शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा सदस्य निर्वाचन चाँडै घोषणा हुन्छ : प्रधानमन्त्री देउवा

सोमबार, ०८ कात्तिक २०७८, १७ : ५५
सोमबार, ०८ कात्तिक २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९  राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले स्थानीय तहको आगामी निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त सदस्यको उपनिर्वाचन भने सत्ता साझेदार र अन्य दलसँगको छलफलपछि मात्र निष्कर्षमा पुग्ने जानकारी दिए ।

प्रधानमन्त्री देउवाले भने, “निर्वाचन प्रणालीमा सुधार र मतदाता नामावली दर्ता कार्यलाई प्रभावकारी बनाउन सरकारले सहयोग गर्ने छ ।”  प्रधानमन्त्रीसँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले गर्नुभएको भेटमा राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति तोक्ने लगायतका विषयमा छलफल भएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

 प्रधानमन्त्रीसँगको भेटमा स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानूनी व्यवस्था र प्रतिनिधिसभाका चार सदस्य तथा प्रदेशसभाका  १८  रिक्त सदस्यको उप निर्वाचनका विषयमा छलफल भएको थियो ।

निर्वाचनसम्बन्धी कानूनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानुनका विषयमा पनि सो अवसरमा छलफल भएको थियो । मतदाता नामावली दर्तालाई सहज र पहुँचयोग्य बनाउन स्थानीय तहका केन्द्रसम्म पुगी मतदाता नामावली सङ्कलन गर्ने तथा बाह्य जिल्लाका मतदाता नामावली दर्ताका विषयमा पनि छलफल भएको थियो ।

अदालतको आदेश अनुरुप विदेशमा रहेका नेपाली मतदाताको मतदान अधिकारसम्बन्धी कानूनी तथा प्राविधिक विषयमा पनि छलफल भएको आयोगले जनाएको छ । निर्वाचन आयोग र अन्तरगत कार्यालयको भौतिक सुधारका विषयमा पनि  छलफल भएको थियो ।

सो अवसरमा गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरालगायत उपस्थित रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप