मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई हेप्ने ? डिस हान्ने ?

सोमबार, ०८ कात्तिक २०७८, १४ : ३९
सोमबार, ०८ कात्तिक २०७८

‘हेप्ने ? डिस हान्ने ?’ भन्ने यो शब्दावली सामाजिक सञ्जाल, खास गरी टिकटकमा ट्रोल बनेको धेरै भइसक्यो । नेकपा एमालेका पूर्व मन्त्री गोकुल बाँस्कोटाको शब्द र स्वरमा भाइरल बनेको शब्दावली हो – हेप्नी ? डिस हान्ने ? म कोल्याप्स गर्दिन्छु नि फेरि !

अघिल्लो साता यस पंक्तिकारसँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलन र यसको नेतृत्वलाई हेप्ने, अपमान गर्ने र माओवादी पार्टीलाई नै सिध्याउन खोज्ने संसद्वादी शक्तिहरूले नियत राखेका कारण देश अगाडि बढ्न नसकेको विश्लेषण र गुनासो सुनाएका थिए ।

यो साता माओवादी अध्यक्ष प्रचण्ड फ्रेस हुनका लागि सिन्धुपाल्चोकको सुकुटे गएको  र त्यही भ्रमणकै क्रममा जीपलाइनमा सयर गरेको विषयले चर्चा पायो । देशभरि मानिसहरू बाढी पहिरोको चपेटामा परेका बेला प्रचण्ड जीपलाइनमा सरर भन्ने व्यहोराका समाचार, कार्टुन र व्यङ्ग्यहरू आए । सामाजिक सञ्जाल र मिडियामा प्रचण्डको चर्को आलोचना भयो ।

प्रचण्ड जीपलाइन चढेको विषयमा आएका आलोचनात्मक टिप्पणी सुनेपछि माओवादी कार्यकर्तामा आक्रोश देखिएको छ । ‘के प्रचण्डले जीपलाइनमा चढेर ठुलै अपराध गरेका हुन् र ? अनि, प्रचण्डले घरैमा खुम्चिएर बस्नुपर्ने हो त ?’ यस्ता खालका प्रश्न–प्रतिप्रश्नहरू पनि माओवादी पङ्क्तिबाट आएका छन् । समग्रमा प्रचण्डलाई हेपेर उनीमाथि यस्ता खालका आलोचनाहरू हुने गरेको र समग्र माओवादीलाई होच्याउन खोजिएको सो पार्टीका नेता–कार्यकर्ताहरूको बुझाइ देखिन्छ ।

के माओवादीलाई सोसाइटीले हेप्नै खोजेको हो त ? ‘डिस हान्न’ वा ‘कोल्याप्स’ नै गर्न खोजेको हो त ? माओवादी पेलानमा पर्न थालेकै हो ? स्वयं माओवादीका अध्यक्ष प्रचण्डले नै आफूहरूमाथि हेपाइ र अपमान बढेको महसुस गरेका हुन् भने यो प्रश्न स्वयंसिद्ध तथ्यबाटै प्रमाणित हुन्छ । बरु, बहस गर्नुपर्ने प्रश्नचाहिँ  के हो भने माओवादी पार्टी र यसका नेता प्रचण्ड किन हेपाइको शिकार हुन थालेका होलान् ? किन उनको विरोध, आलोचना र निन्दा बढिरहेको होला ? यो प्रश्नचाहिँ रोचक राजनीतिक विश्लेषणको पाटो हो ।

माओवादी आन्दोलन र यसका मुख्य नेता प्रचण्ड हेपाइमा पर्न थाल्नुका पछाडि माओवादी नेतृत्वका मूलतः ७ वटा कमजोरीहरूले काम गरेका छन् ।

१. शक्ति कमजोर हुनु

राजनीति त्यस्तो चिज हो, जसमा शक्तिलाई केन्द्र भागमा राखिन्छ । गुनासो गरेर, रोएर, यस्तो भएन र उस्तो भएन भनेर राजनीतिमा केही अर्थ हुँदैन । राजनीतिमा शक्ति आर्जन गर्नैपर्ने हुन्छ र लोकतन्त्रमा त्यो शक्तिको स्रोत जनता र जनमत नै हो । राजनीतिमा शक्ति भएन भने सबैले हेप्छन् ।

पहिलो संविधानसभा विघटनपछि माओवादीको शक्ति कमजोर भयो । त्यो अधोगतिको यात्रा अहिलेसम्म तीव्रगतिमा अगाडि बढिरहेकै छ । यसले गर्दा माओवादी पार्टी हेपाइ र पेलानमा पर्ने क्रम पनि थप तीव्र बनिरहेको छ । पहिलो र मुख्य चिज यो हो ।    

२. ट्रेजेडी अफ पावर

सत्ता वा पावरमा रहेको पार्टी वा व्यक्तिले सत्ताको वैभव गुमाउँदै गयो भने ऊभित्र एक प्रकारको ट्रेजेडी अर्थात् वियोगान्त मनोग्रन्थीको विकार उत्पन्न हुन्छ र यो एउटा गम्भीर मनोवैज्ञानिक समस्या बन्न जान्छ । यही भएर अमेरिकी राजनीतिशास्त्री एवं अन्तरराष्ट्रिय सम्बन्धका विश्लेषक जोन जोसेफ मियरसाइमरले ‘द ट्रेजेडी अफ ग्रेट पावर पोलिटिक्स’ भन्ने पुस्तक नै लेखेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र सो पार्टीका नेताहरूमा हिजोको सत्ता र शक्तिको झल्झली सम्झना छ । तर, आज कमजोर बन्नु पर्दाको वियोगान्त मनोविज्ञानले उनीहरूमा घर गरिरहेको छ । एकातिर शक्ति क्षय हुँदा हेपाइ खानुपर्ने राजनीतिको तीतो यथार्थ नै हो । अर्कोतर्फ, कमजोर बनेर हेपिनुपर्दाको मानसिक पीडा एवं छटपटी अर्को मनोवैज्ञानिक पक्ष हो । माओवादी नेतृत्वभित्र अहिले शक्तिहीनताका कारण खेप्नुपरेको हेपाइको भौतिक पक्ष त छँदैछ, त्यसमाथि घाउमा नुन छर्केजस्तै गरी पोल्ने वियोगान्त मनोविज्ञान पनि विकसित भइरहेको छ । पदार्थले चेतनाको विकास गर्छ भनेजस्तै शक्तिको क्षयीकरणले वियोगान्त छटपटी उत्पन्न गराइरहेको देखिन्छ ।     

आखिर प्रचण्ड किन एक्लिए त ? आफ्ना नजिकका सहयात्रीले किन उनको साथ छाड्दै गए ? यो बेग्लै विश्लेषणको पाटो हो । तर, प्रचण्ड पछिल्लो समय एक्लिँदै गएको चाहिँ सत्य हो । शायद उनी एक्लिनु र कमजोर बन्नुमा उनका आफ्नै सीमा र कार्यशैलीले पनि काम गरेका छन् । र, यसमा माओवादी आन्दोलनलाई कमजोर पार्न चाहने शक्तिहरूको प्रहारले समेत काम गरेको छ, जुन राजनीतिमा अस्वाभाविक मानिँदैन ।

३. एक्लिँदै जानु

पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्ड एक्लिँदै गएका छन् । सँगै बसेर रुने साथीसमेत घट्दै गएका छन् । श्रीमती बोल्न नसक्ने गम्भीर बिरामी अवस्थामा छिन् । हिजोका साथीहरू डा. बाबुराम भट्टराईले पनि छाडेर हिँडे । मोहन वैद्यले छाडे । विप्लवले छाडे । हुँदा–हुँदा स्कुले साथी बादलले पनि छाडे । यी शीर्षनेतासँगै सीपी गजुरेल, हरिभक्त कँडेल, हेमन्तप्रकाश ओली, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, गोपाल किराँती लगायतका धेरै मानिसहरू जिउँदैछन्, तर प्रचण्डसँग छैनन् ।

प्रचण्डले ०७४ को चुनावपछि केपी ओलीसँग पार्टी एकता गरेर नयाँ ‘साथी’ बनाएका थिए । ओली, झलनाथ, माधव नेपाल, वामदेव गौतम आदि नेताहरूसँग हुँदा प्रचण्डले एक्लो महसुस गर्नुपरेको थिएन । उनले देशभर जता गए पनि एमालेका नेता–कार्यकर्ताको सम्मान र साथ पाएकै थिए, जसले गर्दा एक्लोपनको अनुभूति भएको थिएन । शायद अहिले उनलाई एक्लिएको महसुस हुन थालेको छ । एक्लोपनले मानिसलाई असुरक्षित महसुस गराउँछ र उसले आफूमाथि चौतर्फी विभेद, अपमान र घेराबन्दी हुन थालेको महसुस गर्छ ।

आखिर प्रचण्ड किन एक्लिए त ? आफ्ना नजिकका सहयात्रीले किन उनको साथ छाड्दै गए ? यो बेग्लै विश्लेषणको पाटो हो । तर, प्रचण्ड पछिल्लो समय एक्लिँदै गएको चाहिँ सत्य हो । शायद उनी एक्लिनु र कमजोर बन्नुमा उनका आफ्नै सीमा र कार्यशैलीले पनि काम गरेका छन् । र, यसमा माओवादी आन्दोलनलाई कमजोर पार्न चाहने शक्तिहरूको प्रहारले समेत काम गरेको छ, जुन राजनीतिमा अस्वाभाविक मानिँदैन । तर, द्वन्द्ववादले भन्छ– बाहिरी कारण सहायक मात्र हुन्छ, भित्री कारण नै निर्णायक हुन्छ ।

४. आदर्श छाडेर टालटुले राजनीतिमा रम्नु

पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डले आफ्नै बलबुतामा आफ्नो पार्टीलाई देशको वैकल्पिक शक्ति बनाउँछु भनेर सोचेनन् । उनी माओवादी धारलाई एमालेमा मिसाएर शक्ति आर्जन गर्न सकिन्छ भन्ने भ्रममा परे । सके केपी ओलीसँगै मिलेर सफल हुने, नभए माधव–झलनाथहरुसँग मिलेर शक्तिशाली हुने उनले सोचे । यो प्रचण्डको भ्रम थियो ।

अहिले पनि प्रचण्डले आफ्नै पार्टीलाई बलियो बनाउने, निश्चित निर्वाचन क्षेत्रमा आफ्नो पोजिसन बलियो पार्ने, पार्टीभित्रको आन्तरिक अविश्वास र कलहलाई हल गर्ने र काँग्रेस–एमालेको विकल्पमा नयाँ विचार र आचरणसहितको पार्टी बनाउने भन्दा पनि कहिले एमालेको त कहिले काँग्रेसको पुच्छर समातेर अघि बढ्ने पुच्छरवादी नीति नै लिइरहेको देखिन्छ ।

प्रचण्ड अझै पनि आफ्नो पार्टीको भन्दा माधव नेपालको बढी चिन्ता गरेर हिँडिरहेको देखिन्छ । देउवाले गजेन्द्र हमाललाई मन्त्री बनाउँदा त्यसलाई बेठीक भन्नुको साटो प्रचण्डले हमालको बचाऊ गर्दै हिँडिरहेको देखिन्छ । यसरी आफ्नो पहिचान, आदर्श, विचार र निष्ठाबाट विचलित हुँदै एमाले–काँग्रेसको पुच्छर समातेर वैतरणी तर्न खोजेपछि प्रचण्ड थप कमजोर बनेका हुन् । कमजोर बनेपछि अरूले हेप्ने ननै भइहाले ।

के प्रचण्ड आगामी चुनावमा काँग्रेस वा एमालेसँग गठबन्धन नगरी लड्न तयार छन् ? के उनी हार्ने सम्भावना देख्दादेख्दै पनि आफ्नै क्षेत्रबाट निर्वाचन लड्न तयार छन् ? उनी आफ्नै संगठनको बलमा स्वतन्त्र राजनीति गर्न तयार छन् ? के माओवादीले आगामी निर्वाचन हार्‍यो भने पनि ५/६ वर्षपछि पुनः जनताको विश्वास जित्न सकिन्छ भन्ने नेतामा हुनुपर्ने धैर्यता र दूरदर्शिता प्रचण्डमा छ ? यदि यस्तो हुन्थ्यो भने माओवादी नेताहरूमा अहिलेको जस्तो छटपटी र अधैर्यता देखापर्ने नै थिएन । अधैर्य नबनेपछि अरूले हेप्न सक्ने कुरा पनि भएन ।

५. परनिर्भर बन्नु

पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डले आत्मनिर्णयको क्षमता गुमाउँदै गएका छन् । सबैलाई मिलाएर अघि बढ्न खोज्दा उनी क्रान्तिकारी हैन, सम्झौतापरस्त नेता बन्न थालेका छन् । राष्ट्रिय हितका कतिपय मुद्दाहरूमा भारत रिसाउँछ कि भनेर बोल्न नसक्ने, चीनलाई खुसी बनाउन खोज्ने, काँग्रेसले गरेका गल्ती कमजोरीको आलोचना गर्नु त कता हो कता, उल्टै बचाउमा बोल्ने यी सबै कर्महरूले प्रचण्डको क्रान्तिकारिता भुत्ते भइसकेको छ । हिजो केपी ओलीसँग मिलेका बेलामा पनि कैयौँ त्यस्ता विषयमाहरुमा प्रचण्डले सङ्घर्ष हैन, सम्झौताको नीति लिएको देखिन्थ्यो ।

यसरी, सबैतिरबाट बाँधिएको परनिर्भर नेतासँग न ‘अपिलिङ’ क्षमता बाँकी रहन्छ, न त जनअपेक्षा नै । बरु एउटा नेता आफ्नो सत्त्व गुमाएर रुग्ण कम्पनीको म्यानेजरजस्तो मात्र बन्न पुग्छ । जबकि म्यानेजर र नेतामा फरक हुनुपर्छ ।       

देशभरि बाढी पहिरोको चपेटामा परेका बेला प्रचण्ड सुकुटे किन गए ? फ्रेस हुन । फ्रेस किन हुनुपर्ने भयो ? टेन्सन भएर । टेन्सन किन भयो ? संगठनको व्यवहार नमिलेर । व्यवहार किन मिलेन ? काम गर्ने तरिका नभएर । काम गर्ने तरिका किन मिलेर एक्लो बुद्धिमा चल्न खोजेर । यी सबै अन्तरसम्बन्धित विषय हो ।

६. असक्षम संगठनको सहारा

प्रचण्डले यतिबेला आफ्ना भाषणहरूमा माओवादी पार्टी पुनः शक्तिमा उदाउने दाबी गर्दै आएका छन् । हुन पनि अघिल्लो चुनावमा १३ लाख मत ल्याएको यो पार्टीले ५–६ लाख मत ल्याउने सम्भावना यही चुनावमै सकिइसकेको स्थिति पनि होइन । कर्णाली, राप्ती, बाग्मती र मधेसका केही १२–१५ स्थानको प्रत्यक्ष चुनावबाटै हात धोएर शून्य सीटमै चित्त बुझाउनुपर्ने स्थिति पनि आइहालेको होइन । तर, प्रचण्डले अहिले जस्ता नेता–कार्यकर्ताको भर पर्नुपरेको छ, तिनले अहिलेको आवश्यकतालाई सम्बोधन गर्न मुस्किल छ ।

झापामा आइतबार केपी शर्मा ओलीले आफ्ना बुबाको गोडा ढोगेको तस्बिर खिचाए । त्यो तस्बिर एमाले कार्यकर्ताले ‘संस्कारी नेता’ फेसबुकबाट सार्वजनिक गरे । ओलीका कार्यकर्ताले यस्तो मिडियाबाजी गरिरहँदा त्यही झापाको माओवादी प्रमुखले चाहिँ आफ्नै घर परिवारमा झगडा गरिरहेको अवस्था छ । त्यस्ता नेताहरूको सहारा लिएर केपी ओलीसँग प्रचण्डले कसरी प्रतिस्पर्धा गर्लान् ?

जनयुद्ध लडेको भन्दैमा त्यसको ब्याजले मात्रै अहिलेको संगठन चल्दैन । अहिलेको आवश्यकतालाई सम्बोधन गर्न सक्ने टिम चाहिन्छ, जुन प्रचण्डसँग छैन । नयाँ पुस्ता भनिएका विद्यार्थीले सम्मेलनमा कुर्सी हानाहान गरेको देखिएकै हो । मन्त्री बनाएका नेताहरूलाई खरदारजस्तो दैनिक कार्यालय जाने, खादा ओढ्ने र साँझ घर फर्कने गर्दैमा ठिक्क छ ।

७. सामूहिक बुद्धिको प्रयोग नगर्नु

एउटा नेताले आफू सफल हुनका लागि सामूहिक बुद्धिमा चल्नुपर्छ । कुनै पनि निर्णय गर्ने बेलामा सामूहिकताका आधारमा अघि बढियो भने गलत निर्णय हुनबाट समयमै बच्न सकिन्छ । सामूहिक निर्णयबाट सही निर्णयहरू गर्न सकिन्छ । तर, माओवादी अध्यक्ष प्रचण्ड र उनको सचिवालय हेर्दाखेरि उनी नितान्त व्यक्तिवादी र परिवारवादी घेराबाट चल्न खोजेको देखिन्छ ।

जस्तो– देशभरि बाढी पहिरोको चपेटामा परेका बेला प्रचण्ड सुकुटे किन गए ? फ्रेस हुन । फ्रेस किन हुनुपर्ने भयो ? टेन्सन भएर । टेन्सन किन भयो ? संगठनको व्यवहार नमिलेर । व्यवहार किन मिलेन ? काम गर्ने तरिका नभएर । काम गर्ने तरिका किन मिलेर एक्लो बुद्धिमा चल्न खोजेर । यी सबै अन्तरसम्बन्धित विषय हो ।

प्रचण्डले आफ्नो सचिवालय वैज्ञानिक बनाउन सकेका छैनन् । त्यत्रो परिवर्तनको नेतृत्व गरेर आएका प्रचण्डको सचिवालय दक्षिण एशियाकै लोभलाग्दो हुनुपर्नेमा विरक्तलाग्दो छ । माओवादीको एउटा स्थायी कमिटीको सदस्य वा केन्द्रीय सदस्य भन्दा उननको एकजना ज्वाइँ शक्तिशाली र प्रभावकारी हुनु यसैको द्योतक हो । सामूहिक बुद्धिको प्रयोग नगर्नु र जनता बाढी पहिरोको चपेटामा परेका बेला जीप लाइनमा चढ्नु यसको शानदार दृष्टान्त हो ।

पार्टी नेताहरूको सरसल्लाह र सामूहिकताका आधारमा हिँडिदिएको भए प्रचण्ड त्यो दिन चितवनमा आफ्नो निर्वाचन क्षेत्रका जनतासँग दुःख–सुख साटिरहेका हुने थिए । टेन्सन भयो भनेर सुकुटेतिर लाग्ने नै थिएनन् । तनावमा नपरेको भए बाढी आएका बेला फ्रेस हुन भन्दै सुकुटे जानुपर्ने नै थिएन । अरुकै लहैलहैमा लागेर जीपलाइन चढ्नुपर्ने नै थिएन । जनताको बीचमा जाने, दुःख–सुख साट्ने र त्यहीँ रमाउने स्थिति आउन सक्थ्यो ।

अनि, माओवादी कार्यकर्ताहरूले ‘प्रचण्डलाई हेप्ने ? डिस हान्ने ?’ भन्दै सामाजिक सञ्जालमा रुनुपर्ने थिएन कि ?      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अरुण बराल
अरुण बराल
लेखकबाट थप