शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी मुद्रा सञ्चिति घट्दै, जनजीवनमा कस्तो असर पर्छ ?

मङ्गलबार, ०९ कात्तिक २०७८, १६ : २६
मङ्गलबार, ०९ कात्तिक २०७८

चालु आर्थिक वर्षको पहिलो तीन महिना (भदौ मसान्तसम्म) विदेशी विनिमय सञ्चिति ९३ अर्ब रुपैयाँले घटेको छ । तीन महिनामै कूल विदेशी विनिमय सञ्चिति ६.६ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ साल असार मसान्सम्ममा विदेशी विनिमय सञ्चिती १३ खर्ब ९९ अर्ब रुपैयाँ थियो । भदौ महिनासम्म यो परिमाण घटेर १३ खर्ब ६ अर्ब ९५ करोड रुपैयाँमा सीमित भएको छ । हाल नेपालसँग रहेको विदेशी विनिमय सञ्चितिबाट ८.६ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । 

७ महिनासम्म हुने आयात धान्ने सञ्चिति भएमा त्यस्तो स्थितिलाई सुरक्षित मानिने अन्तरराष्ट्रिय अभ्यास छ । तर, नेपालजस्तो नियन्त्रित अर्थतन्त्र भएको देशमा अहिले कायम सञ्चिति स्थिति सन्तोषजनक मान्न नसकिने पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले रातोपाटीलाई बताए ।  निर्यातको तुलनामा तीव्र गतिमा आयात बढ्दा विदेशी मुद्राको सञ्चिति घट्दै जान्छ । आयात हुने सामाग्रीको भुक्तानी डलरमा गर्नुपर्दा त्यस्तो रकम घट्छ । 

दसैं लगायत चाडबाडका लागि आयात बढ्दा राष्ट्र बैंकको ढुकुटीमा रहेको विदेशी विनिमयको सञ्चिति घटेको हो ।  यस्तै, कोरोना महामारीका कारणले विदेशी पर्यटक नआउँदा तथा नेपाल भित्रिने रेमिट्यान्स घट्दा विदेशी मुद्रा आर्जन नभएपछि सञ्चिति घटेको हो ।

घट्दा के असर ?
विदेशी मुद्रा सञ्चिति निकै घटेमा अत्यावश्यक सामग्रीहरू जस्तैः खाद्यान्न, पेट्रोलियम पदार्थ र औषधिलगायत आयात गर्न सकस पर्छ । किनकी, यस्ता सामग्री आयात गर्दा विदेशी मुद्रामै भुक्तानी दिनुपर्छ । आयात गर्दा तिर्ने रकम नै पुग्दैन र विदेशी विनिमय संकटको स्थिति देखा पर्छ ।

विदेशी मुद्रा सञ्चिति घट्दा जनजीवनमा पर्ने अर्को प्रभाव महँगी बढ्नु हो । सञ्चिति घट्दा नेपाली रुपैयाँको भाउ पनि कमजोर हुन्छ । अन्ततः सामान आयात गर्दा धेरै नेपाली रुपैयाँ तिर्नुपर्छ । यसरी ल्याइएको सामान महँगो हुँदा मूल्यवृद्धि बढ्छ । तयारी सामानदेखि कच्चा पदार्थसम्म महंगो पर्न जान्छ । उत्पादन लागत बढ्छ र विकास निर्माणका काम समेत प्रभावित हुनसक्छ । 

अर्को असर हो – वैदेशिक ऋणको भुक्तानी दायित्व बढ्ने । आन्तरिक ऋण लिँदा नेपाली रुपैयाँमै भुक्तानी गर्न मिलेपनि वैदेशिक ऋणदातालाई डलरमै साँवाब्याज भुक्तानी गर्नुपर्छ । सञ्चिति कम हुँदा नेपाली मुद्रा कमजोर हुन्छ र डलरमा तिर्नुपर्दा धेरै रकम बाहिरिन्छ । 

समाधानको उपाय के ?
विदेशी मुद्रा सञ्चिति घट्दा देखापर्ने प्रमुख समस्या समाधान गर्ने एउटै उपाय हो–आयात कम गर्ने । विदेशबाट सामान आयात गर्दा नेपालको ठूलो धनराशी बाहिरिने गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मात्रै नेपालमा १५ खर्ब ३९ अर्ब ८३ करोड रुपैयाँभन्दा धेरैको आयात भएको थियो । जब कि १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबर निर्यात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा व्यापार घाटा २७.२६ प्रतिशतले बढ्यो । 

के हो विदेशी विनियम सञ्चिति ?
केन्द्रीय बैंकले विदेशी मुद्रामा राखेको सम्पत्ति नै विदेशी विनिमय/मुद्रा सञ्चिति हो । नेपाली रुपैयाँ बाहेक अरू देशका मुद्राहरू नेपालका लागि विदेशी मुद्रा हुन् । नेपाल राष्ट्र बैंकका अनुसार यसलाई विदेशी विनिमय पनि भनिन्छ । हरेक देशका लागि विदेशी मुद्रा अत्यन्त महत्वपूर्ण हुन्छ । विदेशी मुद्रा धेरै सञ्चित भएमा देशलाई फाइदा हुन्छ । यसले देशको अर्थतन्त्रलाई बलियो बनाउँछ । हामीले अन्य देशबाट वस्तु तथा सेवा आयात गर्दा विदेशी मुद्रामा भुक्तानी गर्नु पर्दछ । यदि विदेशी मुद्राको अभाव हुन गएमा विदेशबाट वस्तु तथा सेवा किने वापतको भुक्तानी गर्न कठिनाइ पर्दछ । यसो भएमा मुलुकको अर्थतन्त्र सङ्कटमा पर्न सक्छ ।

नेपालमा भित्रिएको समग्र विदेशी विनिमयको ढुकुटी जिम्मा लिई सोको व्यवस्थापन गर्ने काम नेपाल राष्ट्र बैंकले गर्दछ । विदेशी मुद्रा राज्यको सम्पत्ति हो । यसको जथाभावी प्रयोग गरी दुरुपयोग गर्नु हुँदैन । आफैँले कमाएको भए पनि विदेशी मुद्रा सरकारी निकायले तोके बमोजिम मात्र खर्च गर्न पाइन्छ । यसको दुरुपयोग गरेमा कानुन बमोजिम कारबाही हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप