शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मसालमा लफडा कायमै : छलफलका लागि संस्थापनले राख्यो शर्त

सोमबार, ०८ कात्तिक २०७८, १० : ५२
सोमबार, ०८ कात्तिक २०७८

नेपाल कम्युनिस्ट पार्टी (मसाल) मा समानान्तर गतिविधि र एक पक्षले अर्को पक्षलाई कारवाही गर्न थालेपछि दुवै पक्षले वार्ता र संवादका लागि जुट्न आव्हान गरेका छन् । वार्ता र संवादबाट समस्याको समाधान नभए तत्कालीन नेकपाकै नियति भोग्न सक्ने खतरा पैदा भएको कतिपय नेता कार्यकर्ताले बताइरहेका बेला मसालको दुवै पक्ष वार्ताप्रति सकारात्मक भएका हुन् ।

संस्थापन पक्षका नेता विमल पोखरेलले पार्टीमा विधि पद्धति नमान्दा समस्या भएको बताए । नेकपा मसालको संस्थापन पक्षबाट विद्रोह गर्दै सन्तबहादुर नेपाली, कृष्ण पौडेल लगायतले विभिन्न प्रदेशमा समानान्तर गतिविधि गर्दै आएका छन् । यता संस्थापन पक्षका मनोज भट्ट र रामप्रकाश पुरी लगायतले पार्टीले कारवाही गरेकाहरूसँग वार्ता र सम्वादबाट समस्याको समाधान खोज्न सकिने बताएका छन् । तर संस्थापन पक्षले सामुहिक वार्ताको पहल नगरेको असन्तुष्ट पक्षको आरोप लगाउने गरेको छ ।

असन्तुष्ट पक्षका एक नेताका अनुसार विशेष महाधिवेशन बोलाएर समास्याको समाधान खोज्न संस्थापन पक्ष अनिच्छुक छ । ‘विधान विपरित विशेष महाधिवेशनको कुरा आएको सुनिएको छ । विधान विपरित कुनैपनि काम हुन सक्दैन’ संस्थापन पक्षका नेता पोखरेलको भनाइ छ ।

यसैबीच संस्थापन पक्षले कम्युनिस्ट आन्दोलनको एकतालाई सुदृढ राख्ने र पार्टीको क्रान्तिकारी भूमिकालाई सशक्त रूपमा अगाडि बढाउन पार्टीबाट निष्कासित वा फुटेर गएकाहरूलाई पुनः पार्टीमा ल्याउन वार्ता र भेटघाट गर्ने निर्णय गरेको छ ।

प्रवक्ता रामप्रकास पुरीले जारी गरेको विज्ञप्तिमा असन्तुष्टहरुसँगको वार्ता वा भेटघाट पार्टीको आठौँ महाधिवेशन वा त्यसपछि पार्टीबाट निष्कासित वा फुटेर गएका साथीहरूसँग गर्ने उल्लेख छ । ‘हामीले कुनै बेला पार्टीबाट निष्कासित भएका वा पार्टीबाट फुटेर गएका साथीहरूप्रति सँधैको लागि ढोकाबन्द वा पूर्वाग्रहयुक्त दृष्टिकोण अपनाउदैनौँ र हाम्रो प्रयत्न सँधै नै उनीहरूलाई पार्टीमा पुनः आवद्ध गर्नेतिर नै हुन्छ ।

अहिलेको वार्ता वा भेटघाटका पछाडि पनि हाम्रो त्यही प्रकारको दृष्टिकोणले काम गरेको छ’, पुरीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर मसालले पार्टी सदस्यका लागि उम्मेदवारीका लागि दरखास्त दिने बेलादेखि नै पार्टीका सबै उम्मेदवार सदस्य, सदस्य वा समर्थकहरू पनि पार्टीको जनवादी केन्द्रीयताको सिद्धान्त अनुसार बहुमत, महाधिवेशन वा उच्च समितिका निर्णय अन्तर्गत बस्नुपर्ने सर्त राखेको छ ।

‘उनीहरुलाई पार्टीमा आफ्नो मतभेद प्रकट गर्ने अधिकार हुन्छ तर कुनै पनि मतभेदलाई असम्बन्धित समिति वा सदस्यसम्म पुर्याउने , सार्वजनिक गर्ने, गुटबन्दी गर्ने वा कुनै पनि प्रकारको समानान्तर गतिविधि गर्ने अधिकार हुँदैन । त्यसैले अहिले जोसित हामीले वार्ता वा भेटघाट गरेर पार्टीमा ल्याउनको लागि पहल गर्ने निर्णय गरेका छौ, उनीहरूले ती सर्तहरू पालन गर्नु अनिवार्य हुनेछ र ती नियमहरूमा कुनै पनि छुट दिने प्रश्न आउँदैन । त्यो कुरालाई हामीले खुला शब्दमा स्पष्ट गर्न चाहान्छौँ’, विज्ञप्तिमा भनिएको छ ।  

मसालले वार्ता वा भेटघाट पार्टीबाट निष्कासित वा फुटेर गएकासँग  व्यक्तिगत वा समूहगत रूपमा पनि हुन सक्ने भएपनि कुनै वार्ता टोलीसित औपचारिक रूपमा भने नहुने जनाएको छ । मसालले पार्टीबाट निष्कासित वा फुटेर गएकासँग कुनै पूर्वाग्रह नराख्ने भन्दै पार्टीको विधान र अनुशासन पालन गर्ने प्रतिवद्धतासहित पार्टीमा प्रवेश गर्न बाटो विराएकाहरुलाई अनुरोध समेत गरेको छ ।

यता विद्रोही पक्षका नेताहरु कृष्णराज पौडेल, विमल शर्मा, गोविन्दसिंह थापा, रामबहादुर बुढा, ओमबहादुर केसी र सुरेन्द्र भण्डारीले संयुक्त वक्तव्य जारी गरेर पार्टी विवाद समाधान गर्न संस्थापनले गरेका वार्ताको पहललाई सकारात्मक ठान्दै विवाद समाधान गर्ने हो भने टेबलमा बस्नुपर्ने बताएको छ । ‘समस्याहरूको गहिराइमा पुग्न छलफल गर्नुपर्दछ । धेरै समस्याहरूको समाधान वार्ताबाट हुनसक्छ’, कारवाहीमा परेका ६ जना नेताहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘त्यसका साथै पार्टी र नेतृत्वद्वारा गरिएका सबै गलत पद्धति तथा नीतिहरूको विरोध गर्दै आठौ महाधिवेशनमा भिन्न मतको दस्तावेज प्रस्तुत गर्ने ६ जना केन्द्रीय सदस्यहरु समग्र विषयमा नेतृत्वसँग छलफल या वार्ता गरेर पार्टीलाई क्रान्तिकारी दिशा दिन तयार भएको जानकारी गराउन चाहान्छौ’ विद्रोही समूहले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप