शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए एनसीसी विश्व सम्मेलनको निष्कर्ष : 'संस्था जोगाउन संरक्षक परिषदले पहल गरोस्'

मङ्गलबार, ०९ कात्तिक २०७८, ११ : ४०
मङ्गलबार, ०९ कात्तिक २०७८

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व सम्मेलनले संस्थाको गरिमा र साख जोगाउनका लागि आवश्यक पहल गर्न संरक्षक परिषद्लाई आग्रह गरेको छ । सम्मेलनले सात बुँदे घोषणापत्र पारित गर्दै संघको वर्तमान नेतृत्वका कारण संस्था गतिहीन र विवादित बनेको भन्दै संस्थाको गरिमा कायम राख्न संरक्षक परिषदले पहल गर्नुपर्ने निष्कर्ष निकालेको हो । 

एनआरएनको विधान अनुसार नै अक्टोबर २३–२५ का लागि तोकिएको दशौं विश्व सम्मेलन तथा महाधिवेशन हुन नसकेपछि एनसीसीहरुको विश्व सम्मेलन गरिएको थियो । एनसीसी अमेरिकाको संयोजनमा भएको सम्मेलनमा असी प्रतिशतभन्दा बढी एनसीसीहरुका अध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो । खासगरी महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयनमा देखिएको विवादका कारण संघको महाधिवेशन रोकिएको हो । केही देशमा एनसीसीहरुको निर्वाचनमा पनि विवाद देखिएको छ । संघको नेतृत्वले आफूखुसी नियमावली बनाएका कारण विवाद बढेको असन्तुष्ट पक्षको गुनासो छ । 

एनसीसीहरुको विश्व सम्मेलनले अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को नेतृत्वले विधान विपरीत काम गर्दा संस्था नै गम्भीर अवस्थामा पुगेको निष्कर्ष निकालेको छ । संस्थालाई गति दिन र महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने वातावरण तय गर्न सम्मेलनले संरक्षक परिषद्लाई आग्रह गरेको छ । ‘गैरआवासीय नेपाली संघको  विधानको व्यवस्था बमोजिम २ वर्ष भित्र महाधिवेशन गर्न नसकेको कारणले संघको विधानको धारा १६ (१) को (४) मा उल्लेख  भए बमोजिम संस्थाको साख बचाउन संरक्षक परिषदले पहल गर्नु पर्ने देखिन्छ।’ सम्मेलनले पारित गरेको घोषणापत्रमा उल्लेख छ । 

घोषणापत्रमा भनिएको छ ‘हामी यहाँ उपस्थित सबै राष्ट्रिय समन्वय परिषदहरू एक मतले संरक्षक परिषदलाई संघको समस्या समाधानार्थ जिम्मा दिएर जति सक्दो चांडो समस्या समाधान गरेर संस्थालाई विधान बमोजिम सुचारु संचालन हुने अवस्था सिर्जना गर्न आग्रह गर्दछौं। संघको दशौँ महाधिवेशन तथा निर्वाचन समितिसँग समन्वय गरी एमआइएस (सदस्यता सूचना प्रणाली) मा देखिएका अनियमितताहरुको छानबिन गरी स्वतन्त्र र निष्पक्ष निर्वाचन समेत सम्पन्न गर्न संरक्षक परिषदलाई आग्रह गर्ने निर्णय गरियो।’

सम्मेलनले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट एउटै सवषयमा एनसीसीहरुलाई भिन्नाभिन्नै पत्र पठाउनु असमान व्यवहार भएको निष्कर्ष निकाल्दै आइसीसीका पदाधिकारीहरु नै चुनावमा होमिने भएपछि आफ्नो अनुकूल स्थिति बनाउन यस्ता कामहरु गरिएको ठहर गरेको छ । सम्मेलनले आइसीसीको निर्वाचन परिणामलाई प्रभावित गर्न  एनसीसीको निर्वाचन डेलिगेट्स चयन प्रक्रियामा हस्तक्षेप गर्ने वातावरण अन्त्य गर्न पनि माग गरेको छ ।
 
त्यस्तै, नेतृत्वले विवाद समाधानमा चासो नदेखाएपछि न्याय माग्न नियामक निकाय (परराष्ट्र मन्त्रालयमा) मा जानु स्वाभाविक ठहर पनि गरेको छ । परराष्ट्र मन्त्रालयले दिएको सुझाव र सल्लाहलाई संघको विधान अनुसार कार्यान्वयन गर्न सम्मेलनले संघको वर्तमान नेतृत्वलाई आग्रह गरेको छ । 

सम्मेलनले संघको विधानको गलत व्याख्या गरी नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई विश्व सम्मेलनमा भाग लिन नदिने काम न्यायोचित नहुने भन्दै प्रचलित अभ्यास अनुसार गर्नु भन्ने परराष्ट्र मन्त्रालयको सुझाव तथा संघको विधानको मर्म र भावना अनुरुप  ६५ प्रतिशत डेलिगेटस चयन गर्ने जिम्मा २०२१–२३ का लागि निर्वाचित एनसीसी कार्यसमितिहरूलाई दिन पनि माग गरेको छ । 
 
सम्मेलनले आउँदो एक महिनाभित्र सुझावहरु कार्यन्वयन नगरिए त्यस लगत्तै एनसीसीका सबै अध्यक्ष तथा नव निर्वाचित आइसीसी सदस्यहरुको विश्व भेला गर्ने निर्णय पनि गरेको छ । 

सम्मेलनले नेपालमा हालै भारी बेमौसमी वर्षाका कारण बाढी पहिरोमा परी भएको धन जनको क्षतिप्रति एनसीसीहरुको तपÞर्mबाट गहिरो दुख ब्यक्त गर्दै पीडित परिवार र समुदायलाई सहयोग गर्न एनसीसीहरुले आआफ्नो तर्फबाट  सहयोग जुटाउने र आपसी समन्वय गरी पठाउने निर्णय पनि गरेको छ । 

भर्चुअल माध्यमबाट भएको सम्मेलनको पूर्व परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका थिए भने सम्मेलनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई, नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, नेकपा एकीकृत समाजवादीका प्रवास समन्वय समितिका प्रमुख श्रीप्रसाद साह लगायतले सम्बोधन गरेका थिए । 

त्यस्तै संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचन,  संघका सल्लाहकारहरु कुल आचार्य, विश्व आदर्श पण्डित, सोम सापकोटा, त्रिलोक गुरुङ, एसी शेर्पा, हरिबोल भण्डारी, केन्द्रीय उपाध्यक्ष मन केसी, सचिव आर के शर्मा, सह कोषाध्यक्ष लोक दाहाल, महिला संयोजक भोमा लिम्बू, युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा, मध्यपूर्व युवा संयोजक राज रेग्मी, विभिन्न एनसीसीका अध्यक्षहरुले सम्मेलनको सफलताको कामना गरेका थिए । 

वर्तमान आइसीसीका अधिकांश पदाधिकारीहरु सहभागी भएपनि अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्मा भने सम्मेलनमा सहभागी भएनन् । गैर आवासीय नेपाली संघको १८ वर्षको अवधिमा पहिलो पटक घोषित मितिमा महाधिवेशन तथा चुनाव हुन नसकेको  र उत्पन्न विवादलाई अन्तर्राष्ट्रिय समन्वय परिषदले उचित सम्बोधन गर्न नसक्दा संघमा वैधानिक संकट उत्पन्न भएको छ । आइसीसीले वर्तमान कार्य समितिको म्याद ६ महिना थप गरेपनि संघ भित्रै विवाद छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप