ad
x
प्रेरक व्यक्तित्व

विचारले कसरी सुखी र दुःखी बनाउँछ ?

person explore access_timeकात्तिक ७, २०७८ chat_bubble_outline0

खप्तड बाबाको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । उनलाई कतै खप्तड स्वामी पनि भन्ने गरिएको पाइन्छ  । उनको खास नाम चाहिँ परमहंस स्वामी सच्चिदानन्द सरस्वती हो, जुन दीक्षाप्राप्त गरेपछि प्राप्त भएको थियो । जीवनको पछिल्लो समय नेपालको खेचरादि पर्वत श्रृङ्गलामा पर्ने खप्तड लेकमा बिताएका खप्तड बाबा विशिष्टतम सन्तमध्येमा पर्छन् । उनको जन्म, कर्म र जन्मस्थानबारे खासै उल्लेख भेटिन्न तर उनलाई नजिकबाट चिन्ने, बुझ्ने र सङ्गत गर्ने सज्जनहरूका अनुसार भने केही अनुमान लगाउन सकिन्छ । यस अनुसार उनी भारतीय मूलका संन्यासी हुन् । उनको जन्म सन् १८८३ मा भारतको काश्मीर प्रान्तमा भएको थियो । २०५३ साल वैशाख २७ गते ब्रह्मलीन भएका यी सन्यासीको बाबुको नाम जनक शर्मा र आमाको नाम गौरी शर्मा थियो ।


उनी भारतको कलकत्ताबाट आइएस्सी गरेपछि मेडिकल साइन्स पढ्न बेलायत गएका थिए । उनलाई बेलायतबाट एमबीबीएस गरी फर्कन नौ वर्ष लागेको थियो । स्वदेश फर्केपछि काश्मीरमै करीव १० वर्ष क्लिनिक चलाएर बसे । त्यसपछि करीव एक वर्ष काश्मिरकै सैनिक अस्पतालमा समेत काम गरेका थिए रे । 



सांसारिक जीवनबाट विरक्तिएर सन्यास लिएपछि तपस्याको स्थल नेपाललाई बनाए । नेपाल आउनुपूर्व करीव १२ वर्ष काशीमा बसेर वेद, पुराण, उपनिषद् लगायत हिन्दूधर्म ग्रन्थको गहिरो अध्ययन गरेका थिए । काश्मीरकै मन्डपुर अखडाबाट सन्यास लिएका बाबाले दक्षिण भारतको श्रृङ्गेरी मठबाट समेत थप दीक्षा लिएका थिए । 



वि. सं. १९८६ मा नेपाल आएका बाबाले खप्तड पुग्नुपूर्व नेपालकै विभिन्न स्थानमा साधना गरी वर्षौँ बिताएका देखिन्छ । यसक्रममा पूर्वी नेपालको पाथिभरा पीठमा १० वर्ष, काठमाडौँ थापाथलीमा ६ वर्ष, मैतीदेवीमा दुई वर्ष, कालिञ्चोकमा ११ वर्ष, जुम्लाको चन्दननाथमा एक वर्ष बितेका थिए । यस बाहेक केही समय तिब्बत मानसरोवरमा समेत बसेर साधना गर्न भ्याएका बाबा फर्कने क्रममा बझाङ आइपुगे । उनको सङ्गतबाट प्रभावित भएका बझाङी राजा रामजङ्गबहादुर सिंहले खप्तड लेकमा बस्ने व्यवस्था मिलाइदिएपछि भने पूरा जीवन त्यहीँ तपस्या गरेर बिताए ।



खप्तड बाबा मेडिकल साइन्सको विद्यार्थी भएर पनि आयुर्वेदको राम्रो ज्ञाता थिए । स्थानीय जडीबूटी प्रयोग गरेर मानव सेवामा सघाउँथे । बाबाका विचार विज्ञान, स्वास्थ्य विज्ञान, धर्म विज्ञान, म र मेरो कर्तव्य जस्ता करीव एक दर्जनजति कालजयी कृति प्रकाशित छन् । तिनमा विचार विज्ञान सर्वाधिक लोकप्रिय देखिन्छ ।



संसारमा सबै वस्तुभन्दा विचार र बुद्धि बलवान् हुन्छ भन्ने मान्यता राख्ने बाबा भन्छन्– ‘विचार बिजुलीभन्दा पनि बेगवान् हुन्छ । बिजुलीले एक सेकेन्डमा पृथिवीलाई सात फनको लगाउन सक्छ तर विचारको गति त्योभन्दा तीब्र हुन्छ । किनकि विचारको परमाणु बिजुलीभन्दा सूक्ष्म र बलवान् हुन्छ ।’ हेरौँ विचारबारे उनका केही भनाइ–



१, जब विचार बाहिर जान्छन् तब ती केवल हावामा तैरिने मात्र गर्दैनन् । हाम्रो अवस्थालाई स्थिर तथा परिवर्तन गर्ने र हामीलाई धनी बनाउने वा गरिव बनाउने कार्यको समेत कारक बनिरहेका हुन्छन् ।



२, परमात्माले मानिसलाई विचार नामक एउटा यस्तो अद्भूत वस्तु दिएका छन्, जसको बलमा मानिसले कठिनभन्दा कठिन काम पनि सजिलै गर्न सक्छन्, गरिरहेका छन्, गरिसकेका छन् ।

३, नराम्रा विचार अन्धकार समान हुन्छन्, जसले कति बेला कुन खाल्टोमा पार्छ पत्तै हुँदैन तर राम्रा विचार त्यस्तो प्रकाश हो, जसले प्रगति र उन्नतीको शिखरमा पु-याउन सहयोग गर्छ । त्यसैले आनन्द, आरोग्य र ऐश्वर्यको चाहना गर्ने हो भने सदैव विचारलाई शुद्ध बनाउने प्रयास गर्नुपर्छ ।

४, मानिसको जस्तो विचार हुन्छ त्यस्तै व्यवहार हुन्छ । हरेक काम विचारमै निर्भर छ । कोही पनि यसबाट बच्न सक्दैन ।

५, शरीरको नास भए पनि विचारको नास हुँदैन । उसले मरेपछि पनि पछ्याइरहन्छ र अर्को जीवनको समेत सुख, दुःखको कारक बन्न पुग्छ । यस जीवनमा कार्यपूर्ति गर्न नभ्याएका विचारहरू मनसँगै सरेर अर्को जीवनसम्म पुग्छन् र राम्रो भए सुख दिन्छन् नराम्रो भए दुःख ।

६, धनी हुनु छ भने धनकै विचार गर्नुपर्छ । धनवान्हरूको जीवन चरित्र पढ्नुपर्छ र उनीहरूमा जस्तो उदारता देखिन्छ त्यस्तै विचार मनमा ल्याउने प्रयास गर्नुपर्छ ।

७, विचार बलबाटै रोगहरूको वृद्धि र निवृत्ति हुने गर्छ । जसरी असल विचारद्वारा दरिद्रता निवारण गर्न सकिन्छ त्यसैगरी असल विचारबाट रोगलाई पनि हटाउन सकिन्छ ।

८, रोगीलाई हेर्न वा भेट्न जानेले रोगीहरूको कुरा गर्नु र सुनाउनु हुँदैन । यसले रोग घटाउने होइन बढाउने काम गर्छ ।

९, नराम्रो विचारले आफ्नो मात्र नभई अरूको पनि हानि गर्छ र त्यसको प्रभाव निकै टाडासम्म पुगिरहेको हुन्छ ।

१०, धन चाहिन्छ भने विश्वलाई सदैव धनले भरिएको देख्नुपर्छ । आरोग्यको चाहना गर्ने हो भने सदैव आफूलाई स्वस्थ ठान्नुपर्छ । त्यस्तै अरुबाट माया, प्रेम र सद्भावको चाहना गर्ने हो भने आफ्नो मनमा पनि त्यस्तै विचार ल्याउने प्रयास गर्नुपर्छ ।

११, राम्रो विचार गर्नु त्यति गाह्रो छैन । तैपनि हामी त्यस्तो गर्न सकिरहेका हुँदैनौँ । किनकि हामीमा नराम्रो विचार गर्ने बानी परिसकेको छ । यस्तो वानीलाई हटाउने हो भने मनमा स्वतः राम्रो विचार आउन थाल्छन् ।   

खप्तड बाबाका जति पनि कृति छन् सबै यस्तैयस्तै दार्शनिक चिन्तनले भरिएका छन् । पूरा जीवन विश्वकल्याण र मानवहितमा बिताएका बाबाको भौतिक शरीर त हामीमाझ छैन तर उनका शिक्षा र सन्देश भने अहिले पनि उत्तिकै सान्दर्भिक छ ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X