शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नवलपुरमा सबस्टेसन बनेसँगै विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

आइतबार, ०७ कात्तिक २०७८, ११ : २१
आइतबार, ०७ कात्तिक २०७८

 नेपाल विद्युत प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२÷३३ केभीको सबस्टेसन निर्माण गरेको छ । सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरुलाई विद्युत उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन शनिबारबाट सञ्चालनमा ल्याइएको छ । सबस्टेसन शनिबार चार्ज गरिएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएसँगै सर्लाहीको विद्युत आपूर्ति विश्वसनीय हुने र प्राविधिक चुहावट घट्ने बताए । ‘सर्लाहीमा अहिले ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत आपूर्ति भइरहेको थियो, ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत आपूर्तिमा समेत अवरोध हुँदै आएको थियो’, कार्यकारी निर्देशक घिसिङले भने ।

पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन नवलपुर सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट नवलपुर सबस्टेसनमा विद्युत आपूर्ति दिइने छ ।  सबस्टेसनमा १३२÷३३ केभी, ६३ एमभिए र ३३÷११ केभी, १६ एमभिए क्षमताका दुईवटा  ट्रान्सफर्मर राखिएको छ । यही सबस्टेसनमार्फत सर्लाहीका हरिपुर र मलंगवा ३३÷११ केभी वितरण सबस्टेसनहरुमा विद्युत आपूर्ति दिइने छ ।

सबस्टेसनको प्रारम्भिक काम आर्थिक वर्ष (आव) २०७४÷७५ र मुख्य निर्माण आव २०७५/७६मा सुरु गरिएको थियो । कोभिड–१९को महामारी कारण उपकरणहरु ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको सबस्टेसन आयोजनाका प्रमुख निरञ्जन साहले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप