शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपकरणसहितको दक्ष टोलीद्वारा बेपत्ता आरोहीको खोजी कार्य सुरु

मङ्गलबार, ०९ कात्तिक २०७८, २२ : ४९
मङ्गलबार, ०९ कात्तिक २०७८

मेरापिक क्षेत्रमा बेपत्ता बनेका आरोही छेतेन शर्पाको अवस्था पत्ता लगाउन अत्याधुनिक उपकरणसहितको तालिम प्राप्त टोलीले काम सुरु गरेको छ ।  एभरेष्ट एयरको हेलिकोप्टरमार्फत सोमबार लुक्लाबाट मेरापिक क्षेत्रमा पुगेको उक्त तालिम प्राप्त टोलीले सोही दिनदेखि काम सुरु गरेको एडभेन्चर भिक्टोरीका सञ्चालक लक्षमण मिसन कार्कीले जानकारी दिए ।

तालिम प्राप्त टोलीले दुई दिनदेखि खोजीकार्य जारी राखे पनि उनको अवस्था अझै अज्ञात रहेको कम्पनीले जनाएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–३ तामाखानी ठेगाना भएका शेर्पा आरोहण दलका रुपमा एडभेन्चर भिक्टोरी प्रालिमार्फत मेरापिक गएका थिए । कात्तिक २ गते आरोहण सकेर फर्कने क्रममा पाँच हजार ८०० मिटर उचाइबाट उनी  सम्पर्कविहीन बनेका थिए ।

आरोहण सकेर फर्कने क्रममा बेपत्ता शेर्पासहित कात्तिक २ गते १० जनाको टोली हिउँमा फसेका  थिए । जसमध्ये क्लाइबिङ शेर्पाको सहयोगमा नौ जनाको सकुशल उद्धार गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित त्याहाँ जानुभएका शेर्पा बेपत्ता बन्नुमा कम्पनी र गाइडको कमजोरी रहेको जानकार बताउँछन् । कात्तिक अन्तिम साता नै मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै सचेत गराएको थियो ।

मौसम प्रतिकूल हुने हुँदा उच्च हिमाली तथा जोखिमयुक्त क्षेत्रमा नजान सचेत गराउँदा गराउँदै पिक चढ्न जानु गलत भएको मेरापिकका एक होटल व्यवसायीले बताए । शेर्पा इभेन्ट र खारेका माउण्टेन भ्यू होटलले जिम्मा लिएर त्यस क्षेत्रमा लगेको भए पनि कुनै पनि सुविधा उपलब्ध गराउन नसकेको आरोही दावा शेर्पाले बताए ।

दुई दिनसम्म हिमपातमा भोकै बस्नुपरेको गुनासो गर्दै उनले कुनै पनि सञ्चार सुविधा तथा औषधिसमेत नहुँदा त्यस बेला समस्या भएको बताए । आरोही छेतेन शेर्पा पनि गाइड र कम्पनीको लापर्बाहीको कारण नै बेपत्ता बनेको दाबी गरिएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप