

‘हेप्ने ? डिस हान्ने ?’ भन्ने यो शब्दावली सामाजिक सञ्जाल, खास गरी टिकटकमा ट्रोल बनेको धेरै भइसक्यो । नेकपा एमालेका पूर्व मन्त्री गोकुल बाँस्कोटाको शब्द र स्वरमा भाइरल बनेको शब्दावली हो – हेप्नी ? डिस हान्ने ? म कोल्याप्स गर्दिन्छु नि फेरि !
अघिल्लो साता यस पंक्तिकारसँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलन र यसको नेतृत्वलाई हेप्ने, अपमान गर्ने र माओवादी पार्टीलाई नै सिध्याउन खोज्ने संसद्वादी शक्तिहरूले नियत राखेका कारण देश अगाडि बढ्न नसकेको विश्लेषण र गुनासो सुनाएका थिए ।
यो साता माओवादी अध्यक्ष प्रचण्ड फ्रेस हुनका लागि सिन्धुपाल्चोकको सुकुटे गएको र त्यही भ्रमणकै क्रममा जीपलाइनमा सयर गरेको विषयले चर्चा पायो । देशभरि मानिसहरू बाढी पहिरोको चपेटामा परेका बेला प्रचण्ड जीपलाइनमा सरर भन्ने व्यहोराका समाचार, कार्टुन र व्यङ्ग्यहरू आए । सामाजिक सञ्जाल र मिडियामा प्रचण्डको चर्को आलोचना भयो ।
प्रचण्ड जीपलाइन चढेको विषयमा आएका आलोचनात्मक टिप्पणी सुनेपछि माओवादी कार्यकर्तामा आक्रोश देखिएको छ । ‘के प्रचण्डले जीपलाइनमा चढेर ठुलै अपराध गरेका हुन् र ? अनि, प्रचण्डले घरैमा खुम्चिएर बस्नुपर्ने हो त ?’ यस्ता खालका प्रश्न–प्रतिप्रश्नहरू पनि माओवादी पङ्क्तिबाट आएका छन् । समग्रमा प्रचण्डलाई हेपेर उनीमाथि यस्ता खालका आलोचनाहरू हुने गरेको र समग्र माओवादीलाई होच्याउन खोजिएको सो पार्टीका नेता–कार्यकर्ताहरूको बुझाइ देखिन्छ ।
के माओवादीलाई सोसाइटीले हेप्नै खोजेको हो त ? ‘डिस हान्न’ वा ‘कोल्याप्स’ नै गर्न खोजेको हो त ? माओवादी पेलानमा पर्न थालेकै हो ? स्वयं माओवादीका अध्यक्ष प्रचण्डले नै आफूहरूमाथि हेपाइ र अपमान बढेको महसुस गरेका हुन् भने यो प्रश्न स्वयंसिद्ध तथ्यबाटै प्रमाणित हुन्छ । बरु, बहस गर्नुपर्ने प्रश्नचाहिँ के हो भने माओवादी पार्टी र यसका नेता प्रचण्ड किन हेपाइको शिकार हुन थालेका होलान् ? किन उनको विरोध, आलोचना र निन्दा बढिरहेको होला ? यो प्रश्नचाहिँ रोचक राजनीतिक विश्लेषणको पाटो हो ।
माओवादी आन्दोलन र यसका मुख्य नेता प्रचण्ड हेपाइमा पर्न थाल्नुका पछाडि माओवादी नेतृत्वका मूलतः ७ वटा कमजोरीहरूले काम गरेका छन् ।
१. शक्ति कमजोर हुनु
राजनीति त्यस्तो चिज हो, जसमा शक्तिलाई केन्द्र भागमा राखिन्छ । गुनासो गरेर, रोएर, यस्तो भएन र उस्तो भएन भनेर राजनीतिमा केही अर्थ हुँदैन । राजनीतिमा शक्ति आर्जन गर्नैपर्ने हुन्छ र लोकतन्त्रमा त्यो शक्तिको स्रोत जनता र जनमत नै हो । राजनीतिमा शक्ति भएन भने सबैले हेप्छन् ।
पहिलो संविधानसभा विघटनपछि माओवादीको शक्ति कमजोर भयो । त्यो अधोगतिको यात्रा अहिलेसम्म तीव्रगतिमा अगाडि बढिरहेकै छ । यसले गर्दा माओवादी पार्टी हेपाइ र पेलानमा पर्ने क्रम पनि थप तीव्र बनिरहेको छ । पहिलो र मुख्य चिज यो हो ।
२. ट्रेजेडी अफ पावर
सत्ता वा पावरमा रहेको पार्टी वा व्यक्तिले सत्ताको वैभव गुमाउँदै गयो भने ऊभित्र एक प्रकारको ट्रेजेडी अर्थात् वियोगान्त मनोग्रन्थीको विकार उत्पन्न हुन्छ र यो एउटा गम्भीर मनोवैज्ञानिक समस्या बन्न जान्छ । यही भएर अमेरिकी राजनीतिशास्त्री एवं अन्तरराष्ट्रिय सम्बन्धका विश्लेषक जोन जोसेफ मियरसाइमरले ‘द ट्रेजेडी अफ ग्रेट पावर पोलिटिक्स’ भन्ने पुस्तक नै लेखेका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड र सो पार्टीका नेताहरूमा हिजोको सत्ता र शक्तिको झल्झली सम्झना छ । तर, आज कमजोर बन्नु पर्दाको वियोगान्त मनोविज्ञानले उनीहरूमा घर गरिरहेको छ । एकातिर शक्ति क्षय हुँदा हेपाइ खानुपर्ने राजनीतिको तीतो यथार्थ नै हो । अर्कोतर्फ, कमजोर बनेर हेपिनुपर्दाको मानसिक पीडा एवं छटपटी अर्को मनोवैज्ञानिक पक्ष हो । माओवादी नेतृत्वभित्र अहिले शक्तिहीनताका कारण खेप्नुपरेको हेपाइको भौतिक पक्ष त छँदैछ, त्यसमाथि घाउमा नुन छर्केजस्तै गरी पोल्ने वियोगान्त मनोविज्ञान पनि विकसित भइरहेको छ । पदार्थले चेतनाको विकास गर्छ भनेजस्तै शक्तिको क्षयीकरणले वियोगान्त छटपटी उत्पन्न गराइरहेको देखिन्छ ।
३. एक्लिँदै जानु
पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्ड एक्लिँदै गएका छन् । सँगै बसेर रुने साथीसमेत घट्दै गएका छन् । श्रीमती बोल्न नसक्ने गम्भीर बिरामी अवस्थामा छिन् । हिजोका साथीहरू डा. बाबुराम भट्टराईले पनि छाडेर हिँडे । मोहन वैद्यले छाडे । विप्लवले छाडे । हुँदा–हुँदा स्कुले साथी बादलले पनि छाडे । यी शीर्षनेतासँगै सीपी गजुरेल, हरिभक्त कँडेल, हेमन्तप्रकाश ओली, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, गोपाल किराँती लगायतका धेरै मानिसहरू जिउँदैछन्, तर प्रचण्डसँग छैनन् ।
प्रचण्डले ०७४ को चुनावपछि केपी ओलीसँग पार्टी एकता गरेर नयाँ ‘साथी’ बनाएका थिए । ओली, झलनाथ, माधव नेपाल, वामदेव गौतम आदि नेताहरूसँग हुँदा प्रचण्डले एक्लो महसुस गर्नुपरेको थिएन । उनले देशभर जता गए पनि एमालेका नेता–कार्यकर्ताको सम्मान र साथ पाएकै थिए, जसले गर्दा एक्लोपनको अनुभूति भएको थिएन । शायद अहिले उनलाई एक्लिएको महसुस हुन थालेको छ । एक्लोपनले मानिसलाई असुरक्षित महसुस गराउँछ र उसले आफूमाथि चौतर्फी विभेद, अपमान र घेराबन्दी हुन थालेको महसुस गर्छ ।
आखिर प्रचण्ड किन एक्लिए त ? आफ्ना नजिकका सहयात्रीले किन उनको साथ छाड्दै गए ? यो बेग्लै विश्लेषणको पाटो हो । तर, प्रचण्ड पछिल्लो समय एक्लिँदै गएको चाहिँ सत्य हो । शायद उनी एक्लिनु र कमजोर बन्नुमा उनका आफ्नै सीमा र कार्यशैलीले पनि काम गरेका छन् । र, यसमा माओवादी आन्दोलनलाई कमजोर पार्न चाहने शक्तिहरूको प्रहारले समेत काम गरेको छ, जुन राजनीतिमा अस्वाभाविक मानिँदैन । तर, द्वन्द्ववादले भन्छ– बाहिरी कारण सहायक मात्र हुन्छ, भित्री कारण नै निर्णायक हुन्छ ।
४. आदर्श छाडेर टालटुले राजनीतिमा रम्नु
पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डले आफ्नै बलबुतामा आफ्नो पार्टीलाई देशको वैकल्पिक शक्ति बनाउँछु भनेर सोचेनन् । उनी माओवादी धारलाई एमालेमा मिसाएर शक्ति आर्जन गर्न सकिन्छ भन्ने भ्रममा परे । सके केपी ओलीसँगै मिलेर सफल हुने, नभए माधव–झलनाथहरुसँग मिलेर शक्तिशाली हुने उनले सोचे । यो प्रचण्डको भ्रम थियो ।
अहिले पनि प्रचण्डले आफ्नै पार्टीलाई बलियो बनाउने, निश्चित निर्वाचन क्षेत्रमा आफ्नो पोजिसन बलियो पार्ने, पार्टीभित्रको आन्तरिक अविश्वास र कलहलाई हल गर्ने र काँग्रेस–एमालेको विकल्पमा नयाँ विचार र आचरणसहितको पार्टी बनाउने भन्दा पनि कहिले एमालेको त कहिले काँग्रेसको पुच्छर समातेर अघि बढ्ने पुच्छरवादी नीति नै लिइरहेको देखिन्छ ।
प्रचण्ड अझै पनि आफ्नो पार्टीको भन्दा माधव नेपालको बढी चिन्ता गरेर हिँडिरहेको देखिन्छ । देउवाले गजेन्द्र हमाललाई मन्त्री बनाउँदा त्यसलाई बेठीक भन्नुको साटो प्रचण्डले हमालको बचाऊ गर्दै हिँडिरहेको देखिन्छ । यसरी आफ्नो पहिचान, आदर्श, विचार र निष्ठाबाट विचलित हुँदै एमाले–काँग्रेसको पुच्छर समातेर वैतरणी तर्न खोजेपछि प्रचण्ड थप कमजोर बनेका हुन् । कमजोर बनेपछि अरूले हेप्ने ननै भइहाले ।
के प्रचण्ड आगामी चुनावमा काँग्रेस वा एमालेसँग गठबन्धन नगरी लड्न तयार छन् ? के उनी हार्ने सम्भावना देख्दादेख्दै पनि आफ्नै क्षेत्रबाट निर्वाचन लड्न तयार छन् ? उनी आफ्नै संगठनको बलमा स्वतन्त्र राजनीति गर्न तयार छन् ? के माओवादीले आगामी निर्वाचन हार्यो भने पनि ५/६ वर्षपछि पुनः जनताको विश्वास जित्न सकिन्छ भन्ने नेतामा हुनुपर्ने धैर्यता र दूरदर्शिता प्रचण्डमा छ ? यदि यस्तो हुन्थ्यो भने माओवादी नेताहरूमा अहिलेको जस्तो छटपटी र अधैर्यता देखापर्ने नै थिएन । अधैर्य नबनेपछि अरूले हेप्न सक्ने कुरा पनि भएन ।
५. परनिर्भर बन्नु
पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डले आत्मनिर्णयको क्षमता गुमाउँदै गएका छन् । सबैलाई मिलाएर अघि बढ्न खोज्दा उनी क्रान्तिकारी हैन, सम्झौतापरस्त नेता बन्न थालेका छन् । राष्ट्रिय हितका कतिपय मुद्दाहरूमा भारत रिसाउँछ कि भनेर बोल्न नसक्ने, चीनलाई खुसी बनाउन खोज्ने, काँग्रेसले गरेका गल्ती कमजोरीको आलोचना गर्नु त कता हो कता, उल्टै बचाउमा बोल्ने यी सबै कर्महरूले प्रचण्डको क्रान्तिकारिता भुत्ते भइसकेको छ । हिजो केपी ओलीसँग मिलेका बेलामा पनि कैयौँ त्यस्ता विषयमाहरुमा प्रचण्डले सङ्घर्ष हैन, सम्झौताको नीति लिएको देखिन्थ्यो ।
यसरी, सबैतिरबाट बाँधिएको परनिर्भर नेतासँग न ‘अपिलिङ’ क्षमता बाँकी रहन्छ, न त जनअपेक्षा नै । बरु एउटा नेता आफ्नो सत्त्व गुमाएर रुग्ण कम्पनीको म्यानेजरजस्तो मात्र बन्न पुग्छ । जबकि म्यानेजर र नेतामा फरक हुनुपर्छ ।
देशभरि बाढी पहिरोको चपेटामा परेका बेला प्रचण्ड सुकुटे किन गए ? फ्रेस हुन । फ्रेस किन हुनुपर्ने भयो ? टेन्सन भएर । टेन्सन किन भयो ? संगठनको व्यवहार नमिलेर । व्यवहार किन मिलेन ? काम गर्ने तरिका नभएर । काम गर्ने तरिका किन मिलेर एक्लो बुद्धिमा चल्न खोजेर । यी सबै अन्तरसम्बन्धित विषय हो ।
६. असक्षम संगठनको सहारा
प्रचण्डले यतिबेला आफ्ना भाषणहरूमा माओवादी पार्टी पुनः शक्तिमा उदाउने दाबी गर्दै आएका छन् । हुन पनि अघिल्लो चुनावमा १३ लाख मत ल्याएको यो पार्टीले ५–६ लाख मत ल्याउने सम्भावना यही चुनावमै सकिइसकेको स्थिति पनि होइन । कर्णाली, राप्ती, बाग्मती र मधेसका केही १२–१५ स्थानको प्रत्यक्ष चुनावबाटै हात धोएर शून्य सीटमै चित्त बुझाउनुपर्ने स्थिति पनि आइहालेको होइन । तर, प्रचण्डले अहिले जस्ता नेता–कार्यकर्ताको भर पर्नुपरेको छ, तिनले अहिलेको आवश्यकतालाई सम्बोधन गर्न मुस्किल छ ।
झापामा आइतबार केपी शर्मा ओलीले आफ्ना बुबाको गोडा ढोगेको तस्बिर खिचाए । त्यो तस्बिर एमाले कार्यकर्ताले ‘संस्कारी नेता’ फेसबुकबाट सार्वजनिक गरे । ओलीका कार्यकर्ताले यस्तो मिडियाबाजी गरिरहँदा त्यही झापाको माओवादी प्रमुखले चाहिँ आफ्नै घर परिवारमा झगडा गरिरहेको अवस्था छ । त्यस्ता नेताहरूको सहारा लिएर केपी ओलीसँग प्रचण्डले कसरी प्रतिस्पर्धा गर्लान् ?
जनयुद्ध लडेको भन्दैमा त्यसको ब्याजले मात्रै अहिलेको संगठन चल्दैन । अहिलेको आवश्यकतालाई सम्बोधन गर्न सक्ने टिम चाहिन्छ, जुन प्रचण्डसँग छैन । नयाँ पुस्ता भनिएका विद्यार्थीले सम्मेलनमा कुर्सी हानाहान गरेको देखिएकै हो । मन्त्री बनाएका नेताहरूलाई खरदारजस्तो दैनिक कार्यालय जाने, खादा ओढ्ने र साँझ घर फर्कने गर्दैमा ठिक्क छ ।
७. सामूहिक बुद्धिको प्रयोग नगर्नु
एउटा नेताले आफू सफल हुनका लागि सामूहिक बुद्धिमा चल्नुपर्छ । कुनै पनि निर्णय गर्ने बेलामा सामूहिकताका आधारमा अघि बढियो भने गलत निर्णय हुनबाट समयमै बच्न सकिन्छ । सामूहिक निर्णयबाट सही निर्णयहरू गर्न सकिन्छ । तर, माओवादी अध्यक्ष प्रचण्ड र उनको सचिवालय हेर्दाखेरि उनी नितान्त व्यक्तिवादी र परिवारवादी घेराबाट चल्न खोजेको देखिन्छ ।
जस्तो– देशभरि बाढी पहिरोको चपेटामा परेका बेला प्रचण्ड सुकुटे किन गए ? फ्रेस हुन । फ्रेस किन हुनुपर्ने भयो ? टेन्सन भएर । टेन्सन किन भयो ? संगठनको व्यवहार नमिलेर । व्यवहार किन मिलेन ? काम गर्ने तरिका नभएर । काम गर्ने तरिका किन मिलेर एक्लो बुद्धिमा चल्न खोजेर । यी सबै अन्तरसम्बन्धित विषय हो ।
प्रचण्डले आफ्नो सचिवालय वैज्ञानिक बनाउन सकेका छैनन् । त्यत्रो परिवर्तनको नेतृत्व गरेर आएका प्रचण्डको सचिवालय दक्षिण एशियाकै लोभलाग्दो हुनुपर्नेमा विरक्तलाग्दो छ । माओवादीको एउटा स्थायी कमिटीको सदस्य वा केन्द्रीय सदस्य भन्दा उननको एकजना ज्वाइँ शक्तिशाली र प्रभावकारी हुनु यसैको द्योतक हो । सामूहिक बुद्धिको प्रयोग नगर्नु र जनता बाढी पहिरोको चपेटामा परेका बेला जीप लाइनमा चढ्नु यसको शानदार दृष्टान्त हो ।
पार्टी नेताहरूको सरसल्लाह र सामूहिकताका आधारमा हिँडिदिएको भए प्रचण्ड त्यो दिन चितवनमा आफ्नो निर्वाचन क्षेत्रका जनतासँग दुःख–सुख साटिरहेका हुने थिए । टेन्सन भयो भनेर सुकुटेतिर लाग्ने नै थिएनन् । तनावमा नपरेको भए बाढी आएका बेला फ्रेस हुन भन्दै सुकुटे जानुपर्ने नै थिएन । अरुकै लहैलहैमा लागेर जीपलाइन चढ्नुपर्ने नै थिएन । जनताको बीचमा जाने, दुःख–सुख साट्ने र त्यहीँ रमाउने स्थिति आउन सक्थ्यो ।
अनि, माओवादी कार्यकर्ताहरूले ‘प्रचण्डलाई हेप्ने ? डिस हान्ने ?’ भन्दै सामाजिक सञ्जालमा रुनुपर्ने थिएन कि ?
कमेन्ट
- Oct. 25, 2021, 11:01 a.m. Adarsha Manishमौलिक ईतिहाँस र पहिचान मेटेर भएको व्यवस्था परिवर्तनले देशको राष्ट्रियता, स्वाधिनता, सार्बभौमसत्ता, भौगोलिक अखण्डता जोगाउन सक्दैन अन्तत जव देशको अस्तित्व नै संकटमा पर्न थाल्छ त्यसको रक्षाको निमित्त फेरी देशले आफ्नो ईतिहाँस खोज्नेछ ।।। जय राष्ट्र ।।। जय राष्ट्र निर्माता ।।।
- 0 Reply
- Oct. 25, 2021, 10:11 a.m. hrishikeshपत्रकारले फट्कार लाउदैमा सुधारिने अवस्था छैन,अरुको मामिलामा हस्पछेप किन!
- 0 Reply
कमेन्ट गर्नुहोस्
तपाईको ईमेल गोप्य राखिनेछ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।