चोलेन्द्र हटेपछि को बन्ला प्रधानन्यायाधीश ?

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने माग उठ्न थालेको छ । उनले बीचैमा राजीनामा दिए भने वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको प्रधानन्यायाधीश बन्ने बाटो खुल्नेछ भने राजीनामा नदिई पूरै कार्यकाल रहेमा दीपककुमार बीचैमा आउट हुनेछन् र हरिकृष्ण कार्की प्रधानन्यायाधीश बन्न पाउने छन् ।
संविधानको धारा १२९ अनुसार प्रधानन्यायाधीशको कार्यकाल ६ वर्षको हुन्छ । चोलेन्द्र शमशेर जबरा २०७५ पुस १८ गते प्रधानन्यायाधीश बनेका हुन् । यो हिसाबले उनको कार्यकाल २०८१ पुस १७ सम्म हुनुपर्ने हो । तर, संविधानको धारा १३१ अनुसार प्रधानन्यायाधीशको ६ वर्षे कार्यकाल नसकिँदै उमेर हद ६५ वर्ष पूरा भएमा सोही दिनदेखि प्रधानन्यायाधीश पदमुक्त हुन्छन् ।
प्रधानन्यायाधीश जबराको जन्म काठमाडौंको कालिकास्थानमा विसं. २०१४ मंसिर २८ मा भएको हो । यो हिसाबले उनी अर्को वर्ष, अर्थात् २०७९ मंसिर १८ सम्म मात्रै प्रधानन्यायाधीशको कुर्सीमा रहन पाउँछन् ।
अहिले भइरहेको विरोध र आलोचनासँगै जबराले राजीनामा दिए वा अरु कुनै कारणले पदमुक्त भएमा उनको ठाउँमा बरिष्ठतम न्यायाधीश दीपककुमार कार्की प्रधानन्यायाधीश बन्नेछन् । तर, कार्की उमेरले चोलेन्द्रभन्दा दुई महिना जेठा हुन् । २०१४ असोज १६ गते जन्मेका कार्की चोलेन्द्रको ठाउँमा प्रधानन्यायाधीश बनिहाले पनि उनी आगामी असोजसम्म मात्रै पदमा रहन पाउनेछन् । अर्थात्, चोलेन्द्र बीचैमा नहटी अर्को वर्षको मंसिरसम्मै प्रधानन्यायाधीश रहेमा कार्की प्रधानन्यायाधीश नबनी ०७९ असोजमै घर जानेछन् ।
चोलेन्द्रले ६५ वर्ष पुगुञ्जेल प्रधानन्यायाधीश खाँदा तेस्रो बरियतामा रहेकी २०१४ जेठ २ मा जन्मेकी न्यायाधीश मीरा खड्का पनि उमेर हदका कारण बीचैमा बिदा हुनेछिन् । त्यसपछि चोलेन्द्रको ठाउँमा प्रधानन्यायाधीश बन्ने पालो आउनेछ, न्यायाधीश हरिकृष्ण कार्कीको ।
६५ वर्ष नपुगी चोलेन्द्र विदा भएमा आगामी असोजदेखि दीपककुमार कार्कीको ठाउँमा हरिकृष्ण कार्की सीधै प्रधानन्यायाधीश बन्नेछन् । चोलेन्द्रले ६५ वर्षे उमेर हद पूरा गर्न पाए भने ०७९ मंसिरदेखि जबराको ठाउँमा सोझै हरिकृष्ण प्रधानन्यायाधीश बन्नेछन् । दोस्रो र तेस्रो बरियताका दीपककुमार र मीरा यहीबीचमा न्यायाधीशबाट विदा हुनेछन् ।
विसं. २०१५ साल भदौ २५ गते जन्मेका हरिकृष्ण कार्की २०८० साल भदौसम्म प्रधानन्यायाधीश बन्न पाउनेछन् । उनी पूर्वएमाले पृष्ठभूमिका न्यायाधीश हुन् ।
प्रचलनका हिसाबले प्रधानन्यायाधीश पदमुक्त हुँदा दोस्रो बरियताको न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने गरिएको छ । तर, संविधानको धारा १२९ को उपधारा ३ ले कम्तिमा ३ वर्ष सर्वोच्च अदालतको न्यायाधीश बनेको व्यक्तिलाई प्रधानन्यायाधीशका लागि योग्य मानेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक