शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नायिकाको व्यवसाय : घरजग्गा कारोबारदेखि रेस्टुरेन्टसम्म

सोमबार, ०८ कात्तिक २०७८, १६ : ४०
सोमबार, ०८ कात्तिक २०७८

हिरो, हिरोइन, निर्माता, निर्देशक हुन् वा गायन क्षेत्रका कयौँ सेलिब्रेटी अचेल फरक धन्दामा जोडिएका छन् । पछिल्लो समय महामारीको रूपमा फैलिएको कोरोनाले समेत उनीहरूलाई वैकल्पिक काममा जोडिन बाध्य पारेको छ । कलाकारिताको आम्दानीले जीवन सहज नहुने देखेर कतिपयले कोरोना महामारीभन्दा अगाडि नै वैकल्पिक काम थालेका छन् भने कोही कोरोना महामारीका कारण आम्दानी प्रभावित भएपछि अन्य पेसा तथा व्यवसायमा जोडिन बाध्य भएका छन् । कलाकारिता बाहेकका फरक काम गर्नेमा थुप्रै अभिनेत्री पनि छन् । उनीहरू रेस्टुरेन्ट, व्यापार व्यवसाय, घरजग्गा कारोबार लगायतमा आबद्ध भएका छन् ।

यस्ता छन् अभिनेत्रीका साइड बिजनेस

करिश्मा मानन्धर (अभिनेत्री) :

नेपाली फिल्म क्षेत्रमा सदाबहार अभिनेत्रीको छवि बनाएकी अभिनेत्री करिश्मा मानन्धरले केही अघि इलेक्ट्रोनिक्स सामानको व्यवसाय सुरु गरेकी छन् । इन्टेक्स ब्रान्डका इलेक्ट्रोनिक्स सामान नेपाली बजारमा पहिलो पटक भित्र्याएर उनले व्यवसाय थालेकी हुन् ।

रिसिक ट्रेडिङ कन्सर्नमार्फत उनी हरेक परिवारका लागि आवश्यक पर्ने इलेक्ट्रोनिक्स सामान उपलब्ध गराउने गर्दछिन् । अभिनयको अलावा जीविकोपार्जनका लागि अर्को काम पनि आवश्यक रहेकोले इलेक्ट्रोनिक्स बिजनेस थालेको उनको भनाइ छ । व्यवसायमा हात हाले पनि अभिनयलाई समेत निरन्तरता दिने उनले बताइन् ।

दीपाश्री निरौला (अभिनेत्री, निर्देशक) :

हिट फिल्म ‘छक्का पञ्जा’ सिरिजकी निर्देशकसमेत रहेकी अभिनेत्री दीपाश्री निरौलाले पछिल्लो समय अभिनेता दीपकराज गिरीसँग मिलेर नयाँ बानेश्वरमा एक फिल्म हल सञ्चालनमा ल्याउँदैछिन् । उक्त फिल्म हलको निर्माण कार्य जोडतोडले अगाडि बढिरहेको छ । त्यस्तै, लाजिम्पाट र नयाँ बानेश्वरस्थित ‘चिया अड्डा’ मा पनि उनको सहकार्य छ । फिल्म निर्माण, अभिनय र निर्देशनमा सक्रिय रहँदै आएकी उनी कलाकारिताको अलावा कलाकारकर्मीका लागि वैकल्पिक आम्दानीको बाटो आवश्यक रहेको बताउँछिन् ।

शिल्पा मास्के (अभिनेत्री) :

अभिनेत्री शिल्पा मास्केले पनि पछिल्लो समय रेस्टुरेन्ट व्यवसायमा आबद्ध छिन् । ललितपुरको कुपन्डोलमा उनको ‘दुक्दोसारङ’ नाम गरेको रेस्टुरेन्ट छ । हेमराज बिसी निर्देशित ‘ब्रेकअप’ बाट फिल्म अभिनयमा डेब्यु गरेकी उनी ‘कागजपत्र’मा पनि देखिएकी थिइन् । पछिल्लो समय रेस्टुरेन्ट व्यवसायको अलावा छोटा फिल्म, व्यावसायिक विज्ञापनमा पनि उनी व्यस्त छिन् । रेस्टुरेन्ट व्यवसायमा पहिलेदेखि नै रुचि रहेकाले यसमा आबद्ध भएको उनी बताउँछिन् ।

खुस्बु खड्का (अभिनेत्री) :

केही समय यता अभिनयबाट टाढा रहेकी अभिनेत्री खुस्बु खड्का स्वास्थ्य सामग्रीको व्यवसायका अलावा ‘रियलस्टेट’ लगायत काममा व्यस्त छिन् । कोरोना महामारीको समयमा विभिन्न स्थानमा मास्क र सेनिटाइजर निःशुल्क समेत बाँडेकी उनले समाज सेवाको क्रममा व्यक्ति तथा संस्थाले मास्क सप्लाईको डिमान्ड गरेका कारण यसैको व्यवसाय थालेकी हुन् ।

सिम्पल खालको मास्क सर्वसाधारणका लागि निःशुल्क उपलब्ध गराएकी उनले व्यवसायी तथा ठूलाबडाका लागि गुणस्तरीय मास्कको व्यवसाय गरेकी थिइन् । फेरि लकडाउनको हल्ला चलेसँगै उनी अहिले कोरियामा उत्पादन भएका मास्क नेपाल भित्र्याउने तरखरमा छिन् । फिल्म, म्युजिक भिडियो लगायतका गतिविधि भरपर्दाे नदेखेर आफु व्यवसायमा आबद्ध भएको उनी बताउँछिन् ।

वर्षा सिवाकोटी (अभिनेत्री) :

अभिनेता राज कटुवालसँगको प्रेमका कारण पछिल्लो समय वर्षा सिवाकोटी चर्चामा छिन् । अहिले राजसँगै नै दुबई भ्रमणमा रहेकी उनी पछिल्लो समय सौन्दर्य सम्बन्धी व्यवसायमा आबद्ध छिन् । नेपाल मेडिसिटी हस्पिटल अन्तर्गत रहेको स्किन सिटीको सिइओको रूपमा काम गर्दै रहेकी उनले छाला, कपाल तथा नङसँग सम्बन्धित काम गर्ने गर्दछिन् । उनी फिल्मको अलावा म्युजिक भिडियोमा समेत देखिँदै आएकी छन् ।

भावना गुरुङ (अभिनेत्री) :

अभिनेत्री भावना गुरुङ पछिल्लो समय घरजग्गा कारोबारमा व्यस्त छिन् । ‘स्वर्ग मेरो गाउँ’, ‘भुलिगए पाप लाग्ला’ जस्ता नेपाली चलचित्र र गुरुङ भाषाका केही फिल्ममा अभिनय गरेकी गुरुङले धेरै म्युजिक भिडियोमा अभिनय गरेकी छन् । दर्जनौं फेसन शो र विज्ञापन अभिनयपछि फिल्म अभिनयमा भित्रिएकी उनी नाम र चर्चाका लागि अभिनय, बाँच्नका लागि बिजनेस गरेको बताउँछिन् ।

नम्रता श्रेष्ठ (अभिनेत्री) :

थुप्रै हिट फिल्मकी अभिनेत्री नम्रता श्रेष्ठ पछिल्लो समय रेस्टुरेन्ट व्यवसायमा आबद्ध छिन् । उनले ज्ञानेश्वरमा ‘एटिक’ रेस्टुरेन्ट सञ्चालनमा ल्याएकी छन् । पहिले ठमेलमा पार्टनरसिपमा ‘एटिक’ रेस्टुरेन्ट सञ्चालन गरेकी उनले त्यसपछि ज्ञानेश्वरमा सुरु गरेकी हुन् । ‘सानो संसार’ फिल्मबाट अभिनय करिअर सुरु गरेकी नम्रता पछिल्लो समय निर्माताको रूपमा समेत चिनिएकी छन् । ‘मेरो एउटा साथी छ’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’ लगायत फिल्ममा अभिनय गरेकी उनी लभस्टोरी फिल्ममा भने राम्रोसँग जम्ने गरेकी छन् । उनले निर्माण गरेको फिल्म ‘सोल सिस्टर’ र ‘जाइरा’ हो । मोडलिङबाट करियर सुरु गरेपछि थिएटर हुँदै फिल्म अभिनयमा प्रवेश गरेकी नम्रता बेलाबेलामा प्रेम प्रसङ्गका कारण पनि चर्चामा रहने गर्दछिन् ।

पवित्रा आचार्य (अभिनेत्री) :

अभिनेत्री पवित्रा आचार्य पनि बुटिक तथा रेस्टुरेन्ट व्यवसायमा आबद्ध छिन् । धेरै पहिलेदेखि पार्टनरसिपमा रेस्टुरेन्ट चलाउँदै आएकी उनले बुटिक भने कोरोना महामारीपछि सुरु गरेकी हुन् । उनको बुटिकको नाम ‘नित्या बुटिक’ हो । यसको उनले अनलाइनबाट समेत कारोबार गरिरहेकी छन् । कलाकारितामा सधैँ एकनास काम र आम्दानी नहुने भएकाले रेगुलर आम्दानीका लागि व्यवसायमा आबद्ध भएको उनले बताइन् । उनी फिल्म, म्युजिक भिडियो अभिनयको अलावा कोरियोग्राफी समेत गर्दछिन् ।

वर्षा राउत (अभिनेत्री) :

अभिनेत्री वर्षा राउत पनि व्यवसायमा आबद्ध छिन् । वर्षाले दीपकराज गिरी, दीपाश्री निरौला र संजोग कोइरालासँगको सहकार्यमा लाजिम्पाटमा ‘चिया अड्डा’ नामक कफी सप सञ्चालनमा ल्याएकी छन् । सन् २०१८ मा नयाँ बानेश्वरस्थित शंखमूल जाने बाटोमा खुलेको ‘चिया अड्डा’ अहिले बन्द गरेर लाजिम्पाटमा र बानेश्वरको पानी ट्याङ्की नजिकै सुरु गरेकी छन् । वर्षा दरबारमार्गमा रहेको ‘गेजु’ चाइनिज रेष्टुरेन्टमा समेत आबद्ध छिन् । काम, टाइम पास र आम्दानी पनि हुने उद्देश्यले ‘चिया अड्डा’ लगायतमा आबद्ध भएको उनको भनाइ छ ।

केकी अधिकारी (अभिनेत्री) :

अभिनेत्री केकी अधिकारी पनि कलाकारिताको अलावा टेलिभिजन कार्यक्रम निर्माण गर्ने गर्दछिन् । बहुचर्चित टेलिभिजन रियालटी शो ‘कमेडी च्याम्पियन’को उनी निर्माता हुन् । अभिनेत्री, मोडलको अलावा उनी फिल्म निर्माताको रूपमा पनि चिनिएकी छन् । पछिल्लो समय उनले दीपक श्रेष्ठको निर्देशन रहेको फिल्म ‘घिन्ताङ’को अभिनय सकाएकी छन् ।

श्वेता खड्का (अभिनेत्री) :

अभिनेत्री श्वेता खड्का पनि कलाकारिताको अलावा बिजनेशमा आबद्ध छिन् । दरबारमार्गस्थित राइजिङ मलमा उनको ‘हिमालयन जाबा’ नामक रेस्टुरेन्ट छ । उनको अर्काे पेसा इन्टिरियल डिजाइनिङ पनि हो । उनको ‘अल्टिमोडिल’ भन्ने अनलाइन व्यवसाय पनि छ । यसको अलावा उनको पुतलीसडकस्थित स्टरमलमा ‘ट्रिकी एण्ड पिंक्सी’ भन्ने एक ट्रेनिङ सेन्टर पनि छ । उनी फिल्म अभिनयको अलावा निर्माण समेत गर्ने गर्दछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप