शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र

सोमबार, ०८ कात्तिक २०७८, ०९ : ४८
सोमबार, ०८ कात्तिक २०७८

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो ।
 
एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको जानकारी दिइन् । यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उनले बताइन् । उनले भनिन्, “महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने गरी केन्द्रलाई आज सिफारिस पठाउँदै छौँ ।”
 
उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने भएकोले नारायणी नदी किनारको खुल्ला ठाउँ छनोट गरिएको उनको भनाइ छ । सर्वसाधारणलाई सहज हुने गरी उक्त ठाउँ उद्घाटन सत्रका लागि उपयुक्त हुने रावलले बताइन् ।

यस्तै महाधिवेशन प्रतिनिधि अधिकांशलाई सौराहामा आवासको व्यवस्था हुने भएकाले बन्द सत्र सोही ठाउँमा गर्न सहज हुने गरी सिफारिस गर्न लागिएको उनले बताइन् । उनले भनिन्, “महाधिवेशन प्रतिनिधि अधिकांशलाई हामीले सौराहामा आवासको व्यवस्था गर्दै छौँ, त्यही बन्द सत्र भयो भने सहज हुन्छ ।”
 
अधिवेशनकै सन्दर्भमा आइतबार नारायणी नदी किनार र सौराहाको स्थलगत अवलोकन गरिएको अध्यक्ष रावलले जानकारी दिइन् ।

एमाले नेता सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारीलगायतकाको उपस्थितिमा अवलोकन गरिएको हो । यस्तै पार्टीका नेताले सौराहाका होटल व्यवसायीसँग महाधिवेशनको उपयुक्त ठाउँको बारेमा छलफल भएको जनाइएको छ  ।

व्यवसायी सकारात्मक रहेको र सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिइन् । यसैगरी आइतबार नै जिल्लाका सुरक्षा निकायका प्रमुखसँग पनि महाधिवेशनका सन्दर्भमा छलफल भएको छ ।
 
९० वडामा सर्वसम्मत अधिवेशन
 
यसैबीच एमाले चितवनले जिल्लाका ९८ मध्ये ९० वडा वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । आठ वडामा सर्वसम्मत हुन सकेको छैन । ती वडामा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न गृहकार्य भइरहेको अध्यक्ष रावलले बताइन् ।
 
यही कात्तिक ५ गते सम्पन्न वडा अधिवेशनमा भरतपुर महानगरका तीन वडा, खैरहनी नगरपालिकामा तीन, कालिका नगरपालिका दुई वडाबाहेक अन्य वडामा सर्वसहमत भएको हो ।

उनका अनुसार यही कात्तिक ९ गते जिल्लाका सात पालिकामध्ये छ पालिकाको अधिवेशन हुनेछ । भरतपुर महानगरपालिकाको भने केही दिनपछि अधिवेशन गर्ने तयारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप