क्रिकेटमा भारत–पाकिस्तान दोस्ती कसरी दुश्मनीमा बदलियो ?
खेल सुरु हुनअघि टिभीमा ‘मौका मौका’ बोलको विज्ञापन फुटेको टिभी । खेलाडीको घरमा फ्याँकिएका ढुंगा । भारत र पाकिस्तानबीचको क्रिकेट खेलको चित्रण गर्ने धेरै कुराहरुमध्ये यी केही हुन् । दुई देशका क्रिकेट टिम मैदानमा ओर्लदा क्रिकेटमात्रै नभएर भावनाको पनि हाईभोल्टेज लडाईं हुने गरेको छ । तर, के तपाईलाई थाहा छ, दुश्मन मानिने यी दुई देशका क्रिकेट बोर्डबीच कुनै समय निकै सौहाद्रपूर्ण सम्बन्ध थियो । शोएब अख्तरको करियर खतरामा पर्दा भारतले उनलाई बचाएको थियो ।
यो दोस्तीको सुरुवात भारतले एकदिवसीय विश्वकप जितेको दोस्रो दिन अर्थात् २६ जुन १९८३ मा लण्डनमा भएको थियो । तत्कालीन बिसिसिआईका अध्यक्ष एनकेपी साल्वे र पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष नुर खानले लर्डस्मा लन्च गर्न भेट गरेका थिए ।
साल्वे यस समय भारतका केन्द्रीय मन्त्रीसमेत थिए । नूर खान पाकिस्तानका अवकाशप्राप्त एयर चिफ मार्शल थिए । यी दुई व्यक्ति १९६५ को भारत–पाकिस्तान युद्धमा एकअर्काविरुद्ध लडाईँमा थिए । तर पुरानो दुश्मनी बिर्सदैं दुबैले क्रिकेटलाई अघि बढाउने निर्णय लिए । उनीहरुको उद्देशइ इङल्यान्ड र अस्ट्रेलियाको दबदबालाई तोड्नु थियो ।
इङल्यान्डबाहिर पहिलो विश्वकप
जब भारत र पाकिस्तानको क्रिकेट बोर्डबीच सम्बन्ध सौहाद्र बन्यो, तब अन्तर्राष्ट्रिय क्रिकेटको राजनीतिक समीकरण पनि फेरिन थाल्यो । १९८७ मा हुने विश्वकपको संयुक्त आयोजनाको अधिकार भारत र पाकिस्तानलाई मिल्यो ।
इङल्यान्डबाहिर विश्वकप आयोजना भएको यो पहिलो अवसर थियो । राजनीतिक स्तरमा सम्बन्ध लगातार खराब भइरहेका बेला पनि भारत र पाकिस्तानका क्रिकेट बोर्डहरुले मिलेर यस्तो उपलब्धि हालिस गरिरहेका थिए । यसपछि पनि अन्तर्राष्ट्रिय क्रिकेटमा दुबै देशले एकअर्कालाई अफ्टेरो समयमा साथ दिए ।
पिसिबीले झन्डै सबै अवसरमा बिसिसिआईका पक्षमा भोट गर्यो । यसपछि श्रीलंका, वेस्टइन्डिज र जिम्बाबे पनि भारतको खेमामा आए । र, आईसीसीमा भारतको दबदबा बढ्न थाल्यो । भारत र पाकिस्तानले १९९६ को विश्वकपको आयोजना गर्ने अधिकार पनि पाए ।
विश्वकपअघि भारत– पाकिस्तानको संयुक्त टिम
१९९६ को विश्वकपको आयोजना भारत, पाकिस्तान र श्रीलंकाले मिलेर गरे । अस्ट्रेलिया र वेस्टइन्डिजले सुरक्षा कारण देखाएर श्रीलंका जान अस्विकार गरे । तब श्रीलंका सुरक्षित छ भनेर देखाउनका लागि आयोजकले अनौठो कदम उठाए । उनीहरुले भारत र पाकिस्तानको संयुक्त टिम बनाएर श्रीलंकाको भ्रमण गरे । प्रदर्शनी खेलमा भारत–पाकिस्तानको संयुक्त टिमलाई श्रीलंकाले हराइदियो । श्रीलंका यस विश्वकपको समेत च्याम्पियन बन्यो ।
बंगलादेशलाई टेस्ट मान्यता
वर्ष २००० मा बंगलादेशलाई टेस्ट मान्यता मिल्यो । यसका लागि भारत र पाकिस्तानले मिलेर लबिंग गरेका थिए । खेलाडीहरूको एक्सनमाथि प्रश्न उठ्दा भारतले पाकिस्तानलाई र पाकिस्तानले भारतलाई सहयोग गर्ने गरेका थिए ।
पिसिबीका पूर्व अध्यक्ष लेफ्टिनेन्ट जनरल तौकिर जियाले शोएब अख्तरको करियरलाई जगमोहन डालमियाले बचाइदिएको घोषणा खुलेयाम नै गरेका थिए । १९९९ मा अख्तरको बलिङ एक्सनबारे प्रश्न उठेको थियो । यतिबेला डालमिया आईसीसीका अध्यक्ष थिए । उनले अख्तरको बचाउका लागि पिसिबीलाई सहयोग गरे ।
२००८ बाट दुश्मनी
२००८ मा आएर भारत र पाकिस्तानको दोस्तीमा आईसीसीमा ब्रेक लाग्यो । यसको कारण मुम्बईमा २६ नोभेम्बरमा आएको आक्रमण थियो । यस आक्रमणमा संलग्न आंतककारीहरुलाई पाकिस्तानले संरक्षण र समर्थन प्रदान गरेको भारतको आरोप थियो । यसपछि भारतले पाकिस्तानसँगको क्रिकेट सम्बन्ध तोड्यो ।
बिस्तारै आईसीसीमा पनि दुबै देशको एकता टुट्न थाल्यो । यसको सबैभन्दा ठूलो क्षति पाकिस्तानलाई नै भयो । २००९ मा लाहोरमा श्रीलंकाको टिममाथि भएको आतंककारी हमलापछि अन्य देशका टिमहरूले पनि पाकिस्तानको टुर गर्न छाडे ।
पाकिस्तानले २०११ को विश्वकप आयोजनाको अधिकार पनि गुमायो । अहिले पाकिस्तानले आफ्नो देशमा फेरि क्रिकेट आयोजना गर्ने कोसिस गरेको छ, तर न्युजिल्यान्ड र इङ्ग्ल्यान्डजस्ता देशहरुले त्यहाँ गएर खेल्न अस्वीकार गरे ।