मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भर्जिनियामा किरण गजमेर, बाबु बोगटी लगायतले नचाए दर्शक, मदनकृष्ण श्रेष्ठ सम्मानित

आइतबार, ०७ कात्तिक २०७८, २१ : ०३
आइतबार, ०७ कात्तिक २०७८

-विजय थापा
अमेरिकाको डिसी महानगर क्षेत्र अर्थात् भर्जिनियाको मनासस सहरमा सम्पन्न बृहत् दसैँ तिहार मेला २०२१ मा वरिष्ठ कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठलाई सम्मान गरिएको छ । वरिष्ठ कलाकार श्रेष्ठले कला क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै इनास भर्जिनिया तथा नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक )ले संयुक्त रुपमा सम्मान गरेको हो ।

न्याकका अध्यक्ष चिकित्सक मदन उप्रेती तथा ईनास अमेरिकाका सभापति कन्हैया सिंह परियारले मदनकृष्ण श्रेष्ठजस्तो इतिहास बोकेको व्यक्तिलाई सम्मान गर्न पाउँदा गौरव लागेको बताए । ईनास भर्जिनियाका सभापति कलाकार राहुल केसीले पनि मदनकृष्ण श्रेष्ठलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए ।

सम्मानित भएपछि आयोजकलाई धन्यवाद दिँदै मदनकृष्ण श्रेष्ठले प्रशंसकहरुको यस्तै मायाले आफू र आफ्नो परिवारले हालै कोरोनालाई पराजित गरेको बताए । यस क्रममा उनले ‘फुलबुट्टे सारी’ गीतसमेत गाएका थिए ।

मदनकृष्ण श्रेष्ठकी सुपुत्री गायिका तथा निर्देशक सराना श्रेष्ठले पनि कार्यक्रममा गीत प्रस्तुति गरेकी थिइन् भने युवा गायक किरण गजमेर तथा चर्चित गायक बाबु बोगटीले ३–४ वटा गीत प्रस्तुत गरेका थिए । गजमेर र बोगटीका गीतमा दर्शक नाचेका थिए ।

कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) भर्जिनिया तथा नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)ले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

कार्यक्रममा कलाकारहरु अञ्जना गुरुङ, आभा मुकारुङ ,चर्चित हास्य कलाकार गोपाल (फिस्टे), लोक दोहोरी चर्चित गायक गायिका लक्ष्मण पौडेल र कल्पना देवकोटा, रमेश परियार, बिन्तीकुमार गुरुङ, रिता श्रेष्ठ, सरोज अधिकारी लगायतले पनि आफ्ना प्रस्तुति दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप