बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल एयरलाइन्स डुबाएर निजी क्षेत्र पोस्ने कसैलाई  पनि छाड्दिनः मन्त्री आले

मङ्गलबार, ०९ कात्तिक २०७८, १५ : ३८
मङ्गलबार, ०९ कात्तिक २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापकीय सुधारका साथै व्यवसायिक सुधारका लागि आफूले ‘एक्सन’ लिने उद्घोष गरेका छन् । मंगलबार पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री आलेले निगमलाई डुबाएर निजी क्षेत्र पोस्न पल्केका कसैलाई पनि नछाड्ने उद्घोष गरे ।

पर्यटन तथा हवाई क्षेत्रमा सुधार गर्नुपर्ने र अपरेशन गर्नुपर्ने धेरै कुरा देखेको छु । कहाँ के गर्नुपर्छ र कसरी अघि बढ्नुपर्छ हामीलाई थाहा छ’ मन्त्री आलेले भने, ‘निगम जस्तो संस्था डुबाएर निजी क्षेत्र पोस्न लाग्नेहरुलाई अब छाडिन्न, त्यसको जरैदेखि अपरेशन चलाउँछौं ।’

सो अवसरमा मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेको केही दिनभित्रै निगमको समस्या हल गरेको र नयाँ अध्यक्ष चयन गरेको बताए ।​ वायुसेवा निगम महिनौं दिनदेखि बन्द थियो । कर्मचारीहरु निगमका ताला लगाएर आन्दोलन गरिरहेका थिए । तर म आएको केही दिन भित्रै निगम खुल्यो । कर्मचारी साथीहरुलाई मैले कन्भिन्स गरेँ र उहाँको माग अनुसार नयाँ अध्यक्ष समेत प्रदान गरेका छौं । अब, निगमको व्यवस्थापकीयदेखि व्यवसायिक पाटोको व्यापक सुधारको खाँचो छ । अब हामी त्यतातिर लाग्छौं’, मन्त्री आलेले भने ।

हाल निगमका बिग्रिएका, त्यसै ह्याङ्गरमा थन्किएका जहाजहरूलाई पुनः मर्मत गरेर सञ्चालन गर्ने र अपुग खरिद गरेर भने पनि व्यवसाय अघि बढाउने आलेले बताए । यता, कोभिड–१९ का कारण प्रभावमा परेका समग्र होटल पर्यटन तथा साना व्यवसायहरुलाई समेत समेट्दै पर्यटन प्रवद्र्धनको खोजी गरिने भन्दै मन्त्री आलेले राम्रो कामका लागि आफूले एक सेकेन्ड पनि नसोच्ने बताए ।

सो अवसरमा मन्त्री आलेले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रमा सुधार ल्याइछाड्ने उद्घोष गरे । सोही अवसरमा मन्त्रालयका तर्फबाट सचिव यादव प्रसाद कोइरालाले पर्यटन गतिविधिमा मन्त्रालयले अन्य मन्त्रालयसँग समन्वय गरेर अघि बढ्नुपर्ने बाध्यता रहेको तर मन्त्रालयहरू त्यसका लागि तयार हुने नगरेको गुनासो गरे ।

यता पर्यटन बोर्डले मंगलबार नवनियुक्त मन्त्री आलेलाई औपचारिक स्वागत गर्दै पर्यटन क्षेत्रमा देखिएको समस्या, चुनौति र सम्भावनाको फेहरिस्त नै राखेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले तथ्याङ्क प्रस्तुत गर्दै सरकारी–निजी क्षेत्रबीचको साझेदारीको व्यापक खाडल रहेको र यसलाई सुधार गर्नुपर्ने औँल्याए । सो अवसरमा डा.रेग्मीले पर्यटन क्षेत्रमा भएका विकृति विसंगतिलाई चिर्दै माथि उठ्न चुनौति रहेपनि वर्तमान मन्त्रीबाट सम्भव हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पर्यटन क्षेत्रमा क्रियाशिल अन्य व्यवसायिक संघ संगठनहरु, होटल व्यवसायी संघ, हान, टान, नाट्टा लगायतका प्रतिनिधिहरुले पनि मन्त्री आलेलाई शुभकामना दिँदै पर्यटन क्षेत्रको सुधार एवंम उत्थानमा लाग्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप