शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बार एशोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको छैन : अध्यक्ष श्रेष्ठ

भागबन्डाको आधारमा न्यायाधीश नियुक्ति गर्दा अहिले समस्या भयो
शनिबार, ०६ कात्तिक २०७८, १४ : ०६
शनिबार, ०६ कात्तिक २०७८

काठमाडौं, ६ कार्तिक । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरू अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् । उनले भने,‘हामीले अहिले  प्रधानन्यायाधीशको राजीनामा मागेको छैनौँ । हामी छलफलमै छौँ । भोलि उहाँलाई भेट्ने कार्यक्रम छ । उहाँसँग भेटेपछि रिपोर्ट कार्यान्वयनमा हाम्रो जोड हुनेछ, उहाँसँग भोलि छलफल भएपछि बारको बैठक बस्छ । महाभियोगको प्रश्न त पार्लियामेन्टको विषय हो ।’

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष श्रेष्ठले विगतमा भागबन्डाको आधारमा न्यायाधीश नियुक्ति गरिएको हुनाले अहिले समस्या उत्पन्न भएको टिप्पणी गरेका छन् । उनले भने,‘उच्चतम योग्यताको आधारमा न्यायाधीश नियुक्ति भएन, भागबन्डाको आधारमा न्यायाधीश नियुक्ति गरिने काम भए, त्यो बेलादेखि नै हामीले यस किसिमको नियुक्ति ठिक भएन भनेर पटक पटक भन्दै आएका थियौँ । त्यसको परिणाम न्याय सम्पादनमा असर पर्ने नै भयो । हामीले न्याय परिषद् सुधारको लागि, न्यायाधीश नियुक्तिको सम्बन्धमा हामीले सुझाव दिएका थियौँ, यही बीचमा न्यायाधीश नियुक्तिको विषय, न्यायपालिकाभित्र विसङ्गति, विकृति, बिचौलियाहरू मौलाएको विषय, भ्रष्टाचार नियन्त्रणको विषय, न्यायाधीशहरूको सम्पत्ति रातारात बढ्दै जाने विषयको सम्बन्धमा, सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने लगायतका विषय र कुराहरू उठाउँदै आएका थियौँ ।’

उनले बिचौलियालाई न्यायपालिकाभित्र प्रवेश निषेध गराउनको लागि पनि आफूहरूले संस्थागत र व्यक्तिगत रूपमा सुझाव दिएको स्मरण गराए । उनले न्यायालयमा विकृति, विसङ्गति मौलाएको कुरा उठेको र यी चिज रोक्नको लागि आफूहरूले बारम्बार भनिरहेको सुनाए । उनले न्यायपालिकाभित्रका विकृति, विसङ्गति, भ्रष्टाचार रोक्नको लागि उपाय र कार्य योजना बनाउन हरिकृष्ण कार्कीको नेतृत्वमा कमिटी गठन भएको र त्यसले रिपोर्टसमेत दिइसकेको बताए । उनले भने,‘न्यायपालिकाको सुधारको लागि साउन १४ गते हामीले रिपोर्ट दियौँ, न्यायपालिकाको नेतृत्व सचेततापूर्वक लाग्ने हो भने यो रिपोर्टले ८० प्रतिशत सुधार हुन्छ ।’  

उनले अदालतको पेशी व्यवस्थापन र इजलास गठनका सम्बन्धमा भइरहेको व्यवस्थाबाट कतिपय गलत कार्यहरू भएकोले सोको सट्टामा स्वचालित पेशी प्रणाली लागु गराउन र सो प्रणाली लागु गर्न प्राविधिक रूपले केही समय लाग्ने भएमा सम्पूर्ण अदालतहरूमा गोला (राफल) प्रणालीबाट पेशी तोक्ने भनी सुझाव दिएको र उपरोक्त सुझाव हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले समेत आफ्नो प्रतिवेदनमा समावेश गरेको र प्रधानन्यायाधीशले लागु गर्ने भनेको तर अझै लागु नगरेकोमा गुनासो पोखे । प्रतिवेदन लागु गराउने समय सीमासहितको प्रतिबद्धता सर्वोच्च अदालतबाट १५ दिनभित्र नआएमा आफ्नो संस्थाले न्यायिक नेतृत्वलाई विश्वास गर्न सकिने अवस्था नरहने पनि अध्यक्ष श्रेष्ठको भनाई छ ।  

राष्ट्रिय न्यायिक प्रतिष्ठानको अन्तरक्रिया कार्यक्रममा प्रधानन्यायाधीश जबराले उक्त रिपोर्ट कार्यान्वयन गर्न सकिँदैन भनेको कुरा आफूहरूले सुनेको पनि उनले स्मरण गराए । समस्या कसरी उत्पन्न भयो भन्ने सवालमा उनले यस्तो सुनाए–‘प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको कुरा मिडियामा आयो । न्यायपालिकाले कार्यपालिकाको भाग लिने कुरा कुनै हालतमा हुन सक्दैन भनेर हामीले भन्यौँ । यसो भयो भने कार्यपालिकाको प्रभाव न्यायालयमा पर्न जान्छ र शक्ति पृथकीकरणको सिद्धान्त प्रतिकुल हुन्छ भनेर हामीले खबरदारी गर्‍यौँ । बारको तर्फबाट हामीले कडा स्टेटमेन्ट दिएका थियौँ । सर्वोच्चले पनि मिडियामा आएको कुरामा सत्यता नभएको भन्दै विज्ञप्ति निकाल्यो, तर गजेन्द्र हमाल मन्त्री नियुक्त हुनुभयो । धेरै विरोध भएपछि उहाँले राजीनामा दिनुभयो । हिजो बारको मिटिङ बसेको थियो । विकृति, विसङ्गति, भ्रष्टाचार अन्त्यको लागि सुधारको रिपोर्ट दिएका छौँ, त्यो लागु गर्नुपर्छ भनेका छौँ । कार्तिक १५ गतेभित्र प्रतिवेदन लागु गर्न भनेका छौँ ।’

पूर्व न्यायाधीशहरूको फोरमले प्रधानन्यायाधीशको राजीनामा माग गरेको सवालमा बारले कुनै आधिकारिक धारणा नबनाएको पनि अध्यक्ष श्रेष्ठको भनाई छ । उनले भने,‘उहाँहरूले आफ्नो विचार दिनुभएको छ । त्यसको अवलम्बन गर्ने या नगर्ने भन्ने त्यो प्रधानन्यायाधीशले सोच्नुपर्ने हो । फोरमको वक्तव्य नेपाल बारमा आइसकेको छैन । औपचारिक रूपमा अध्ययन गर्छौँ । अहिले धारणा बनेको छैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप