शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतका लागि नेपाली राजदूत स्वदेश फर्किए

सोमबार, ०८ कात्तिक २०७८, ०७ : ४२
सोमबार, ०८ कात्तिक २०७८

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आज नेपाल प्रस्थान गरेका छन् । लन्डनस्थित हिथ्रो विमानस्थलबाट आज अपरान्ह ५ः४० को टर्किस एअर्लाइन्सबाट रेग्मी नेपाल फर्किएका हुन् । लन्डनबाट स्तान्बुल ट्रान्जिट हुँदै भोलि सोमबार स्थानीय समयअनुसार ११ः३० मा काठमाडौँ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुग्नेछन् । राजदूतलाई बिदाइ गर्न दूतावास नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनाल, सैनिक सहचारी रत्न बहादुर गोदार, द्वितीय सचिव रामबाबु नेपाल लगायतका कर्मचारीहरु विमानस्थल पुगेका थिए ।

बेलायतका लागि एक्काइसौं राजदूतको रुपमा गत मार्च १ बाट आफ्नो कार्यकाल सम्हाल्दै आएका रेग्मी करिब ८ महिना नपुग्दै नेपाल सरकारको निर्णयअनुसार नेपाल फर्किएका हुन् । संयुक्त अधिराज्य बेलायतका लागि नेपाली आवासीय राजदूत रेग्मीले आयरल्याण्ड र माल्टाका लागि समेत  गैरआवासीय राजदूतको जिम्मेवारी सम्हाल्दै आएका थिए । राजदूत रेग्मीलाई शनिबार एक कार्यक्रम आयोजना गरि नेपाली दूतावास लन्डनका तर्फबाट बिदाइ गरिएको थियो ।

रेग्मीलाई बेलायती महारानी एलिजावेथ द्वितियाका तर्फबाट पनि शुक्रबार बिदाई गरिएको थियो । महारानीको प्रतिनिधिका रुपमा ‘मार्सल अफ डिप्लोम्याटिक कोर्प्स’ विलियम एलिस्टर ह्यारिसन दूतावास आएर राजदूत रेग्मीको बिदाइ गरेका थिए ।​ त्यसअवसरमा उनले महारानीले  हस्ताक्षर गरी पठाएको उनको तस्विर समेत राजदूत रेग्मीलाई उपहारस्वरूप हस्तान्तरण गरे । बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाले पनि रेग्मीलाई  बिदाइ कार्यक्रमको आयोजना गर्दै आएका थिए ।

बेलायत बसेको अवधिमा पनि उनले लामो समयदेखि टुंगोमा पुग्न नसकेको समान पेन्सनलगायतका माग राख्दै आन्दोलनरत भूपू गोर्खाहरुको आन्दोलनलाई वार्ताको टेबलमा पुर्याउन महत्वपूर्ण योगदान गरे । दुवै देशको हित हुने गरी भूपू गोर्खाका आधारभूत मागहरू पेन्सन, क्षतिपूर्ति, कल्याणकारी,स्वास्थ्य लगायतका विषयमा बेलायत सरकार सकारात्मक रहेकोले यसपटक हुन् गइरहेको वार्ता सफल हुनेमा रेग्मी विश्वस्त छन् । बेलायतको छोटो बसाइ आफ्नो लागि अमूल्य र अविस्मरणीय रहेको उनले बताए ।

राजदूत नेपाल फर्किएसँगै नेपाली दूतावास लन्डन राजदूतबिहीन बनेको छ । तर, अन्य व्यवस्था नभएसम्म कार्यबाहक राजदूतको रुपमा दूतावासकी नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनालले कार्यभार सम्हाल्ने छिन् । नेपाल सरकारको पूर्व मुख्यसचिव रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएपछि  मन्त्रिपरिषद् बैठकले उनलाई बेलायतका लागि राजदूत सिफारिस गरेको थियो । रेग्मीले गृह र अर्थ जस्ता महत्त्वपूर्ण मन्त्रालयका सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप