बाढी पहिरोबाट सुदूरपश्चिम र गण्डकीमा ८ ठाउँमा सडक अवरुद्ध
आइतबार, ०७ कात्तिक २०७८, १० : ०९

अविरल वर्षाका कारण आएको वाढी र पहिरोका कारण गण्डकी प्रदेशको मनाङ र सुदुरपश्चिम प्रदेशका डडेलधुरा, बझाङ र बजुरामा सडक अवरुद्ध भएको छ । गण्डकी र सुदुरपश्चिम प्रदेशका ८ ठाउँमा राजमार्ग अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ ।
मनाङस्थित चामे वेशीसहर सडक खण्डको ३ ठाउँमा सडक अवरुद्ध भएको छ । मनाङको नासोँ गापालिका–३ बगरछाप, चामे गाउँपालिका–१ ईमाङ र वडा नम्बर–३ कोतेमा सडक अवरुद्ध छ । सुदूरपश्चिमको डडेलधुरा स्थित गन्यापधुरामा भिमदत्त राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । बझाङको केदारस्यूँ र छबिसपाथिभेरामा जययृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
मार्तडी–कोल्टी राजमार्ग बजुराको बुढिनन्दामा अवरुद्ध भएको छ । बुढिगंगा नगरपालिका–१ अमकोटमा साँफे–मार्तडी खण्ड पहिरोका कारण अवरुद्ध भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।