मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाबाट पाण्डेय ८ महिनामै आउट हुँदै, देवकोटाको के हुन्छ ?

बुधबार, १० कात्तिक २०७८, ११ : ३९
बुधबार, १० कात्तिक २०७८

उपनिर्वाचनबाट राष्ट्रिय सभामा प्रवेश गरेका दृगनारायण पाण्डेय आठ महिनामै आउट हुने भएका छन् । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था अनुसार पाण्डेय आगामी फागुन २० गतेबाट विदा हुने भएका हुन् ।

नेकपा माओवादीबाट राष्ट्रिय सभामा निर्वाचित चन्द्रबहादुर खड्काले नेकपा एमाले रोजेपछि माओवादीले पदमुक्त गर्दा उपनिर्वाचन भएको थियो ।  माओवादी केन्द्रबाट राष्ट्रिय सभाका सदस्यमा निर्वाचित अर्घाखाँचीका  खड्का एमालेमा प्रवेश गरेपछि सो पद रिक्त भएको थियो ।  

पहिला एमालेमै रहेका पाण्डेय लुम्बिनी प्रदेशको सांसदबाट राजीनामा दिई काँग्रेसमा प्रवेश गरी जेठ १७ गते भएको उपनिर्वाचनमा राष्ट्रिय सभाको उम्मेदवार बनेका थिए । यता एमालेले खड्कालाई उम्मेदवार बनाएको थियो । काँग्रेस, माओवादी केन्द्र, एमालेको तत्कालीन माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव पक्षको साथ पाएपछि पाण्डेयले खड्कालाई पराजित गरेका थिए । तर पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा कार्यकाल निर्धारण हुँदा खड्कालाई चार वर्षे चिट्ठा परेको थियो ।

पाण्डेयले खड्काको स्थानमा जितेकाले ८ महिनामै कार्यकाल सकिन लागेको हो । प्रदेश सांसदबाट राजीनामा दिएर राष्ट्रिय सभामा आएका उनी ८ महिनामै बाहिरिने भएका हुन् । उनीसँगै २० जना राष्ट्रियसभा सदस्य फागुन २० मा विदा हुन लागेका छन् ।
तर बागमती प्रदेशमा गत जेठ ६ गते भएको राष्ट्रिय सभा उपनिर्वाचनबाट निर्वाचित डा. खिमलाल देवकोटाको कार्यकाल भने दुई वर्ष बाँकी छ । माओवादी केन्द्रबाट राष्ट्रिय सभाका सदस्यमा निर्वाचित चितवनका  रामबहादुर थापा ‘बादल’ एमालेमा प्रवेश गरेपछि सो पद रिक्त भएको थियो ।
काँग्रेस, माओवादी, एमालेको तत्कालीन माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव पक्षबाट साझा उम्मेदवार बनेका देवकोटाले एमाले उम्मेदवारका बादललाई पराजित गरेका थिए ।

पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा कार्यकाल निर्धारण हुँदा बादललाई ६ वर्षे चिट्ठा परेकाले २०८० फागुनसम्म देवकोटाको कार्यकाल रहने छ । ०८० फागुनमा देवकोटासँगै गोला प्रथामा ६ वर्षको चिठ्ठा परेका २० जना बिदा हुने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप