बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चका न्यायाधीशको अठोट : सुसाइड गर्दैनौँ, ब्याक हुने ठाउँ छैन

यथास्थितिमा बेञ्च बस्न सक्दैन, बुधबार पनि बैठक बस्ने
मङ्गलबार, ०९ कात्तिक २०७८, २२ : ३४
मङ्गलबार, ०९ कात्तिक २०७८

न्यायालयमा जारी गतिरोधका कारण मंगलबार पनि न्यायाधीशहरूको इजलास बस्न सकेन । प्रधानन्यायाधीशले पेसी तोके लगत्तै सर्वोच्चका १५ न्यायाधीश बिहान ११ः३० बजे प्रधानन्यायाधीशलाई भेट्न गए । सोमबारकै बैठकको निर्णयअनुसार मंगलबारको भेटपछि उनीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरे ।

तर, प्रधानन्यायाधीश जबराले सडकबाट कसैले चिच्याउँदैमा राजीनामा नदिने र आफू संवैधानिक प्रक्रियाबाट आएका कारण संवैधानिक प्रक्रियाबाट मात्रै बहिर्गमनमा जाने जवाफ दिए । प्रधानन्यायाधीशको जवाफ सक्छौ भने महाभियोग लगाएर पारित गराऊ भन्ने आशयको थियो ।

मध्यान्ह सवा १२ बजे बैठक सकिएपछि पनि न्यायाधीशहरू इजलासमा गएनन् । बरु फेरि आन्तरिक छलफलमा जुटे र पूर्ववत् निर्णय अर्थात् प्रधानन्यायाधीशको राजीनामामा एक मत भए । न्यायाधीशहरू इजलासमा नबसी  भावी रणनीति बनाउने छलफलमा लागेपछि मंगलबार पनि दैनिक पेसीमा ‘बेञ्च नबसेको’ लेखियो । अर्थात् न्यायाधीशहरूले औपचारिकरुपमा नभने पनि बेञ्च बहिष्कारलाई जारी राखिरहे ।

हुन त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबारको पेसीमा चलाखीपूर्ण ढङ्गबाट गुट चलाउने प्रयास गरेका थिए । प्रधानन्यायाधीशको विरोधमा खुलेर लागेका न्यायाधीशहरू समेटेर संयुक्त इजलास तोकेका थिए भने आफूनिकटका मानिएका न्यायाधीशहरूलाई समेटेर अर्को संयुक्त इजलास तोकेका थिए । मंगलबारको पेसीमा न्यायाधीश नहकुल सुवेदीलाई मात्रै एकल इजलासमा पेसी तोकेका थिए ।

छलफलमा सहभागी अर्का एक न्यायाधीशका अनुसार अब न्यायाधीशहरू आफ्नो मागबाट पछाडि हट्न सक्ने अवस्थामा छैनन् । प्रधानन्यायाधीशले न्यायपालिकाको गरिमामा आँच आउने काम गर्नुभएको र न्यायपालिकालाई आफ्नो स्वार्थका लागि राजनीतिक सौदावाजीमा लगेको छलफलको निष्कर्ष रहेको भन्दै यस्तो व्यक्तिबाट न्यायपालिकाको नेतृत्व सम्भव नहुने निष्कर्षमा पुगेको ती न्यायाधीशले बताए ।

मंगलबार छलफलमा सहभागी एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीशले न्यायाधीशहरूमा फाटो ल्याउने नियतका साथ संयुक्त इजलासको पेशी तोकेका थिए ।  ती न्यायाधीशले भने, ‘आफ्नो विरुद्धमा उत्रिएका न्यायाधीशहरूले पेसी बहिष्कार गरेको खण्डमा पनि आफूनिकट मानिएका वा आफूलाई सहयोग गरिरहेका न्यायाधीशहरू इजलासमा बस्छन् भन्ने उनको सोच देखियो । तर, हामी सबै न्यायाधीशहरू न्यायपालिकाको गरिमा बचाइराख्न र जनविश्वास कायम राख्न पनि प्रधानन्यायाधीशको राजीनामाबाट पछि हट्न नहुने निष्कर्षमा पुग्यौँ र इजलास बहिस्कार गर्‍यौँ जसका कारण प्रधानन्यायाधीशले सोचेको जस्तो भएन ।’

प्रधानन्यायाधीशले मेरो मान्छे भनेका व्यक्तिहरू पनि न्यायपालिकालाई कुनै एक व्यक्तिको कारण बदनाम गराउनुहुँदैन भन्नेमा एकमत भएको र जबरालाई साथ नदिएको बताउँदै ती न्यायाधीशले रातोपाटीसँग भने, ‘अब को कता भन्ने कुरा नै रहेन । सबै न्यायाधीशहरू न्यायपालिकामा आँच आउन दिनुहुँदैन भन्नेमा एकमत हुनुभयो । मंगलबारको छलफलको निष्कर्ष पनि यही भयो ।’

‘सुसाइड गर्दैनौँ, ब्याक हुने ठाउँ छैन’

छलफलमा सहभागी अर्का एक न्यायाधीशका अनुसार अब न्यायाधीशहरू आफ्नो मागबाट पछाडि हट्न सक्ने अवस्थामा छैनन् । प्रधानन्यायाधीशले न्यायपालिकाको गरिमामा आँच आउने काम गर्नुभएको र न्यायपालिकालाई आफ्नो स्वार्थका लागि राजनीतिक सौदावाजीमा लगेको छलफलको निष्कर्ष रहेको भन्दै यस्तो व्यक्तिबाट न्यायपालिकाको नेतृत्व सम्भव नहुने निष्कर्षमा पुगेको ती न्यायाधीशले बताए ।

उनले अगाडि भने, ‘अब हामी ब्याक हुने ठाउँ छैन । हामी ब्याक हुनु भनेको हामीले सुसाइड गर्नु हो । त्यसकारण हामी सुसाइड गर्न सक्दैनौँ । किनभने, न्यायाधीशहरूले धेरै छलफल गरेर गरेको निर्णयमा पुनर्विचार गर्ने भन्ने कुरा नै आउँदैन । अब ब्याक हुने ठाउँ छैन ।’

ती न्यायाधीशका अनुसार प्रधानन्यायाधीश पटक–पटक विवादमा आउँदा न्यायपालिकाको भरोसामा आँच आएको र जनविश्वास गुम्न थालेको छ । हरेक मुद्दामा कार्यपालिका वा राजनीतिक नेतृत्वसँग बार्गेनिङ गर्ने व्यक्ति न्यायपालिकाको प्रमुख रहँदा जनताले न्याय पाउने सम्भावना पनि रहँदैन, जसका कारण प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आफूहरू बेञ्चमा नबस्ने ती न्यायाधीशले बताए ।

जनताका मुद्दामा चिन्तित

छलफलमा सहभागी एक न्यायाधीशका अनुसार बन्दी प्रत्यक्षीकरण र थुनुवासम्बन्धी मुद्दामा भने केही गर्न सकिन्छ कि भनेर मंगलबार छलफल भएको छ । अन्य कुनै पनि मुद्दा नहेरे पनि बन्दी प्रत्यक्षीकरणको मुद्दा र थुनामा रहेका व्यक्तिहरूको मुद्दालाई भने कुनै ढङ्गबाट सम्बोधन गर्न सकिन्छ कि भनेर छलफल भएको ती न्यायाधीशले बताए ।

यद्यपि इजलास बहिस्कार गर्नकै लागि बुधबार पनि ११ः३० बजे न्यायाधीशहरूको बैठक राखिएको उनले बताए ।

प्रधानन्यायाधीशले गुट चलाउन खोजे, कित्ताकाटको सम्भावना कम

कुनै समय प्रधानन्यायाधीश जबराकै नजिक मानिएका एक न्यायाधीशका अनुसार प्रधानन्यायाधीशले मंगलबारको पेसीमार्फत् गुट बनाउने र चलाउने कोशिस गरेका थिए । आफूनिकट भनिएका केही न्यायाधीशहरूलाई संयुक्त इजलासमा पेसी तोकिएको थियो । यद्यपि यतिबेला एकाध न्यायाधीशबाहेक अन्य न्यायाधीशले प्रधानन्यायाधीशको बचाउ गर्न नखोजेको ती न्यायाधीशले सुनाए ।

उनले भने, ‘मंगलबारको छलफलमा हामीले अपेक्षा नगरेका एकजना श्रीमान् पनि आउनुभयो । पहिले त हामीलाई नै अचम्म लाग्यो । सुरुमा उहाँले प्रधानन्यायाधीशको बचाउ पनि गर्न खोज्नुभयो । तर, हामीले पनि हाम्रो कुरा स्पष्ट पारेपछि उहाँ पनि कन्भिन्स हुनुभयो र हामी सँगै छौँ भन्नुभएको छ ।’

ती न्यायाधीश थप्छन्, ‘अब भोलि के हुन्छ थाहा छैन, तर आजसम्मको स्थितिमा हामीसँग करिब १८ जना न्यायाधीशहरू सँगै हुनुहुन्छ । उहाँहरूले साथ रहेको बताउनुभएको छ । त्यसकारण अब प्रधानन्यायाधीशले चाहँदैमा गुट चलाउन सक्ने सम्भावना पनि छैन । न्यायापालिकामा समस्या कोबाट र कहाँबाट छ भन्ने सबै श्रीमानहरूले बुझिसक्नुभएको छ । त्यसकारण उहाँहरू पनि सम्माननीयज्यूले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्नेमा हुनुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप