बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यको आज छिनोफानो

बुधबार, १० कात्तिक २०७८, ०८ : १६
बुधबार, १० कात्तिक २०७८

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार (आज) विश्वासको मत लिने भएकी छन् । आज दिउँसो १ बजेसम्म बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन् । मुख्यमन्त्री बनेको एक सातामा अल्पमतमा परेकी शाक्यले दुई महिनापछि प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । 

गत असोज २४ गते प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरेको थियो । प्रस्तावमाथि प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेश सभाका सदस्यहरूसँग आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेकी थिइन् ।

गठबन्धनका दलहरू नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालका नेताहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । उनीहरुले विश्वासको मतको विपक्षमा मतदान जनाएका थिए ।

आज पनि प्रस्तावको विपक्षमा बोलेका प्रदेश सभाका सदस्यहरूको प्रश्नको मुख्यमन्त्री शाक्यले जवाफ दिने छिन् । प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि २०७८ प्रदेश सभाबाट पारित भएपछि मतदान प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना सदस्य आवश्यक हुन्छ । प्रदेश सभाका सदस्य रहेको एमालेका १३ जना प्रदेश सभाका सदस्यले एकीकृत समाजवादी रोजेसँगै एमाले सभामुखसहित ४३ सदस्यमा सीमित बन्दै प्रदेश सभामा बहुमत गुमाएको छ ।

गठबन्धनबाट आगामी मुख्यमन्त्रीमा प्रस्तावित एकीकृत समाजवादी का संसदीय दलका नेता राजेन्द्र पाण्डेको पक्षमा ५९ जना सांसद छन् । माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाका एक जना प्रदेश सभाका सदस्यले मुख्यमन्त्री शाक्यको विपक्षमा मतदान गर्ने भएका छन् ,।

मुख्यमन्त्री शाक्यलाई प्रदेश सभामा रहेका साना दलहरूले समर्थन गरे पनि विश्वास मतको प्रस्तावको पक्षमा बहुमत पुग्ने देखिँदैन । विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई÷दुई जना प्रदेश सभाका सदस्य रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप