बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा ५ करोड ८१ लाख रुपैयाँ बराबरको धानखेती नष्ट

सोमबार, ०८ कात्तिक २०७८, १२ : ५०
सोमबार, ०८ कात्तिक २०७८

बेमौसमी वर्षाका कारण बागमती प्रदेशमा ५ करोड ८१ लाख रुपैयाँ बराबरको धानखेती नष्ट भएको छ । प्रदेशका विभिन्न जिल्लामा लगाइएको धानखेती मध्ये २ हजार ६८.६ मेट्रिक टन धान क्षति भएको बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गत साताबाट प्रदेशका विभिन्न जिल्लाको कृषि ज्ञान केन्द्र तथा स्थानीय तहबाट बेमौसमी वर्षाले कृषि क्षेत्रमा पुर्याएको क्षतिको विवरण संकलन गरिएको थियो । त्यस्तै बेमौसमी वर्षाले बागमती प्रदेशको ७ हजार ५ सय हेक्टरमा लगाइएको कृषि बालीमा असर गरे पनि क्षति जनाइएको छ ।

प्रदेशभर धान खेती गरिएको कुल एक लाख १३ हजार ८३ हेक्टर क्षेत्रफल मध्ये ५ सय ३० हेक्टरमा लगाइएको कृषि उपजहरुको मात्र क्षति विवरणको प्रारम्भिक अध्ययनबाट रिपोर्ट प्राप्त भएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताए ।

उनका अनुसार चितवनमा २ सय ९७, मकवानपुरमा ८०, धादिङमा ७५, रसुवामा १, सिन्धुलीमा ३३,  नुवाकोटमा ३० , रामेछापमा ५, दोलखामा ४, काभ्रे र सिन्धुपाल्चोकमा ३/३ हेक्टर क्षेत्रफलमा गरिएको धानमा क्षति पुगेको छ । 
वर्षाका कारण मकवानपुरमा ८७ लाख ६७ हजार २ सय रुपैयाँ, चितवनमा ३ करोड २५ लाख ३७ हजार रुपैयाँ, धादिङमा ८१ लाख ९७ हजार रुपैयाँ, नुवाकोटमा ३ करोड २४ लाख ९३ हजार रुपैयाँ, रसुवामा १ लाख ९ हजार, रामेछापमा ५ लाख ५४ हजार रुपैयाँ, रसुवामा ४ लाख ५ हजार, सिन्धुलीमा ३६ लाख ६४ हजार रुपैयाँ काभ्रे र सिन्धुपाल्चोकमा ३ लाख २८ हजार रुपैयाँ बराबरको धान खेती नष्ट भएको मन्त्रालयको तथ्याङ्क रहेको छ । 

किसानले खेतमा लगाएको धानमा राहत रकम उपलब्ध गराउने विषयमा छलफल गरी आवश्यक निर्णय लिइने उनले बताए । उक्त तथ्याङ्कका आधारमा मन्त्रालयले क्षति व्यहोरेका कृषकहरुलाई नीतिगत रुपमा राहत उपलब्ध गराउने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप