शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एकै दिन २६३ सङ्क्रमितको मृत्यु, ८ महिनायताकै उच्च

बुधबार, १० कात्तिक २०७८, ०७ : ४२
बुधबार, १० कात्तिक २०७८

लन्डन । बेलायतमा कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा २६३ जनाको ज्यान गएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । यो सङ्ख्या झन्डै ८ महिनायताकै सबैभन्दा  बढी हो ।

अघिल्लो साताको तुलनामा मृतक सङ्ख्या झन्डै ८ प्रतिशतले बढेको हो । बेलायतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४० हजार नजिक पुगेको छ । मंगलबार सार्वजनिक तथ्याङ्क अनुसार बेलायतमा हालसम्म एक लाख ३९ हजार ८३४ जना सङ्क्रमितको ज्यान गइसकेको छ ।

यसै गरी बितेको २४ घण्टामा थप ४० हजार ९५४ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै बेलायतमा कुल सङ्क्रमित हुनेको सङ्ख्या ८८ लाख ५३ हजार नाघेको छ । विगत केही दिनयता  दैनिक सङ्क्रमितको सङ्ख्या ४० हजारमाथि रहँदै आएको छ भने गत २१ अक्टोबरमा एकै दिन ५२ हजार भन्दा बढी सङ्क्रमित भएका थिए ।

गएको एक सातामा सङ्क्रमणका कारण अस्पताल भर्ना हुनेको सङ्ख्या १६ प्रतिशतले बढेको छ । पछिल्लो २४ घण्टामा ९१६ जना सङ्क्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका सङ्क्रमितको सङ्ख्या ८ हजार ६९३ पुगेको छ । यस्तै ९१३ जना सङ्क्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म ९ करोड ५३ लाख ३५ हजार भन्दा बढी डोज कोरोनाविरुद्ध खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९७ लाख ५३ हजार ३७ जना अर्थात् ८६.२ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५५ लाख ८२ हजार ८९१ जना अर्थात् ७९ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ ।

यसै गरी बेलायतमा कोरोनाविरुद्धको तेस्रो अर्थात् बुष्टर डोज लगाउनेको सङ्ख्या पनि ६० लाख नाघेको छ । जाडो याममा सङ्क्रमण दर तीव्र हुने भएकाले आफ्नो पालो आउने बित्तिकै खोप लगाउन सरकारले  अनुरोध गरेको छ । हाल ५० वर्षमाथिका, फ्रन्टलाइन वर्कर्स तथा स्वास्थ्य अवस्था कमजोर भएकालाई बुष्टर डोज वितरण भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप