एमाले प्रवक्ताको टिप्पणी : ‘युज एण्ड थ्रो’ अभियानले अरूलाई शिकार बनाउँछ
नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी र अराजकतालाई दुर्भाग्यपूर्ण भन्ने टिप्पणी गरेका छन् । प्रवक्ता ज्ञवालीले न्यायालयमा विगतमा पनि समस्या भएको स्वीकार गर्दै यसको उत्कर्ष असार २८ को फैसलाका क्रममा देखा परेको दावी गरेका छन् ।
‘यो निश्चित राजनीतिक नेताहरूको सत्ता स्वार्थका लागि अदालतले अनुकूल फैसला गरिदिने, सट्टामा नेताहरूले न्यायाधीशहरूमध्ये कसैलाई मन्त्री त कसैलाई तक्मा उपहार दिने– यही अपवित्र गठबन्धनको परिणाम हो आजको विकृति’, ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।
ज्ञवालीले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई निशाना बनाएर चलाइएको अभियानले विकृतिको अन्त्य नगरी संस्थागत गर्ने ठोकुवा समेत गरेका छन् । ‘एकजना व्यक्तिलाई निशाना बनाएर चलाइएको अहिलेको अभियानको उद्देश्य यस विकृतिलाई अन्त्य गर्ने होइन, झनै संस्थागत गर्नु र आफूले भने अनुसारको फैसला सुनिश्चित गर्नु मात्रै हो’, ज्ञवालीको तर्क छ ।
अदालत र सत्ता गठबन्धनबीचको ‘युज एण्ड थ्रो’ अभियानले भोलि अरूलाई पनि यसै गरी शिकार बनाउने ज्ञवालीको चेतावनी छ ।