बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओली पक्षले सुनसरीमा समानान्तर कमिटी बनाएको हो, वैधानिक अध्यक्ष बस्नेत हुन्

शनिबार, ०६ कात्तिक २०७८, १९ : ००
शनिबार, ०६ कात्तिक २०७८

सुनसरी जिल्लामा नेकपा एमालेको वैधानिक अध्यक्ष रेवतीरमण भण्डारी हुन् कि रमेश बस्नेत भन्ने विवाद बाहिर आएको छ । एमाले सुनसरी जिल्लाको अधिवेशन २०७० सालमा सम्पन्न भएको थियो । र, त्यो अधिवेशनले रेवतीरमण भण्डारीलाई जिल्ला अध्यक्ष छानेको थियो । तर अहिले वैधानिक अध्यक्ष रमेश बस्नेत नै हुन् ।

२०७१ सालमा पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन भयो । सो महाधिवेशनमा तत्कालीन जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले केन्द्रीय लेखा समितिमा उम्मेदवारी दिनुभयो । एमालेको विधानले के भन्थ्यो भने कुनै पनि तहको नेतृत्वले आफूभन्दा माथिल्लो तहको कमिटीको कुनै पनि अधिवेशनमा उम्मेदवारी दिनेवित्तिकै सोही बेलादेखि उसको साबिकको पद समाप्त हुनेछ ।

विधानको यही वैधानिक व्यवस्थाअनुसार भण्डारीजी नवौँ महाधिवेशनमा उम्मेदवारी दिएर हारिसकेपछि उहाँको जिल्ला अध्यक्ष पद समाप्त भयो । उहाँले केन्द्रमा पनि हार्नुभो, जिल्ला अध्यक्ष पद पनि सिद्धियो ।

नवौँ महाधिवेशन सकिएपछि भएको नेकपा एमालेको सुनसरी जिल्ला परिषद्ले भण्डारीको ठाउँमा द्वारिकलाल चौधरीलाई जिल्ला अध्यक्ष चयन गर्यो । त्यसपछि द्वारिकलालले केही वर्ष अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो ।

यहीबीच, २०७४ सालमा स्थानीय चुनाव भयो । जिल्ला अध्यक्ष रहनुभएका द्वारिकलाल इटहरीको मेयरमा विजयी हुनुभयो । चुनाव जितेपछि उहाँ आफैंले म दुईवटा कार्यकारी पदमा रहन्नँ भनेर अध्यक्ष पद छाड्नुभयो । पार्टी अध्यक्षबाट द्वारिकलाल विदा भइसकेपछि २०७४ साल असोजतिर पार्टीको जिल्ला परिषद् बैठक बस्यो । सो बैठकले रमेश बस्नेतलाई अध्यक्ष, नन्द बस्नेतलाई उपाध्यक्ष र पर्शुराम यादवलाई सचिवमा चयन गर्यो ।

त्यो परिषद्को बैठक एकखालको निर्वाचन नै जस्तो भएको थियो । त्यसबेला अध्यक्षमा इटहरीकी उपमेयर लक्ष्मी गौतमको उम्मेदवारी परेको थियो, उहाँलाई मिलाउने काम भयो । उपाध्यक्षमा मुरारी सुवेदीको उम्मेदवारी परेको थियो, उहाँलाई पनि व्यवस्थापन गरियो । सचिवमै पनि उम्मेदवारी पर्ने कुरा थियो तर नेतृत्वले सर्वसम्मत ढङ्गले नै रमेश बस्नेतलाई अध्यक्ष, नन्द बस्नेतलाई उपाध्यक्ष र पर्शुराम यादवलाई सचिव बनाएको हो ।

यही क्रममा २०७५ साल जेठ ३ गते एमाले र माओवादीबीच एकता भएर नेकपा बन्यो । पार्टी केन्द्रले एकीकरणको विधि बनाउँदा सुनसरीको जिल्ला अध्यक्ष माओवादीको भागमा पर्यो । माओवादीका तत्कालीन जिल्ला अध्यक्ष पप्पु मण्डल नेकपाको अध्यक्ष छानिनुभयो । एमालेका अध्यक्ष रमेश बस्नेत चाहिँ जिल्ला कमिटीको सचिव हुनुभयो ।

पछि नेकपाभित्र विवाद सुरु भयो । पार्टी एक भएकै बेला ०७७ पुस ५ गते संसद् विघटनको घटना भयो । यो घटनापछि माधव नेपाल लाइनका सबै नेता–कार्यकर्ताहरु देशभरि प्रतिगमनविरुद्ध आन्दोलनमा उत्रिए । सुनसरीमा पनि त्यही भयो ।

यही क्रममा ०७७ चैत्र ४ र ५ गते माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला भयो । सो भेलाले देशभरि समानान्तर कमिटीहरु बनाउने भनेर निर्णय गर्यो । तर सुनसरीमा चाहिँ माधव नेपाल लाइनकै मान्छे रमेश बस्नेत एमालेको जिल्ला अध्यक्ष भएको हुनाले त्यहाँ समानान्तर कमिटी बनाउने स्थिति बनेन, त्यही जिल्ला कमिटीले नै आन्दोलन अगाडि बढायो ।

यहीबीचमा अध्यक्ष केपी ओलीसँग निकट रहनुभएका रेवतीरमण भण्डारीको अध्यक्षतामा उहाँहरुले समानान्तर कमिटी बनाउनुभयो । बस्नेत नेतृत्वको जिल्ला कमिटी माधव नेपाल टिम हो, त्यसैले अर्को टिम चाहिन्छ भनेर उहाँहरुले समानान्तर कमिटी बनाउनुभएको हो । रेवतीरमण भण्डारी, जो पूर्वअध्यक्ष भइसकेकै मान्छे हो । सभासद पनि भइसक्नुभएको मान्छे हो । उहाँको नेतृत्वमा समानान्तर कमिटी बनाएर उहाँहरुले त्यही कमिटीको माध्यमबाट गतिविधिहरु गर्नुभयो ।

नेकपा एमालेमा जब १० बुँदे सहमति भयो, त्यसपछि जेठ २ को कमिटीमा फर्कने भनिसकेपछि सुनसरीको पार्टीको इतिहासलाई हामीले केलाउँदै ल्याउने हो भने आधिकारिक कमिटी भनेको चाहिँ रमेश बस्नेतकै हुन्छ । रेवतीरमण भण्डारीको कमिटी चाहिँ समानान्तर कमिटी हो । जतिबेला माधव नेपालको टिम प्रतिगमन विरोधी आन्दोलनमा थियो, त्यो बेला उहाँहरु (ओलीपक्ष) ले बनाएको त्यो टिम हो ।

अहिलेकै जस्तो तरिकाले जाने हो भने यसबाट भोलि पार्टीलाई घाटा हुन सक्छ । आज वडाको अधिवेशनमा यसको असर परेको छ । ९ गते नगरको अधिवेशनमा पनि यसको असर पर्छ । जिल्लाको अधिवेशनमा पनि पर्छ र समग्र पार्टी कमिटीहरुमा यसको असर पर्छ ।

मूलतः आगामी निर्वाचन पनि नजिकै छ । त्यसकारण अहिले व्यक्तिसँगको इगो, टकराव र चित्त दुःखाइलाई म अहिले बलियो छु भनेर साँध्न खोजियो भने सिङ्गो पार्टीलाई नै यसले असर पुर्याउन सक्छ ।

अहिले रमेश बस्नेतलाई स्वीकार गर्दिनँ भनिए पनि खास कारण चाहिँ के हो भने पार्टी नेतृत्वसँग भण्डारीजीको केही असन्तुष्टिले काम गरेको देखिन्छ । हिजोको अवस्थामा हेर्दाखेरि र सुनसरी र धरान भनेको माधव नेपालको पकड जिल्ला र नगर हुन् । गुट भनिसकेपछि स्वाभाविक रुपमा हिजो बलियो विचार समूहले कमजोरलाई पेल्ने काम गरेको विषयमा केही असन्तुष्टिहरु होलान्, त्यसलाई बिर्सेर अब नयाँ ढङ्गले अगाडि जानुको विकल्प देखिँदैन ।

​अब जेठ २ मा फर्कने भनिसकेपछि आधिकारिक भनेको रमेश बस्नेत नेतृत्वकै कमिटी हो । रेवतीरमण भण्डारीका केही केही असन्तुष्टि र चित्त दुखाइहरु होलान् । हामी सुनसरीकै कार्यकर्ता भएको नाताले उहाँले निर्वाचनमा टिकट पाउने सन्दर्भमा पार्टीको नेतृत्वसँग उहाँका केही असन्तुष्टि होलान्, त्यो सुनसरीका सबै नेता–कार्यकर्तालाई राम्रोसँग थाहा छँदैछ । तर, अब  पार्टीलाई सुदृढ र बलियो बनाएर लाने  हो भने हिजो हामीले जुन १० बुँदे सहमति गरेका थियौँ, त्यसैका आधारमा अहिले मार्गप्रशस्त गर्नुपर्छ ।

 

कसकसलाई कहाँ–कहाँ व्यवस्थापन गर्ने भन्ने कुरा त अधिवेशनहरू गर्नैपर्नेछ । मङ्सिरमा त राष्ट्रिय महाधिवेशन नै हुँदैछ । आज वडाको अधिवेशनहरू भए । मङ्सिर ९ गते पालिकाहरुको अधिवेशन हुँदैछ । त्यसपछि जिल्ला र प्रदेशका अधिवेशनहरू हुन्छन् । यसबाट पार्टीलाई व्यवस्थापन गर्न सकिने स्थिति छ । 

(भीम ज्वाला राई नेकपा एमाले सुनसरीका नेता एवं प्रदेश १ कमिटीका सदस्य हुन् ।)       

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भीमज्वाला राई
भीमज्वाला राई
लेखकबाट थप