बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

युवापुस्ताको काँधमा एल क्लासिकोको भविष्य

आइतबार, ०७ कात्तिक २०७८, ०६ : १४
आइतबार, ०७ कात्तिक २०७८

आइतबार स्पेनका दुई महारथी फुटबल क्लब रियल म्याड्रिड र बार्सिलोनाबीच स्पेनिस ला–लिगामा भिडन्त हुँदैछ । दुई क्लबबीचको भिडन्तलाई ‘एल क्लासिको’ पनि भनिन्छ, जसको नेपाली अर्थ ‘उत्कृष्ट’ भन्ने हो । यसपटक विशेष गरी पुराना दुई खेलाडीको अभाव दुवै क्लबका समर्थकहरूले महसुस गर्नेछन् । पछिल्ला १५ वर्ष ला–लिगामा निरन्तर विपक्षीका रूपमा खेलेका बार्सा पूर्व कप्तान लियोनेल मेस्सी र रियलका पूर्व कप्तान सर्जियो रामोस अहिले पेरिसमा एउटै क्लबबाट खेलिरहेका छन् । सर्वाधिक ४५ पटक एल क्लासिको खेल्ने इतिहास यी दुई खेलाडीका नाममा संयुक्त छ । मेस्सीका नाममा एल क्लासिकोमा सर्वाधिक २६ गोल र सर्वाधिक १४ एसिस्टको रेकर्ड पनि छ । 

उनीहरूको बहिर्गमनले नयाँ पुस्ताका लागि ढोका खुलेको छ । आइतबार मैदान उत्रने खेलाडीमध्ये सर्वाधिक एल क्लासिको खेलेको अनुभव बार्सिलोनाका सर्जियो बुस्क्वेटसँग छ । उनी ४० पटक रियलविरुद्ध मैदान उत्रिएका छन् । त्यस्तै, जेरार्ड पिकेले ३७ पटक रियलविरुद्ध खेलेका छन् । रियलका करिम बेन्जामाले ३६ पटक बार्साविरुद्ध खेलेका छन् । अहिले क्लासिको खेल्ने खेलाडीमध्ये बेन्जामा सर्वाधिक गोलकर्ता हुन्, उनले १० गोल गरेका छन् ।

बार्सिलोनाको युवा टिम 

जारी ला–लिगामा युवा टिमको सुचीमा बार्सा तेस्रो नम्बरमा छ । यस क्लबका खेलाडीहरूको औसत उमेर २६ वर्ष १ सय ७४ दिन छ । रियलका खेलाडीहरूको औसत उमेर २८ वर्ष २० दिन छ । यो टिम ला–लिगाको पाको टिमको सुचीमा पाँचौ स्थानमा छ । 

बार्सिलोनामा सन् २००० पछि जन्मिएका ८ खेलाडी छन् । त्यस्तै रियलमा २००० पछि जन्मिएका ६ खेलाडी छन् । 

कान्छा गोलकर्ता

पछिल्लोपटक, क्लासिकोमा गोल गर्दा बार्सिलोनाका अन्सु फातीको उमेर १७ वर्ष ३ सय ५९ दिन थियो । उनले घरेलु मैदान क्याम्प नोऊमा गोल गरेका थिए । त्यसै गरी, रियलका भिनिसियस जुनियरले १९ वर्ष २ सय ३३ दिनको उमेरमा एल क्लासिकोमा गोल गरेका थिए । सर्वाधिक कम उमेरमा एल क्लासिकोमा गोल गर्ने इतिहास भने रियलका अल्फोन्सो नाभार्रोको नाममा छ, १९४६–४७ को सिजन गोल गर्दा उनको उमेर १७ वर्ष ३ सय ५६ दिन थियो । 

पाका खेलाडी 

जारी, एल क्लासिकोमा युवा खेलाडीहरुमात्रै छन् भन्ने होइन । रियलका ३६ वर्षीय मिडफिल्डर लुका मोडरिच सबैभन्दा पाका खेलाडी हुन् । उनी कुनै पनि समय खेलमा प्रभाव जमाउने क्षमता राख्छन् । त्यसै गरी, मार्सेलो र करिम बेन्जेमाको उमेर ३३ वर्ष पुगिसकेको छ । मोडरिचले २०१८ मा बेलोन डि अर अवार्ड जितेका थिए । यसपटक बेन्जेमा यो प्रतिष्ठित अवार्डको मनोनयनमा परेका छन् । 

युवाको काँधमा भविष्य 

यस सप्ताहन्तको भिडन्तमा बार्साका अन्सु फाती र रियलका भिनिसियस जुनियर प्रमुख आर्कषण हुनेछन् । फातीले बार्सिलोनाको १० नम्बर जर्सी लगाउने गरेकाले मेस्सीको उत्तराधिकारीका रूपमा पनि उनको चर्चा हुने गर्छ । रियलका भिनिसियसले पनि किशोरावस्थामै विश्व फुटबलमा आफ्नो छाप छाडिसकेका छन् । अन्य युवा खेलाडीहरूको सहयोगमा उनीहरूले आफ्ना टोलीलाई जिततर्फ डोहो¥याउन सक्छन् । 

हेड टु हेड 

बार्सिलोना र रियल म्याड्रिडबीच अहिलेसम्म  २ सय ४६ खेलमा भिडन्त भएको छ । यसमध्ये रियलले ९८ र बार्सिलोनाले ९६ खेल जितेका छन् । ५२ खेल बराबरीमै टुङ्गिएको छ । रियलले सर्वाधिक ३४ पटक ला–लिगा उपाधि जितेको छ भने बार्सिलोनाले २६ पटक यो उपाधि जितेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप