मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

टिकट नपाउँदा अस्पताल हिँडेका बिरामी बीच बाटोबाटै घर फर्किन बाध्य

मङ्गलबार, ०९ कात्तिक २०७८, १६ : ०६
मङ्गलबार, ०९ कात्तिक २०७८

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले रिफर गरेको कागज देखाउँदै गुठीचौर गाउँपालिकाका रिमाल पाण्डे विमानस्थल पुगे । उनको तीन महिनाको छोरा रिवानलाई एक्कासि श्वासप्रश्वासको समस्या भएपछि अस्पतालमा उपचारत थिए । अस्पतालले नर्मल श्वासप्रश्वासको दर ५० देखि ६० हुनुपर्ने भए पनि घटेर ३६ मा पुगेपछि थप उपचारका लागि शनिबार नै रिफर गरेको थियो । निकै गम्भीर प्रकृतिको बिरामी छोरा लिएर उनी विमानस्थल पुगेका थिए । हवाई टिकटका लागि एयरलाइन्सका कर्मचारीदेखि एजेन्सी सबैलाई हारगुहार गरे तर उनले टिकट पाएनन् । 

विमानस्थल जानुअघि उनले पटकपटक फोन गरेका थिए  । उनले देखाएको रिफर कागजको विमानस्थलले सुनुवाइ गरेन । उनी छोरा लिएर घर फर्किए । उनले भने, “समयमै रेफर गरिएको अस्पतालमा लिएको भए छोरा निको हुने आश गरेको थिए । विमानस्थलमा देखिएको मनपरीले बिरामी छोरो बोकेर घर फर्किन बाध्य भए । दुई दिनअघिदेखि टिकटका लागि पहल थालेको थिएँ । एयरलाइन्स र एजेन्सीका मान्छेलाई फोन गरेको थिएँ । छोराको अवस्था जटिल हुँदै टिकटका लागि पहल गरेको थिएँ तर टिकट पाउन सकिनँ । अन्ततः बिरामी छोरो बोकेर घर फर्किंए ।” 

एयरलाइन्सका कर्मचारी र एजेन्सीका मान्छेले तीन दिनअघि देखि सिट प्याक भइसकेको जनाउँदै उनलाई  फर्काइदिएका थिए  । बिरामीले जहाजमा उड्न नपाउनु विडम्बना हो । उनले भने, “हामी अफठ्यारो गाह्रो पर्दा हारगुहार माग्छौँ ।  टिकट पाउँदैनौँ । हवाई सेवा पहुँचवालाको मात्र होइन  ।”

दुई दिनअघि जुम्ला विमानस्थलमा भएको सर्वपक्षीय बैठकले बिरामीलाई पहिलो प्राथमिकतामा राखेर टिकट व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको थियो । कुनै पनि बिरामी जहाजमा जान पाउनुपर्ने जनाउँदै बिरामीको विकल्प अरू हुन नसक्ने बैठकको निष्कर्ष थियो ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बिरामीले टिकट नपाउनु सुखद पक्ष नभएको बताए । विमानस्थलमा भएको भद्रगोलको बारेमा जति निर्णय र छलफल भए पनि इटिकटको व्यवस्था नभएसम्म नरोकिने उनले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले हवाई सेवामा रिफर भएका बिरामीलाई पहिलो प्राथमिकता दिन निर्देश गरिएको जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप