अदालतबारे जथाभावी नबोल्न ओलीलाई देउवाको चेतावनी

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले परमादेश दिने सबै न्यायाधीशलाई हटाउनुपर्दछ भनेर ओलीको गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका हुन् ।
काँग्रेसको युवा संगठन नेपाल तरुण दलको स्थापना दिवसमा बालुवाटारमा आयोजित कार्यक्रममा देउवाले भने ‘परमादेश दिने सबै न्यायाधीशलाई हटाउनुपर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन ।’ परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरूले गरेको प्रधानमन्त्री देउवाको दाबी छ । साथै देउवाले अदालतबारे जथाभावी नबोल्न ओलीलाई चेतावनी समेत दिएका छन् ।
एमालेको नगर अधिवेशनलाई सम्बोधन गर्दै मंगलबार ओलीले परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा गर्नुपर्ने बताएका थिए । ओलीले जेठ ६ गते दोस्रो पटक संसद विघटन गरेपछि सर्वोच्च अदालतले असार २८ गते शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
परमादेश जारी गर्ने पाँचजना न्यायाधीशमाथि ओलीले प्रश्न उठाएपछि प्रधानमन्त्री देउवा बचाउमाा उत्रिएका हुन् । मंगलबार काँग्रेस शीर्ष नेताको बैठकमा पनि प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बचाउ गर्ने नीति अख्तियार गरेका थिए ।
न्यायालयमा उठेको सवालका सन्दर्भमा सत्तारुढ गठबन्धनमा छलफल हुने देउवाको भनाइ छ । ‘५ पार्टीको गठबन्धन सरकार छ । न्यायालय सम्बन्धमा उठेका जे सवालहरूमा सरसल्लाह, छलफल गर्नेछौं,’ उनले भने ।
प्रधानमन्त्री देउवाले चर्को विरोधपछि उद्योगमन्त्रीबाट राजीनामा दिएका गजेन्द्र हमलाको पनि बचाउ गरेका छन् ।
‘गजेन्द्र हमाल हाम्रो पार्टीको मान्छे हो । बिचरा, बस्न नसक्ने भएपछि राजीनामा दिनुभयो । यो कुरा सिद्धिइसकेको थियो, तर कुरा उठाएको उठाएकै छन्,’ देउवाले भने । प्रधानमन्त्री देउवाले अदालतमा देखिएको विवाद अदालतले नै समाधान गर्ने बताए । ‘अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
-
५२ संवैधानिक नियुक्तिविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा
-
जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्ने विषयमा सरकार गम्भीर : वनमन्त्री
-
कार्यविभाजनपछि पहिलो पटक माओवादी स्कुल विभागको बैठक, के–के भयो छलफल ?
-
अब कसरी निर्वाचित हुन्छन् नयाँ पोप ?
-
बोलेरो गाडीमा आगलागी हुँदा ४ जनाको जलेर मृत्यु