूको अवस्था यस्तै हुन्छ । जाँगर हुनेहरू समयको हेक्का राख्छन् र सोहीअनुसार चल्छन्, जसले गर्दा जस्तोसुकै विपत्तीबाट पनि मुक्ति पाइरहेका हुन्छन् । अल्छीहरू विभिन्न बाहाना बनाएर बस्छन् । अन्ततः यसैले नै उसलाई अनेक खाले विपत्तीको सामना गर्नुपरिरहेको हुन्छ ।