बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरको सम्पूर्ण आर्थिक कारोबार बन्द गर्ने चेतावनी

मङ्गलबार, ०९ कात्तिक २०७८, ०८ : ४२
मङ्गलबार, ०९ कात्तिक २०७८

पोखरा । पोखरा महानगरपालिकामा कर्मचारीबीच विवाद चुलिएको छ । गत वर्ष महानगरले नियुक्ति गरेका कानुन व्यवसायी कमलप्रसाद अर्याललाई दिएको रकमलाई महालेखापरीक्षकको कार्यालयले अवैध भएको उल्लेख गर्दै बेरुजु देखाएपछि पुनः रकम दिने विषयमा महानगरका लेखा प्रमुख र वरिष्ठ कानुन अधिकृतबीच विवाद बढेको हो ।  

कानुन शाखामा दुई जनाको दरबन्दी कायम रहेकाले थप नियुक्ति गर्न नमिल्ने भन्दै महालेखापरीक्षकको कार्यालयले गत वर्ष नियुक्त गरिएका कानुन व्यवसायी अर्याललाई दिने रकमलाई बेरुजु देखाएको थियो । सोही रकमको भुक्तानीका विषयमा महानगरका वरिष्ठ कानुन अधिकृत नारायण शर्माले लेखा शाखा प्रमुख जयराम पौडेललाई दबाब दिएपछि विवाद चर्किएको हो ।

गत कार्तिक ३ गते महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बराल, लेखा शाखा प्रमुख पौडेल, वरिष्ठ कानुन अधिकृत शर्मा, वरिष्ठ प्रशासकीय अधिकृत भरत पौडेल र लेखा अधिकृत प्रवेश पौडेल बीच छलफल भएको थियो । महालेखापरीक्षकको कार्यालयले अधिवक्ता अर्यालले भुक्तानी लिएको ५ लाख ७ हजार रुपैयाँ असुल गर्नु पर्ने बेरुजु भएको औँल्याइएकाले चालु आर्थिक वर्ष पनि सोही प्रकृतिको भुक्तानीको माग पेस भएकाले भुक्तानी दिन नसकिने अडान राखेपछि शर्माले अपमानजनक, अमर्यादित शब्द प्रयोग गर्दै धम्क्याएको पौडेले दाबी गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत बराल सहित भएको छलफलमा दुवै जनाबीच भनाभन भएको विषयले उग्ररुप लिए पछि दुवैले महानगरमा निवेदन दिएर दोषीमाथि कारबाही गर्न माग गरेका छन् । लेखा प्रमुख पौडेल र कानुन अधिकृत शर्माले आफूलाई सुरक्षा चुनौती बढेको भन्दै निवेदन दिएका छन् । लेखा कर्मचारीहरूले अवैधानिक भुक्तानी दिन नमानेका कर्मचारीलाई जिम्मेवार व्यक्तिबाट सिध्याइ दिने भन्दै दिएको धम्की प्रति आपत्ति जनाउँदै तत्कालै दोषीलाई कारबाही नगरे पोखरा महानगरपालिकाका सम्पूर्ण आर्थिक कारोबार बन्द गर्ने समेत चेतावनी दिएका छन् । 

प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई ज्ञापन पत्र बुझाउँदै व्यक्तिगत सुरक्षाको प्रत्याभूति हुने गरी महानगरपालिकाका कानुन अधिकृत शर्मालाई तत्काल कारबाही प्रक्रिया अगाडि नबढाइएमा सम्पूर्ण आर्थिक कारोबार बन्द गर्न बाध्य हुने ज्ञापन पत्रमा उल्लेख छ ।

कानुन अधिकृत शर्माले छलफलका क्रममा रकम भुक्तानी नदिए सिध्याइ दिन्छु भन्दै धम्की दिएपछि  कार्तिक ३ गते कानुन अधिकृत शर्मालाई कारबाही गरिपाउँ भनी लेखा शाखा प्रमुख पौडेलले कार्यालयमा निवेदन दिएका थिए । तर, हालसम्म पनि कारबाहीको प्रक्रिया अगाडि नबढेपछि लेखा कर्मचारीहरू आन्दोलित भएका हुन् ।

तत्काल दोषीलाई कारबाहीको माग गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बराललाई १३ जना लेखाका कर्मचारीहरू मध्ये १२ जनाले संयुक्त रूपमा हस्ताक्षर गर्दै ज्ञापन पत्र बुझाएका हुन् । हस्ताक्षर गर्नेहरूमा वित्त महाशाखा प्रमुख जयराम पौडेल, लेखा अधिकृत आठौँ नारायणप्रसाद सुवेदी, लेखा अधिकृत सातौँ प्रवेश पौडेल, लेखा अधिकृत छैटौँ चन्द्रकान्त पौडेल, लेखा अधिकृत छैटौँ श्यामबहादुर पराजुली, लेखा अधिकृत पाँचौँ तहका रवीन्द्र अधिकारी, जुना रिजाल, गोविन्दप्रसाद देवकोटा, दयाराम विश्वकर्मा, तोरणबहादुर कुँवर, लक्ष्मी खनाल र मनदेवी गुरुङ रहेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत महेश बरालकै उपस्थितिमा उनकै कार्यकक्षमा गत कार्तिक ३ गते भएको छलफलका क्रममा अधिवक्ता कमलप्रसाद अर्यालको भुक्तानीका सम्बन्धमा भएको छलफलका क्रममा कानुन अधिकृत शर्माले लेखा शाखा प्रमुख पौडेलमाथि अपमानजनक, अमर्यादित शब्द प्रयोग गर्दै रकम भुक्तानी नदिए सिध्याइ दिन्छु भन्दै धम्की दिएको ज्ञापन पत्रमा उल्लेख छ । महानगरका सूचना अधिकारी भरतराज पौडेलले दुवै पक्षले निवेदन दिएकाले कार्यवाहक मेयरसहित  बसेर छलफल गर्न बाँकी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप