शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यात्रा संस्मरण : पालुङ यात्रा र बाइरोड किङ

आइतबार, ०७ कात्तिक २०७८, १७ : ५१
आइतबार, ०७ कात्तिक २०७८

बिहानको ५ बज्नै लागेको रहेछ ‘नौबिसे, आयो नौबिसे’, ल अगाडि आउनुस् भन्ने आवाजले निन्द्रा खुल्यो । निन्द्रा खुल्यो त के भन्नु बिहानीपख भएकाले होला झुपुक्क निन्द्रा पर्न लागेको थियो, ब्युँझिहालेँ । बसले नौबिसेमा झारिदियो ।

अँध्यारो चिरेर उज्यालो क्रम जारी थियो । त्यसैले चोकै अगाडिको पसलमा चिया खान छिर्यौं । यात्रा पालुङसम्मको थियो, नेपाल जेसिज क्षेत्र ‘ख’ सम्मेलनमा सहभागिताका लागि । नौबिसेबाट पालुङ जान गाडी सहज रूपमा नपाइने रहेछ । साथीहरूको पनि गाडी सहज नपाउने सुझावअनुसार गाडीको व्यवस्था त गरेका थियौँ, तर ४० किमि बाटोमा भाडा झन्डै ५५ सय भनेपछि महँगो लाग्यो ।

रुटको गाडी बिहान ८ बजेपछि मात्र आउने कुरा सुनाए चिया पसले दाइले । ८ बजेसम्म बस्नुभन्दा महँगो भए पनि ट्याक्सीमा जाऔँ भन्ने योजना बन्यो । चिया पसलले दाइले यात्रा असहज नहुने भए ट्रकमा जान सुझाए र ट्रक आएपछि रोकिदिने बताए । रातभरिको अनिदो अनि हिँडाइको थकाइले ट्रकमै भए पनि हिँडिहालौँ भन्ने लाग्यो ।

भाद्र १९ गते हामी बेनीबाट पालुङका लागि साँझ ५ बजे मात्र हिँड्यौ । तयारी त बिहानै जाने थियो तर विविध कारणले साँझ प¥यो । कुस्मा पुग्दा झन्डै साढे ६ बजेको थियो । केही दिन अगाडि आएको पानीले बाटो क्षतविक्षत थियो । कुस्मा सशस्त्र प्रहरीको चेकिङ पोस्टदेखि हिँड्नुपर्ने रहेछ । चुवाको गाउँ हुँदै अगाडि बढ्नुपर्ने । रात झमक्कै पर्यो । हातमा भएको मोबाइलको उज्यालोको साहारा लिएर अगाडि हिँड्यौँ ।

पङ्क्तिकार, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष सुजन बरुवाल, म्याग्दी जेसिजका महासचिव दिनेशकुमार विश्वकर्मा, सहसचिव दिनेश बानियाँ थियौँ टोलीमा भने शाखा अध्यक्ष वीरेन्द्र श्रेष्ठ भोलिपल्ट आउने कुरा भयो । ओरालो र हिलोले गर्दा सुजनजीलाई हिँडाइमा निकै मुस्किल भयो ।

दोविल्लाको खोला तर्ने बेलामा चकमन्न अँध्यारो भइसकेको थियो । कुनै यस्तो एउटा यस्तो ठाउँ भेटिएन जहाँ बाटो अवरुद्ध नभएको होस्, पहिरो नगएको होस् । सडक कहाँ छ, कुनै पत्तो थिएन, गेगर, हिलाम्मे अनि पानीको ताल मात्र ।

अँध्यारो भएकाले माथिबाट कतिबेला पहिरो झर्छ पत्तै थिएन, ढुङ्गा भनेर टेक्यो झ्वाम्म पानीमा खुट्टा, त्रासकै बीच झन्डै ३ घण्टाको हिँडाइपछि पातीचौर आइपुग्यौँ । २० गते बिहानै कार्यक्रम भएकाले जसरी पनि त्यही राति हिँड्नैपर्ने थियो । बेनीबाटै हामी १० जना एउटै जिपबाट गएका थियौँ ।

काठमाडौँ जाने एउटा मात्र बस रहेछ, त्यो पनि भोलि बिहानको पालो कुरी बसेको । हामी १० जना, पोखरा जाने अन्य मान्छे भएपछि बस सोही रात नै काठमाडौँ जान तयार भयो । त्यसपछि मन अलि शान्ति भयो । हामी नौबिसेमा चिया खाँदै थियौँ ।

चिया खाँदै गर्दा एउटा ट्रक आइपुग्यो, ‘द रियल रोड किङ’ लेखेको । हामीजस्तै अरू पनि ४, ५ जना ट्रक कुरेर बसेका रहेछन् । उनीहरूभन्दा पहिला झोलासहित ट्रकमा हामी पुग्यौँ, त्यसैले चढ्न पायौँ । भाडा कति हो गुरुजी ? उनले चलेको रेट दिनुहोस् भने । स्थानीयलाई सोध्दा प्रतिव्यक्ति रु. २०० रहेछ । जुत्ता चप्पल ढोका छेउनेर राखेर पलेँटी कसेर बस्नुपर्ने रहेछ ।

ट्रकभित्रको प्रवेश पहिलो पटक भएकाले नौलो लाग्दै थियो । खाना पकाउने, खाने एक सेट भाँडाकुँडा, ग्यास चुल्हो सेट, मच्छेडको झुल, ओड्ने कपडा, सानो पङ्खा टाँसेको एउटा बेडरुमभन्दा कम थिएन । बेग्लै संसार जस्तो लाग्ने यो रुमका मालिक थिए, रोडकिङ उर्फ ध्रुव पण्डित ।

उमेर २८ वर्ष, हँसिलो अनुहार, पातलो शरीर, रातभरिको ड्राइभिङले राताराता आँखा, जिङरिङ्ग भएको कपाल, बाटाको चप्पलमा हाफ पाइन्ट अनि टिसर्ट, त्यो पनि कुममाथि तानेका पण्डित काठमाडौँ सामान लगेर फर्केका रहेछन् ।

गाडी स्टार्ट गरे, टिँट टिँट गरेर हर्न बजाए । अनि थोरै पछि ल्याएर स्वाट्ट हुइँक्याए, हामी पनि हुत्तियौँ । सुरुमै घुम्ती रहेछ, फनक्क गाडी घुमाए । त्यो पनि फुल स्पिडमा डर लाग्ने गरी । यात्राको केही समय कोही बोलेनौँ, चुपचाप सवारी चलाइरहे पण्डित । ट्रक यसरी कुदाए कि हाम्रो सात्तो नै गयो ।

एक त अत्यन्तै साँघुरो सडक, त्यसमा ध्रुव पण्डितको स्पिड, फनक्न फनक्न स्टेरिङ घुमाउँदा झसङ्ग झसङ्ग बनाउने । साथी सुजनले साथी स्टन्ट नदेखाउनुस्, विस्तारै जाऔँ भनेपछि अलि स्पिड कम गरे । सानोमा धेरै सुनेको गीत ‘बाइरोडमा गुड्यो मोटरकार’ भन्ने गीतको स्मरण भयो । अनि सुरु भयो ध्रुव पण्डितको कहानी ।

गाडीको सहचालक हुँदै ट्रक चालकसम्म भएको कहानी सुनाउन भ्याए । सुजन र ध्रुवको कुराकानी चल्दै गयो । हेटौंडाका रहेछन् पण्डित, उनलाई अति नै माया गर्ने शिक्षक रहेछन् चितवनका गोकुल सर । सुजनले हामी चिन्छौँ नि गोकुल सर के भन्न भ्याएका थिए, आफ्नो गायनमा ठूलो इच्छा रहेको, गोकुल सरको प्यारो विद्यार्थी रहेको, आफूलाई असाध्यै माया गर्ने जिकिर गरे । गोकुल सरको निक्कै प्रशंसा गरे । झण्डै १२ वर्षको उमेरमा हेटौँडामा जिल्ला स्तरीय गायन प्रतियोगितामा प्रथम भएका रहेछन्, त्योसमेत सुनाए ।

 केही माथि पुगेपछि उनको चिया खाने स्टेसन आइपुग्यो । ट्रक टक्क रोकियो । हामीलाई पनि चिया खान अनुरोध गरे । नौबिसेमा चिया नास्ता गरेकाले नखाने बतायौँ । उनी ट्रकबाट ओर्लिए अनि साहुनीलाई नमस्कार दर्साए । मुख धोए, चिया खाए, अनि एक खिली चुरोट ओठमा च्यापेर चियाको चुस्कीसँगै धुवाँ उडाँए ।

उनको अनुहारको भाव हेर्दा लाग्थ्यो उनी पनि धुवाँसँगै उडिरहेका छन् । नजिकै एउटा गाडी बिग्रिएर बनाउने मान्छे नपाएर रोकिएको रहेछ । नजिकै गाडी मर्मत गर्ने ठाउँ रहेछन् । गाडीको समस्या पत्ता लगाएर चिनेको मेकानिकलाई फोन गरी बोलाइदिए । अनि फेरि हुइँकिए आफ्नै रफ्तारमा ।

चोक चोकमा चिनेको चिया पसलमा ट्वाँ ट्वाँ पार्दै हर्न बजाउँथे, अनि भन्थे, सोल्टीहरूलाई जानकारी दिएको । अनि लामो हाँसो छाड्थे हा... हा... हा... । घरमा श्रीमती र छोरी रहेछन् । पारिवारिक कुरासमेत सुनाए । कुराकानीकै क्रममा उनी म्याग्दीसमेत आएका रहेछन्, अन्नपूर्ण गाउँपालिकामा सञ्चालित हाइड्रोहरूमा सामान छाड्न । त्यसले पनि अझ सामिप्यता बढायो ।

 सामान लिन चीनदेखि भुटानसम्म पुगेका रहेछन् । झण्डै ८ महिना अगाडि मात्र हामी चढेको ट्रक किनेका रहेछन् । उनको भाषामा त्यसलाई ‘डब्बा’ भन्दा रहेछन् । रातभरको अनिदोले होला सुजन निदाए । एकछिन वातावरण शान्त भयो । सुस्त सुस्त उनी गीत गाउन थाले, अनि मैले एउटा गीत गाउन अनुरोध गरे । अनि सुरु भयो ध्रुवको गायन । नारायण गोपालदेखि पछिल्लो पुस्ता निशान भट्टराई, प्रताप दाससम्मको गीत गाए । पप गायक सविन राईदेखि हिन्दी गीतसम्म सुनाए ।

नेपाल आइडल पहिलो सिजनमा टप १९ सम्म पुगेका रहेछन् । साँच्चै उनको स्वरमा मिठास थियो । दिनेश भाइ र मैले केही क्लिप भिडियोसमेत खिच्यौँ । उनको गीतको तालमा कतिबेला टिस्टुङ भन्ने ठाउँमा आइएछ, पत्तै भएन । त्यहाँबाट ६ किलोमिटर पर रहेछ पालुङ । त्यही पारि डाँडामा रहेछ, उनको ससुराली कुन्नि के ठाउँ पो भन्दै थिए ।

“मेरो नेपाल, मेरो नेपाल” भन्ने गीत गाउँदै ट्रक ओराले लाग्यो । उनले घाँटी फुलाउँदै गाउन थाले । स्टेरिङबाट हात छोडेरै गाउन थालेपछि फेरि सातो खाए, एक दुई ठाउँमा । हामीले गीत गाए पनि स्टेरिङ नछाड्न अनुरोध ग¥यौँ, उनले आफू बाइरोडको किङ भएको बताए । मलाई साथीभाइले बाइरोडको किङ भन्छन्, आँखा चिम्म गरेर कुन ठाउँ आयो भन्न सक्छु, छड्के नजरले गाडी हाँक्न सक्छु । त्यसैले मलाई रोडकिङ भन्छन् । उनको चलाइ देख्दा हामीलाई पनि हो जस्तै लाग्यो ।

ट्रकमा एक्लै हिँडिरहने, मनको बह पोख्ने मान्छे नपाएकाले होला सायद उनी हामीसँग पोखिएका थिए । वर्षौदेखि मनमा गुम्सिएका बहहरू खोले । आफ्ना जीवनका सङ्घर्षका कथादेखि गायन क्षेत्रमा आफ्ना रुचि, क्षमतासमेत देखाए । सायद उनले एक्कै आफैँसँग कुरा गर्दै यात्रा गर्दा हुन् यही कल्पना गरें मैले ।

सहचालक राख्न पर्दैन ? उनले भने जाबो डब्बामा पनि के साथी राख्नु । हामी पनि उनीसँग प्रभावित भयौँ । एक अन्जान ट्रक ड्राइभर झन्डै ४० किमि दूरी पार गर्दा वर्षौं पुरानो परिचित, सम्बन्ध भएजस्तो साथी ध्रुवेको रूपमा परिणत भयो । उनको कुराकानीको सरलपन, आत्मीयता साँच्चै जीवनमा यात्राको क्रममा धेरै मान्छे भेटिए तर ध्रुव पण्डित कमै भेटिए ।

“केही मीठो बात गर, रात त्यसै ढल्किँदै छ, भरे फेरि एकान्तमा रुनु त छँदैछ” भन्ने नारायण गोपाल गीत गाउँदै पालुङ ल्याइपुर्याए । साथीहरूले फोनमा सुझाए अनुसार ठ्याक्क रोकिने ठाउँमा ट्रकको ब्रेक अँठ्ठाए, हामी ट्रकबाट झर्यौं ।

हामी त आजको हाम्रो गन्तव्यमा आइपुग्यौ तर ध्रुव पण्डितले स्टेरिङ घुमाउँदै कहाँ कहाँ पुग्नेछन् । हामी पाँच जना थियौँ भाडा दिनुपर्ने १ हजार थियो तर लिन मानेनन् र ५ सय मात्र लिए । उनीप्रति झनै आदरभाव बढेर गयो । सहयोगी भाव, आत्मियताले स्मृतिमा कहिल्यै पनि नमेटिने गरी छाए ध्रुव पण्डित । उनका खातिर, उनको सम्झनामा केही शब्द व्यक्त गर्ने अठोट गरे ।

सम्भवतः अब ध्रुव पण्डितसँग भेट हुन्छ वा हुँदैन पनि होला, कतै भेट्ने मानोकाङ्क्षासहित छुट्यौँ । बिदाइका हात हल्लायौँ । हामी कार्यक्रम स्थलतर्फ लाग्यौँ, उनले आफ्नै धुनमा ट्रक हुइँक्याए । ट्रक केही अगाडि पुगेपछि देखियो, लेखिएको थियो, “फेरि भेटौला... ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सन्दीप खत्री
सन्दीप खत्री
लेखकबाट थप