शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्वाचन समितिलाई देउवाको निर्देशन– मंसिरभित्र सम्पन्न हुने गरी  महाधिवेशन कार्यतालिका बनाउनुस्

केन्द्रीय समिति बैठक बोलाउन पौडेलको माग
मङ्गलबार, ०९ कात्तिक २०७८, १७ : ५६
मङ्गलबार, ०९ कात्तिक २०७८

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर भित्र सम्पन्न हुने गरी  १४ औं महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका छन् । 

मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र निर्वाचन समितिका सदस्यहरुबीचको छलफलमा बोल्दै सभापति देउवाले निर्वाचन समितिलाई मंसिर भित्र पार्टीको महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाउने सम्पूर्ण अधिकार रहेको उल्लेख गर्दै सोही अनुसारको कार्यतालिका बनाउन सचेत गराए । पार्टी सभापतिले मंसिर भित्र पार्टीको महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिनु भएको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । 

यता, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने महाधिवेशन मंसिर भित्र सम्पन्न हुने गरी औपचारिक निर्णय गराउन तत्काल पार्टी केन्द्रिय कार्य समितिको बैठक बोलाउन सभापति देउवासँग माग गरेको छ । महाधिवेशनको कार्यतालिकामा हुने सानोतिनो हेरफेर र महाधिवेशनको अन्य तयारीको लागि पनि तत्काल केन्द्रिय कार्य समितिको बैठक बोलाउन आफूले माग गरेको वरिष्ठ नेता पौडेलले बताए । 

नेपाली काँग्रेसले १४ औं महाधिवेशन आगामी मंसिर ९ देखि १२ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो । तर तल्लो तहको अधिवेशन गर्ने काममा ढिलाई भएपछि सभापति देउवाले मंसिरभित्र गरिसक्ने गरी निर्वाचन कार्यतालिका तय गर्न पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप