शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचथरमा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो,  अझै ४ जना बेपत्ता

शनिबार, ०६ कात्तिक २०७८, १७ : २५
शनिबार, ०६ कात्तिक २०७८

अविरल वर्षाबाट आएको बाढी पहिरोमा परी पाँचथरमा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा गएको पहिरोमा परि २८ जनाले ज्यान गुमाएका थिए । ती प्रकोपमा परी बेपत्ता भएका ६ जना मध्ये २ जनाको शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या ३० पुगेको हो । अझै ४ जना बेपत्ता रहेका छन् भने १० जना घाइते छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिवार सार्वजनिक गरेको विवरण अनुसार बितेको २४ घण्टामा डडेलधुरामा पहिरोमा परि ५० वर्षकी महिलाको मृत्यु भएको छ । 

कपिलवस्तुमा बाढीले बगाउँदा ३२ वर्षकी महिला र १३ वर्षीया बालिकाको मृत्यु भएको छ । यस्तै नवलपरासीमा बाढीले बगाउँदा ५० वर्षका पुरुष र ४५ वर्षकी महिलाको मृत्यु भएको छ । 

अछाममा ७ वर्षकी बालिकाको चुथी खोलाले बगाएर मृत्यु भएको छ । मोरङमा सिघिया खोलामा आएको बाढीले बगाउँदा २१ वर्षका पुरुषको मृत्यु भएको छ । यस्तै सुनसरीमा ३१ वर्षका पुरुषलाई खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको छ । प्राधिकरणका अनुसार बितेको २४ घण्टामा बाढी पहिरो जस्ता प्रकोपबाट १४ जनाको ज्यान गएको छ । 

यसैबिच गत वैशाख १ गतेदेखि कार्तिक ६ गतेसम्म बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपका २ हजार ९० वटा घटनामा ३ सय ५३ जनाले ज्यान गुमाएका छन् । ८० जना बेपत्ता अवस्थामा छन् भने १२ सय ८४ जना घाइते भएका छन् । सो प्रकोपबाट ३ हजार ४ सय ४३ परिवार प्रभावित भएका छन् । उक्त प्रकोपबाट झन्डै १ अर्ब ९ करोड २५ लाख २१ हजार रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप