शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘कात्तिक १५ पछि कर्णालीमा माओवादी सरकार रहँदैन’

लिखित समझदारी विपरीत केन्द्रको निर्देशन मान्दिनँ : जीवनबहादुर शाही
शनिबार, ०६ कात्तिक २०७८, १६ : ५६
शनिबार, ०६ कात्तिक २०७८

नेपाली काँग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले केन्द्रको निर्देशनमा कर्णालीमा भएको सम्झौतामा फरक नपर्ने बताएका छन् । मुख्यमन्त्री बन्ने पर्खाईमा रहेका शाहीले कात्तिक १५ गतेपछि माओवादी केन्द्रसँग भएको सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गरे । 

आलोपालो सरकार सञ्चालनको सम्झौतामा माओवादीले बेइमानी गरे काँग्रेसले साथ नदिने पनि बताए । केन्द्रको सत्ता गठबन्धनमा प्रदेश सरकारको भागबण्डामा कर्णाली काँग्रेसले नपाउने चर्चा भइरहेको बेला शाहीले यस्तो बताएका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग आफूले गरेको सम्झौता विपरीत केन्द्रबाट निर्देशन आए पनि आफूले नमान्ने बताए । अब एमालेसँग मिले मात्र माओवादी सरकारको निरन्तरता सम्भव हुने उनको भनाइ छ ।

यसै सन्दर्भमा कर्णाली प्रदेशमा आलोपालो सरकार सञ्चालनमा भएको सहमति, कार्यान्वयनमा उब्जिएको आशङ्का र आगामी रणनीतिबारे काँग्रेस संसदीय दलका नेता शाहीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ ।

मुख्यमन्त्री महेन्द्र शाहीले केन्द्र निर्देशन अनुसार कर्णालीमा हेरफेर हुने भन्नुभयो । आलोपालो सरकार सञ्चालनको समझदारी कार्यान्वयनमा केही समस्या देखिएको हो ?

– उहाँले बोल्नुभएको मैले पनि सुनेँ । हिजो केन्द्रले निर्देशन दिएर हामीले समझदारी गरेको होइन । २०७८ साल वैशाख २ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रकाश ज्वाला र मबीच प्रदेश स्तरमै सहमति भएको हो । आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार हामीले महेन्द्रबहादुर शाहीलाई समर्थन गरेको हो । अहिले आएर केन्द्रले के भन्छ भनेर हुन्छ ? केन्द्रसँग हाम्रो केही पनि सरोकारको विषय छैन ।

हामीले कर्णालीमा गरेको समझदारीले केन्द्रमा गठबन्धनको वातावरण बनेको हो नि ! हामीबीचमा लिखित समझदारी छ । लिखित समझदारी भएकाले म अहिलेसम्म केही बोलेको छैन । कात्तिक १५ गते महिना पुग्ने हो । अब केन्द्रले जे गरे पनि हामीलाई छुँदैन । लिखित सहमतिमा बेइमानी गर्नुहुन्छ भने आफै जानुहुन्छ  । हामीले के गर्न सक्छौँ र ? कि उहाँहरूले नेकपा एमालेसँग मिल्न सक्नुपर्‍यो । त्यो भयो भने महेन्द्र शाहीको सरकार जोगिएला । नत्र हामी सोच्न बाध्य हुन्छौँ नै ।

 हिजो अल्पमतमा पर्दा बचाइएको हो । हामीबीच यस्तो सहमति भएको छ भन्नुपर्ने हो उहाँले । तीन–चार महिना अगाडि पाँचै वर्ष मेरो हो भन्ने बुझिराख्नुभएको थियो । त्यो कुरा ठिकै हो भन्ने लागेको थियो । किनभने कुनै पनि बहालवाला मुख्यमन्त्रीले म एक दुई महिनामा हट्दै छु भनेपछि कर्मचारीले टेर्दैनन् । अब त समय आयो । अब त उहाँले म मार्ग प्रशस्त गरिहाल्छु, हामीमा त्यो राजनीति विश्वास छ भन्नुपर्ने हो । मौका मिल्यो भने भन्ने सोच राख्नु भएन । केन्द्रमा के भन्छन् भन्ने कुरा होइन ।

उहाँले हामीसँग गरेको सम्झौतामा बेइमानी गर्नुभयो भने हामीले उहाँलाई मानिराख्नुपर्छ भन्ने छैन । हामीसँग पनि विकल्प त होला नि ? तर उहाँले हामीबीच सम्झौतामा  बेइमानी गर्नुहुन्न भन्ने कुरामा म विश्वस्त छु । उहाँलाई कुन सङ्कटमा हामीले साथ दिएको हो बुझ्नु भएकै छ होला । राजनीति यत्ति मात्र होइन होला नि ।

प्रधानमन्त्री तथा पार्टी सभापतिले कर्णालीमा तपाईंलाई मुख्यमन्त्री बनाउने कुरामा केही भन्नु भएको छ ?

– शेरबहादुर दाइले कर्णाली प्रदेश बाहेकमा मात्र सहमति गर्ने कुरा हाम्रो पार्टीबाट भइसकेको छ । अस्ति म काठमाडौँ जाँदा कहिले हो..कहिले हो.. मुख्यमन्त्री बन्ने कहिले हो ? भन्दै हुनुहुन्थ्यो । मलाई मुख्यमन्त्री बनाउने कुरा शेरबहादुर दाइ पूर्ण रूपमा सकारात्मक हुनुहुन्छ । उहाँकै सल्लाहमा मैले महेन्द्र बहादुर शाहीसँग लिखित सहमति गरेको हुँ ।

मुख्यमन्त्रीले लिखित समझदारी कार्यान्वयन गर्न मान्नुभएन भने कसरी अगाडि बढ्ने तयारीमा हुनुहुन्छ ? के सोचिराख्नु भएको छ ?

– उहाँले हामीसँग गरेको सम्झौतामा बेइमानी गर्नुभयो भने हामीले उहाँलाई मानिराख्नुपर्छ भन्ने छैन । हामीसँग पनि विकल्प त होला नि ? तर उहाँले हामीबीच सम्झौतामा  बेइमानी गर्नुहुन्न भन्ने कुरामा म विश्वस्त छु । उहाँलाई कुन सङ्कटमा हामीले साथ दिएको हो बुझ्नु भएकै छ होला । राजनीति यत्ति मात्र होइन होला नि ।

तपाईंले विकल्पको कुरा गर्नभयो । एमालेसँग मिल्छु भन्नुभएको हो ? तपाईं त केन्द्रमा पनि शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच गठबन्धन हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ रे ?

– होइन, होइन । मैले त्यस्तो भनेको पनि छैन । मैले महेन्द्रबहादुर शाहीले बेइमानी गर्नुभयो भने अन्य उपाय छ मात्र भन्ने गरेको छु । हामीबाट बेइमानी हुँदैन । उहाँहरूले बेइमानी गर्नुभयो भने बेइमानीलाई साथ दिइराख्नुपर्छ भन्ने कुरा छैन भनेको हुँ । शेरबहादुर देउवा र केपी ओली एक ठाउँमा आउनुपर्छ भनेको छैन । कपोलकल्पित समाचारको पछाडि नलाग्दा हुन्छ । त्यो सब फन्टुसहरूको कू प्रचार हो ।

सत्ताका लागि सुरुमा एमालेसँग सम्झौता गर्नुभयो । केन्द्रको दबाबले माओवादी केन्द्रसँग सहमति गर्न पुग्नुभयो । केन्द्रको दबाबमा तपाईंले एमालेसँगको सम्झौतामा बेइमानी गर्नुभयो । माओवादीले तपाईंसँगको सम्झौतामा बेइमानी गर्दा के अनौठो भयो र ?

– एमालेसँग सम्झौता गरेको भन्ने कूप्रचार हो । त्यसमा कुनै सत्यता नै छैन । मेरा विरुद्ध लागेकाहरूले त्यो हल्ला चलाएका हुन् । इखले मान्छे गर्ने होइन तातो पानीले घर जल्ने होइन भन्ने हाम्रोमा उखान छ नि ।

मुख्यमन्त्री भन्ने व्यग्र प्रतीक्षामा हुनुहुन्छ भन्ने लुकेको छैन । सत्ता छोड्न तपाईंले दबाब दिइराख्नु भएको प्रस्टै देखिन्छ । कात्तिक १५ गतेसम्म सहमति कार्यान्वयनको समय सीमा त छ नि । यति हतार किन ?

– मलाई हतार छैन । दबाब पनि दिएको होइन । कात्तिक १५ मा सत्ता हस्तान्तरण गर्ने हाम्रो सम्झौता छ । हामी भद्र सहमति मात्र होइन लिखित सहमति भएको छ । त्यसमा के दबाब दिने ? आज भरखर ६ गते भएको छ । अझै ८–१० दिन बाँकी छ । १५ गते गैर सांसद मन्त्रीको पदावधि सकिन्छ । हतार गर्ने र दबाब दिने कुरा त्यसपछि आउँछ ।

योबीचमा मुख्यमन्त्रीलाई लिखित सम्झौताबारे छलफल गराउनुभयो कि बाहिर बाहिर भन्दै हिँड्नुभयो ?

– केही छलफल गरेको छैन । ६ महिना पुगेपछि सत्ता हेरफेरको चर्चा चलेको छ । १५ गतेको कुरा छ । १२–१३ गते कुरा गर्ने सोचमा छु । १५ गतेको ठाउँमा १७–१८ गते जाँदा ठुलो कुरा भएन । सम्झौता कार्यान्वयन हामी इमानदार बन्नुपर्छ भन्ने हो ।

मुख्यमन्त्रीसँग कुरा नगरेर पार्टी नेतृत्व आफ्नो पक्षमा उभिइदिएन भनेर किन फेसबुकमा आक्रोश पोखिराख्नु भएको छ ?

– मेरो स्ट्याटसलाई मान्छेले विभिन्न रूपमा आँकलन गर्नुभयो । मैले त्यो कर्णालीको सरकार परिवर्तनबारे लेखेको होइन । मैले केही कामभन्दा विश्वास नगरेजस्तो लागेपछि आफ्नो कुरा राखेको हुँ । त्यो शेरबहादुर दाइ र पूर्णबहादुर दाइसँगको कुरा थिएन ।  

संसदीय मर्यादा के हो, दलको नीति के हो, परम्परा के हो भन्ने कुरा केही त हामीलाई पनि थाहा छ । संसदीय दल पनि स्वतन्त्र होला नि । मलाई दलको नेता केन्द्रीय नेताले बनाएको होइन क्यारे । मलाई दलको नेता कर्णाली प्रदेशका सांसदले बनाउनुभएको हो । उहाँसँग छलफल गरौँला । कर्णालीको कारणले राष्ट्रिय गठबन्धन बनेको हो । यो कुरा सबैले मनन गर्ने कुरा छँदैछ नि ।

‘जुन नेताहरूको लागि ज्यान फालेर लागिन्छ उनीहरूले नै विश्वास गर्दैनन् भने विश्वास गर्नेतिर नै लाग्दा बेस हुन्छ कि जस्तो लाग्न थाल्यो,’ भन्नु भएको थियो  खास कुरा के थियो त ?

– म कर्णाली प्रदेशमा भएपछि दुई जिल्लामा शेरबहादुर देउवा दाइ पक्षका सभापति जिताइयो । यसअघि शेरबहादुर दाइको पक्षको सभापति मुगुमा मात्र थिए । कालिकोटमा बहुमत महाधिवेशन प्रतिनिधि ल्याइएको छ ।

डोल्पामा पनि हाम्रो सभापतिसहित बहुमत महाधिवेशन प्रतिनिधि आउनुहुन्छ । दैलेखमा पनि राम्रो हुँदैछ । तर मलाई अविश्वास गरेको महसुस भयो । त्यसपछि मैले त्यो स्ट्याटस लेखेको हुँ । यसलाई कसैले मुख्यमन्त्रीसँग जोड्नुभयो । कसैले महाधिवेशनसँग जोड्नुभयो । मुख्यमन्त्रीको विषयमा त पहिला हामीले सुरु गरेका हौँ । नेताहरूले साथ दिनुभयो हो । यसमा मलाई कुनै चिन्ता छैन ।

केन्द्रले कर्णालीमा सरकारको नेतृत्व नलिने निर्णय गर्‍यो भने के गर्नुहुन्छ नि ?

– संसदीय मर्यादा के हो, दलको नीति के हो, परम्परा के हो भन्ने कुरा केही त हामीलाई पनि थाहा छ । संसदीय दल पनि स्वतन्त्र होला नि । मलाई दलको नेता केन्द्रीय नेताले बनाएको होइन क्यारे । मलाई दलको नेता कर्णाली प्रदेशका सांसदले बनाउनुभएको हो । उहाँसँग छलफल गरौँला । कर्णालीको कारणले राष्ट्रिय गठबन्धन बनेको हो । यो कुरा सबैले मनन गर्ने कुरा छँदैछ नि ।

 कर्णालीमा दायाँ बायाँ भए पार्टीको नीति मान्दिनँ भन्न खोज्नुभएको हो ?

– कर्णालीमा केन्द्रको गठबन्धन हुँदै गठबन्धन भएको हो । ०७८ वैशाख २ गते कर्णालीमा गठबन्धन बन्दा केन्द्रमा कोसँग गठबन्धन बन्ने टुङ्गो थिएन । त्यसैले यस्तो कुरामा केन्द्रले हस्तक्षेप गर्छ भन्ने कुरामा मलाई विश्वास छैन । तर कर्णालीमा भएको सम्झौता विपरीत निर्देशन आए त्यति बेला सोचौला । सोच्न पाउने अधिकार मलाई पनि होला नि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप