शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरबाहेक बागमतीका १२ जिल्लामा एमालेको पालिका अधिवेशन जारी

मङ्गलबार, ०९ कात्तिक २०७८, १५ : ०६
मङ्गलबार, ०९ कात्तिक २०७८

बागमती प्रदेशको अधिकांश जिल्लाहरुमा नेकपा एमालेको पालिका अधिवेशन सुरु भएको छ । प्रदेशका १३ जिल्ला मध्ये १२ वटा जिल्लाहरुमा एमालेको पालिका अधिवेशन सुरु भएको हो । मकवानपुरमा भने तयारी नपुगेको भन्दै एमालेको पालिका अधिवेशन आगामी १३ गतेसम्म सारिएको छ । 

कात्तिक १३ गते मकवानपुरको एक उपमहानगरपालिका र एक नगरपालिका र ८ वटा गाउँपालिका गरी कुल १० वटै पालिकामा अधिवेशन गर्ने केन्द्रीय सल्लाह अनुसार अधिवेशन सारिएको एमाले मकवानपुरले जनाएको छ । 
जिल्लामा उद्योग वाणिज्य संघको निर्वाचन पनि आज नै भएकाले र केही वडाहरूमा वडा अधिवेशन सम्पन्न गर्न बाँकी रहेका कारण एमाले मकवानपुरको अधिवेशन सार्नुपरेको अध्यक्ष बद्रीप्रसाद लम्सालले बताए । 
चितवनको ७ वटा स्थानीय तहहरुमध्ये ५ वटा पालिकामा अधिवेशन सुरु भएको छ । 

चितवनको माडी नगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका र खैरहनी नगरपालिकामा अधिवेशन सुरु भएको एमाले चितवनका सचिव प्रकाश खनालले जानकारी दिए ।
चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा भो भोली अधिवेशन गर्ने तयारी भइरहेको उनले बताए । भरतपुर महानगरमा भने आगामी कात्तिक १५ गते अधिवेशन गर्ने योजना रहेको उनको भनाइ छ । 
केही विशेष तयारीहरु गर्नुपर्ने भएकाले भरतपुर महानगरपालिकाको अधिवेशन १५ गतेका लागि सारिएको उनले बताए । 

अधिवेशन सुरु भएका नगरपालिकामा भने सम्भव रहेसम्म सर्वसम्मत रुपमा नेतृत्व प्रदान गर्ने तयारी भइरहेको उनले बताए । सम्भव नरहेका पालिकामा भने निर्वाचन प्रक्रियाबाट नेतृत्वको विषय टुङ्ग्याइने उनको भनाई छ । 
चितवनमा नेकपा एमालेका करिव १९ हजार जना संगठित सदस्यहरु रहेको उनले बताए । उनीहरुले वडाबाट प्रतिनिधि चुनेर पालिका अधिवेशनमा पठाउने र सोही अनुसार अधिवेशनबाट प्रतिपालिका ७५ जनाको कमिटीको चयन हुने उनले बताए ।
यसैगरी धादिङको १३ वटा पालिकाहरुमा एमालेको अधिवेशन सुरु भएको छ । जिल्लाको २ नगरपालिका र ११ वटा गाउँपालिकामा एमालेको अधिवेशन सुरु भएको बागमती प्रदेशसभा सदस्य रामकुमार अधिकारीले जानकारी दिए । 
पार्टी विभाजनको असर भोगिरहेको अवस्थामा एमाले धादिङले सबै पालिकाहरुमा आजै सर्वसम्मत रुपमा नेतृत्व प्रदान गर्ने गरी तयारी गरिरहेको उनले बताए । 
पालिका अधिवेशनको उद्घाटन सत्र केहीबेर अघिमात्र सुरु भएको भन्दै सांसद् अधिकारीले भने सर्वसम्मतको हरसम्भव तयारी भइरहेको छ, निर्वाचन प्रक्रियामा जान परको खण्डमा अध्यक्ष मण्डल गठन गरिएको छ, सो अध्यक्ष मण्डलले बाँकी प्रक्रियालाई टुङ्ग्याउने उनले बताए ।

यसैगरी दोलखाको गौरीशंकर नगरपालिकाको अध्यक्षमा दंग गुरुङ चयन भएका छन् ।सोमबार भएको नगर अधिवेशनबाट गुरुङले सर्वसम्मत रुपमा गौरीशंकरको नेतृत्व पाएका हुन् । 
जिल्लाको कुल ९ वटा स्थानीय तहहरु मध्ये एक स्थानीय तहको अधिवेशन आज हुँदैछ भने अन्य ७ वटा पालिकाको अधिवेशन आगामी कात्तिक १५ गतेभित्र सम्पन्न गर्ने तयारी भइरहेको दोलखाबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य सरस्वती बस्नेतले जानकारी दिइन् । 

आज दोलखाको जिरी नगरपालिकाको अधिवेशन भइरहेको उनले बताइन् । दोलखामा करिव ७ हजारको हाराहारीमा एमालेको संगठित सदस्य रहेको उनले बताइन् ।
उता नुवाकोटको सबै स्थानीय तहहरुमा एमालेको पालिका अधिवेशन सुरु भएको छ ।  नुवाकोटको २ नगरपालिका र १० वटा गाउँपालिकामा एमालेको अधिवेशन सुरु भएको बागमती प्रदेशसभा सदस्य बद्री मैनालीले जानकारी दिए । 

‘केही बेर अघिबाट अधिवेशनको उद्घाटन सत्र सुरु भएको छ, उद्घाटन सत्र सम्पन्न भएपछि बन्द सत्रमा प्रवेश गर्नेछौं,’ उनले भने । सबै पालिकामा आजै अधिवेशन सम्पन्न गर्ने योजना रहेको उनले बताए । सम्भव रहेसम्म सर्वसम्मत रुपमा बन्द सत्रबाट नेतृत्व टुङ्ग्याउने प्रयास भइरहेको उनले बताए । 

करिव साढे १३ हजार जना संगठित सदस्य रहेको एमाले नुवाकोटले नेतृत्व चयनको विषयमा सहमती हुन नसकेको खण्डमा निर्वाचन प्रक्रियामा जाने र आगामी १४ गते भित्र नेतृत्वको विषय टुङ्ग्याउने उनले बताए ।
यस्तै सिन्धुपाल्चोकको २ वटा गाउँपालिकामा एमालेको पालिका अधिवेशन रोकिएको छ । कुल १२ वटा स्थानीय तहहरु रहेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका र त्रिपुरा सुन्दरी गाउँपालिकाको अधिवेशन रोकिएको बागमती प्रदेशसभा सदस्य अरुण नेपालले जानकारी दिए ।

नेपालका अनुसार विकट क्षेत्रको रुपमा रहेको भोटेकोशीमा सडक सन्जारमा रहेको अवरोधका कारण अधिवेशन स्थगित भएको हो भने त्रिपुरा सुन्दरीमा स्थानीय नेताको निधन भएका कारण अधिवेशन रोकिएको हो । 
लामो समय पार्टीमा योगदान पु¥याएका नेता जगत बहादुर बोहराको निधन भएका कारण त्रिपुरा सुन्दरी गाउँपालिकामा अधिवेशन रोकिएको उनले बताए ।
रोकिएको पालिकाको अधिवेशन आगामी १५ गते भित्र सम्पन्न गरिने उनको भनाइ छ । 

जिल्लाका अन्य ३ नगरपालिका र ७ वटा गाउँपालिकामा भने एमालेको अधिवेशन सुरु भएको र आजै सम्पन्न हुने उनले बताए । 
आज भएका पालिका अधिवेशनमा सहमतिको आधारमा नेतृत्व चयन हुने उनको भनाइ छ । सहमती हुन नसकेको खण्डमा मात्र निर्वाचनमा जाने उनले बताए तर सिन्धुपाल्चोकको कुनैपनि पालिकामा निर्वाचनमा जानै पर्ने अवस्था आउने सम्भावना नरहेको उनले बताए ।

सिन्धुलीको सबै स्थानीय तहहरुमा एमालेको पालिका अधिवेशन सुरु भएको छ । जिल्लाको ९ वटा स्थानीय तहहरुमा एमालेको गाउँ नगर अधिवेशन सुरु भएको हो । एमालेको करिव १० हजार संगठित सदस्य रहेको सिन्धुलीको २ नगरपालिका र ७ गाउँपालिकामा आजै नयाँ नेतृत्वसहित एमालेको पालिका सम्पन्न हुने बागमती प्रदेशसभा सदस्य विनोद कुमार खड्काले बताए । सबै पालिकामा सर्वसम्मत रुपमा नेतृत्व दिने गरी पालिका अधिवेशन जारी रहेको उनको भनाइ छ । 

यसैगरी ५ वटा गाउँपालिका रहेको रसुवामा नेकपा एमालेको गाउँ नगर अधिवेशन सुरु भएको छ । जिल्लाको सबै गाउँ पालिकामा केही बेर अघिदेखि अधिवेशन सुरु भएको बागमती प्रदेशसभा सदस्य शान्ति थिङले जानकारी दिइन् । 
थोरै स्थानीय तह र वडाहरू रहेको रसुवामा एमालेले सर्वसम्मत रूपमा नेतृत्व दिने गरी अधिवेशन जारी रहेको उनले बताइन् । सर्वसम्मत रुपमा नेतृत्व दिने तयारी गरिएको भएपनि विभिन्न पदका आकांक्षीहरु धरै भएकाले निर्वाचन पनि गराउनु पर्ने अवस्था आउन सक्ने उनले बताइन् । उनका अनुसार सबै पालिकाको अधिवेशन आजै साँझ सम्म सम्पन्न हुनेछ । प्रत्येक पालिकामा न्युनतम ७५ जना नयाँ गाउँ कमिटीका लागि चयन हुने उनले बताइन् । 
यसैगरी रामेछापको ८ वटा पालिकामा एमालेको अधिवेशन जारी रहेको छ । आजै सम्पन्न गर्ने गरी विहानै देखि रामेछापमा एमालेको अधिवेशन सुरु भएको बागमती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शान्ति प्रसाद पौडेलले बताए । 

जिल्लाको २ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा एकैसाथ पालिका अधिवेशन सम्पन्न हुने र आजै सबै पालिकाले नयाँ नेतृत्व पाउने उनले बताए । जिल्लामा रहेका ११ हजार भन्दा बढी संगठित सदस्यहरुले चुनेका प्रतिनिधिहरुले अधिवेशनमा सहभागिता जनाउने उनले बताए । 

यसैगरी काठमाडौं उपत्यकाको ३ जिल्लामा पनि एमालेको सबै पालिकाहरुमा एमालेको अधिवेशन सुरु भएको छ । उपत्यकाको काठमाडौंको ११, भक्तपुरको ४ र ललितपुरको ६ वटा पालिकामा एमालेको गाउँ नगर अधिवेशन सुरु भएको हो । 

३ हजार भन्दा बढी संगठित सदस्य रहेको भक्तपुरको ४ नगरपालिकामा आज १ बजेबाट अधिवेशन सुर भएको बागमती प्रदेशसभा सदस्य शशिजंग थापाले बताए । उनका अनुसार सबै पालिकामा सर्वसम्मत रुपमा नेतृत्व दिने गरी पालिका अधिवेशन जारी रहेको छ । 

१ महानगरपालिका रहेको ललितपुरको ६ वटै स्थानीय तहमा आजै सम्पन्न गर्ने गरी पालिका अधिवेशन सुरु भएको बागमती प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले बताए । जिल्लाको ललितपुर महानगरपालिकासहित २ नगरपालिका र ३ गाउँपालिकामा आजै एमालेले नयाँ नेतृत्व चयन गर्ने उनले बताए । सबै पालिकामा नेतृत्वको लागि धेरै युवा पुस्ताहरुले आकांक्षा देखाएको भएपनि सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास भइरहेको उनले बताए ।
यता काठमाडौंको सबै पालिकाहरुमा एमालेको अधिवेशन सुरु भएको छ । जिल्लाको १ महानगरपालिका र १० नगरपालिकामा एमालेको अधिवेशन सुरु भएको नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले बताए । 
सबै पालिकाहरुमा नयाँ नेतृत्वका लागि विधानत न्युनतम ७५ जना चयन हुने उनले बताए । वडा बढी भएका स्थानीय तहहरुमा भने पालिका कमिटीमा सदस्यको संख्या बढ्ने उनले बताए । काभ्रेमा पनि एमालेको पालिका अधिवेशन जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप