बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पहिरो पीडित सांसद रंगमती शाहीले सरकारलाई सोधिन्–के कर्णालीमा नेपाली जनता बस्दैनन् ? (भिडियो)

आइतबार, ०७ कात्तिक २०७८, १८ : ४५
आइतबार, ०७ कात्तिक २०७८

नेपाली काँग्रेस हुम्लाकी सांसद रंगमती शाहीले सरकारले कर्णाली प्रदेशलाई उपेक्षा गरेको बताएकी छिन् । आइतबार प्रतिनिधि सभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसद शाहीले हुम्लामा मोटर चढेर जाने अझै  रहर पुरा नभएको गुनासो गरिन् । 

बैठकमा उपस्थित भएका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेणुकुमारी यादव, भौतिक पूर्वाधार सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागमा महानिर्देशक अर्जुनजंग थापालाई हुम्ला जोड्ने सडक निर्धारित समयमा किन बन्न नसकेको भन्दै प्रश्न गरिन् । 

उनले भनिन्–‘अघिल्लो बर्ष गरेको बैठकमा तपाईहरुले हुम्लाको सदरमुकाम सिमकोटमा बाटो जोड्छु भन्नुभएको हैन ? म सचिवज्यूलाई प्रश्न गर्न चाहन्छु, वैशाख ६ गते मेरो भाइको मृत्यु भयो, मैले आँशु चुहाउँदै हेलिकोप्टर चढेर जानुप-यो, मलाई हेलिकोप्टर चढ्न रहर थिएन, मलाई बाटोमा गाडि चढेर हिँड्न मन थियो । जन्मेदेखिनै हेलिकोप्टर र जहाज चढ्ने ठाउँको मान्छे हो, मलाई सडकबाट हिँड्न मन थियो । यहाँ यहाँ निर यो यो ठाउँमा बाटो चाहिन्छ भनेर मैले तपाईँलाई देखाएर आएको छु, खै त अहिले प्रगति के भयो ? पोहोर हुनुपर्ने ३ वटा पुलको टेन्डर हालसम्म पनि भएको छैन । पोहोर ३ ठाउँमा बेलिब्रिज बनाउँछु भन्नुभएको थियो, त्यो अहिलेसम्म बनेको छैन ।’
उनले मन्त्री, मन्त्रालयका सचिव र कर्मचारीलाई प्रश्न गर्दै भनिन्, ‘के कर्णालीमा नेपालका जनताहरु बस्दैनन् ? बाटो खनिदिएको छ बजारमा, घर जाओस् केही मतलब छैन । खनिदियो फालिदियो, अनि अस्तिको पानीले भासिएर मेरो घरमा पहिरो गयो । खनिदियो, फालिदियो अनि सक्कियो ?’ 

उनले अव्यवस्थित तरिकाले बाटो खनेका कारण पहिरो गएको भन्दै त्यसमा किन सरकारको ध्यान नगएको भन्दै प्रश्न गरिन् । उनले हुम्लाको सर्केगाडमा रहेको आफ्नो घर पहिरोमा परेको गुनासो गरिन् । 
उनले हुम्लाको सदरमुकाम सिमकोट जोड्ने बाटो निर्माणमा ढिलासुस्ती भएको, बाटो खनेको ठाउँमा पनि अव्यवस्थित रुपमा खनेको, पुल बनाउनुपर्ने ठाउँमा टेन्डर समेत नगरेको गुनासो गरिन् । उनले हुम्ली जनताले छिटो गाडि चढ्नका लागि नेपाली सेनालाई बाटो बनाउने काम दिन आग्रह गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप