बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एक वर्षपछि घर निर्माणका लागि सम्झौता

सोमबार, ०८ कात्तिक २०७८, ०७ : २०
सोमबार, ०८ कात्तिक २०७८

जिल्लाको अन्नपूर्ण गाउँपालिकाका मनसुनजन्य विपद् प्रभावितको पुनःस्थापना गर्न निजी आवास पुनःनिर्माणका लागि एक वर्षपछि बल्ल अनुदान सम्झौता भएको छ । विसं २०७७ को बर्खा याममा पहिरो, कटान र बाढीले घरबास गुमाएका पहिरोपीडितको लागि रु पाँच लाखका दरले अनुदान उपलब्ध गराउन आइतबार पोखरेबगरस्थित गाउँपालिकाको कार्यालयमा सम्झौता गरी अभिमुखीकरण गरिएको हो ।

बीस लाभग्राहीसँग अनुदान सम्झौता गरी घरको नमूना, मापदण्ड, अनुदानको किस्ता भुक्तानी, प्रविधि र प्रक्रियाको विषयमा अभिमुखीकरण गरिएको गाउँपालिकाका इञ्जिनियर ईश्वरबहादुर भण्डारीले जानकारी दिए ।

गत वैशाखमा पारित भएको कार्यविधिअनुसार कोरोना र बर्खाका कारण तत्कालै घर निर्माण गर्ने सम्भावना नदेखिएपछि ढिलाइ भएको उनले बताए । अनुदानमध्ये गाउँपालिकाले पहिलो किस्ताबापतको दश प्रतिशत रु ५० हजारका दरले पीडितको खातामा पठाउनेछ । दोस्रो किस्ता रु दुई लाख पचास हजार र तेस्रो किस्ता घर निर्माण सकिएपछि रु दुई लाख उपलब्ध गराउने व्यवस्था छ । 

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले यस वर्षको बर्खामा पनि घरबास गुमाएकाको पहिचान गरेर जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस गरिएको र स्वीकृत भएपछि अनुदान सम्झौता र पुनःनिर्माण प्रक्रिया अघि बढाइने जानकारी दिए ।

यसैगरी हालै बाहिरिएको यस वर्षका मनसुनका समयमा भएको विपद्जन्य घटनाबाट जिल्लाको रघुगङ्गा गाउँपालिकामा २५ घर भत्किएका छन् । पहिरो, बाढी, कटानका कारण घरबास गुमाएकालाई तत्काल रु चार लाख ७० हजार राहत नगद वितरण गरेको गाउँपालिकाले उनीहरुको निजी आवास पुनःनिर्माणका लागि सङ्घीय र प्रदेश सरकारसँग साझेदारी गर्ने जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले मनसुनजन्य विपद्बाट क्षति भएका निजी घरको लगत सङ्कलन गरेर पुनःनिर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस गरिएको जानकारी दिए ।

“सबै घरको जनप्रतिनिधि, प्राविधिक र प्रहरीको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पारि प्रशासनमा सिफारिस गरेका छौँ”, उनले भने, “पालिका, प्रदेश र सङ्घीय सरकारको साझेदारीमा पहिरोपीडितको निजी आवास पुनःनिर्माण प्रक्रिया अघि बढाएका छौँ ।” 

वडा नम्बर १ बेगमा तीन, वडा नम्बर २ भगवतीमा छ, वडा नम्बर ३ पिप्लेमा नौ, वडा नम्बर ४ दग्नाममा पाँच, वडा नं ५ झिँ र ८ नम्बर वडा कुइनेमङ्गलेमा एक÷एक वटा घरमा क्षति पुगेको छ । पूर्ण क्षति भएका १० वटा घरलाई रु २५ हजार, आंशिक क्षति भएका १४ घरलाई रु १५ हजार र सामान्य क्षति भएका एक घरलाई रु दश हजारका दरले रु चार लाख सत्तरी हजार राहत वितरण गरेको छ । 

गत २०७७ को बर्सातमा क्षति पुगेका रघुगङ्गाका १७ वटामध्ये चार वटा म्याग्दी प्रवासी नेपाली सङ्घ मोनाले पुनःनिर्माण गरेर हस्तान्तरण गरिसकेको छ । बाँकी १३ वटा घरलाई रु पाँच लाखका दरले अनुदान उपलब्ध गराउने सम्झौता गरी पुनःनिर्माण सुरु गरेका छन् । गाउँपालिकाले उपलब्ध गराउने दश प्रतिशतले हुन आउने रु ५० हजारका दरले सबै पीडितको खातामा पठाइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप